रबी–बालेन मिलनः बिकल्प, कि परिक्षण ?
सहमति साँच्चिकै परिवर्तनका लागि हो भने, त्यो नाराले होइन, स्पष्ट प्रतिबद्धता, पारदर्शिता र परिणामले प्रमाणित हुनुपर्छ । नत्र, इतिहासले यसलाई आशा बेचिएको सहमति भनेर मूल्याङ्कन गर्नेछ । इतिहासले रबी बालेनलाई धिर्कारर्ने छ । सहमती हात्ती आयो, हात्ती आयो फुस्सा मात्रै हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने र काठमाडौं नगरपालिका प्रमुख (मेयर) बालेन शाहबीचको शनिवार मध्यरातमा भएको ७ बुँद्दे सहमति नेपाली राजनीतिमा अचानक जन्मिएको घटना होइन, यो पुरानो सत्ताक्रमप्रति जन आक्रोशको उपज हो । बर्षोदेखि राजनीतिक व्यवस्था परिवर्तनमा लागेका र लामो राजनीतिक इतिहास बोकेका दलहरु भन्दा उनीहरु जनमासमा प्रभावशाली छन भन्न त मिल्दैन । तर पुराना राजनीतिक दलहरुको कमजारीको कारण रबी लामिछाने र बालेन शाह उदाएका पक्कै हुन् ।
उनीहरु पुराना राजनीतिक दलभन्दा केही फरक देखिनु, भ्रष्टाचार विराधी भाषण गर्नुको कारण उनहिरुको केही साँख बढेको मान्न सकिन्छ । रबी–बालेन पुराना दल –संरचनाप्रति असन्तुष्टि मतदाताको प्रतिनिधीको रुपमा जनताको अपेक्षा रहदै आएको छ । उनीहरुको सहमती परिवर्तन चाहाने जनमतलाई एकताबद्ध गर्ने रणनितिक संकेत हो । उनीहरुको सहमतिलाई हेर्ने हो भने बैचारिक भन्दा व्यवहारिक सहकार्य हो । यसले शहरी युवा मतदाताहरुमा केही प्रभाव पार्न सकिन्छ भन्ने चतुर्याईका कारण भएको एउटा सहमति हो ।

रबी–बालेन सहमति राजनीतिक भ्रम ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने र काठमाडौका मेयर बालेन शाहबीचको सहमति धेरैका लागि आशाको खबर बन्यो । तर नजिकबाट हेर्दा यो सहमति राजनीतिक समाधानभन्दा बढी भावनात्मक आकर्षण जस्तो देखिन्छ । प्रश्न उठ्छ—यो साँच्चिकै वैकल्पिक राजनीति हो कि निराश जनमतलाई मत जित्न बनाइएको अर्को भ्रम हो ? रबी पार्टी राजनीतिमा छन्, बालेन स्वतन्त्र कार्यकारी नेतृत्वमा रहेका छन् । एकातिर संगठन, सत्ता र अनुशासनको बाध्यता छ, अर्कोतिर स्वतन्त्र निर्णय र संस्थागत अस्वीकारको शैली छन । यी दुई धार एउटै दिशामा लामो समय बग्न सक्ने आधार स्पष्ट छैन । तर जनताको अपेक्षा र भावना अनुसार यि दुईजनाले काम गरुन भन्ने चाहाना सबैमा छ ।
यो सहमति लिखित एजेन्डा, साझा रोडम्याप र संस्थागत संरचना बिना अगाडि बढाइएको देखिन्छ। परिणामतः यो नीतिगत भन्दा पनि प्रतीकात्मक मिलन बन्न पुगेको छ—जनतामा सन्देश दिन सफल, तर कार्यान्वयनमा कमजोर देखिन्छ । अझ गम्भीर कुरा के हो भने, जनताले यो सहमतिलाई व्यवस्था सुधार्ने औजार ठाने, तर नेताहरूले यसलाई राजनीतिक दबाब र लोकप्रियता व्यवस्थापनको साधन बनाइदिए भने यो सीधै भ्रममा रूपान्तरण हुने छ । सबैभन्दा ठूलो विरोधाभास यहीँ छ—बालेन “स्वतन्त्र” राजनीति बोलेर स्थापित भए, रबी पार्टी संरचनाको नेतृत्वमा छन् । स्वतन्त्रताको भाषा र पार्टी अनुशासन एउटै डोरीमा बाँधिँदा कसको खुट्टा तानिन्छ ? यही द्वन्द्वले सहमतिको आयु तय गर्नेछ ।
जनताले अब भाषण होइन, परिणाम खोजिरहेका छन् । भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्य गर्न नसक्ने हो भने नयाँ अनुहार पनि पुरानै प्रवृत्तिको निरन्तरता मात्र ठहरिनेछन् । यस अवस्थामा पुराना दलहरूलाई “हामीबाहेक विकल्प छैन” भन्ने प्रमाण जुटाइदिने खतरा यही सहमतिले बोकेको छ । रबी–बालेन सहमति इतिहास बन्ने कि असफल प्रयोग, त्यो उनीहरूको इच्छाशक्तिमा होइन, काम गर्ने साहस र सत्ता–संरचनासँग ठोक्किने क्षमतामा निर्भर छ। नत्र, यो सहमति पनि नेपाली राजनीतिमा पटक–पटक देखिएका अधूरा सपनाहरूको सूचीमा थपिनेछ ।
राजनीतिक स्वार्थ
लामिछाने र बालेन शाहबीचको सहमति सार्वजनिक रूपमा “परिवर्तन” र “सुशासन”को नाममा प्रस्तुत गरियो । तर व्यवहारिक रूपमा हेर्दा यो सहमति साझा सिद्धान्तभन्दा व्यक्तिगत राजनीतिक सुविधाको मिलन जस्तो देखिन्छ ।
रबी लामिछानेका लागि बालेनसँगको नजिकिँदो सम्बन्ध घट्दो नैतिक विश्वसनीयता र सहकारी काण्डपछि खुम्चिएको राजनीतिक विश्वास पुनःउत्थान गर्ने माध्यम बनेको छ । लोकप्रिय शहरी छवि भएका बालेनको छायामा उभिएर रबीले आफूलाई अझै “वैकल्पिक” देखाउने प्रयास गरि रहनेछन् ।
उता बालेन शाहका लागि रबीसँगको सहमति काठमाडौंको सीमित कार्यकारी भूमिकाबाट राष्ट्रिय राजनीतिक हैसियततर्फ उक्लिने पुल जस्तो देखिन्छ । पार्टी नगरी राजनीति सम्भव छैन भन्ने यथार्थ बुझेपछि, रबीजस्तो स्थापित राष्ट्रिय पात्रसँगको सहकार्य उनलाई उपयोगी देखिएको हो ।
समस्या यहाँ उद्देश्यमा होइन, स्पष्टतामा छ । न लिखित एजेन्डा छ, न साझा रोडम्याप, न जवाफदेह संरचना नै रहेको छ । त्यसैले यो सहमति जनताका लागि राजनीतिक समाधान होइन, नेताहरूका लागि रणनीतिक सुरक्षा जाल बनेको आशंका बलियो हुन्छ । अझ खतरनाक कुरा के हो भने, जनताले यसलाई व्यवस्था बदल्ने आशामा हेरे, तर नेताहरूले आ–आफ्नो राजनीतिक जोखिम व्यवस्थापन गर्ने सौदाबाजी गरे भने, त्यो खुला रूपमा जनविश्वास माथिको छलछाम हुनेछ । अर्को कुरा सहमतीमा जनताका जनजिवीका विषय, विकास निर्माणमा जोड, भ्रष्टाचारको अन्त्य र सुशासनको प्राथमिकता भन्दा शहकारीमा डामिएका रबी लामिछाने बर्षौसम्म पार्टीको (नेतृत्व) सभापतिमा रही रहने र काठमाडौंको मेयरबाट एकाएक प्रधानमन्त्रीका सपना बोकेर सहमति गरेजस्तो मात्रै देखिन्छ । यसमा कुनै जनभावनामुखी सहमति भएजस्तो देखिदैन । तर यो सहमती रबी वालेन स्वार्थ नहोस् ।
बिकल्प, कि परिक्षण ?
रबी लामिछाने र बालेन शाहप्रति नेपाली जनताको आशा विशेष गरी युवा, शहरी र पुराना दलप्रति निराश मतदातामा केन्द्रित छ । पुराना नेताहरूबाट निराश भएर उनीहरूमा नयाँ विकल्प खोज्ने भावना बलियो छ ।
जनताको मुख्य अपेक्षा भनेको—भ्रष्टाचारविरुद्ध दृढ अडान,पारदर्शी र परिणाममुखी नेतृत्व, पुराना संरचनाको प्रभाव कम गर्ने कार्यशैली, तर यो अपेक्षा उच्च मात्रामा व्यक्तिको छवि र प्रत्यक्ष संवादमा आधारित छ ।
यदि परिणाम नआए वा सहमति केवल लोकप्रियता व्यवस्थापन मात्र साबित भयो भने, यो आशा छिट्टै निराशामा रूपान्तरण हुन सक्छ।
सारांशमा, रबी–बालेन प्रति जनताको आशा नारा होइन, व्यवहार र नतिजाले पूर्णता पाउने प्रकारको छ। यो उनीहरूको वास्तविक परीक्षा हो—कति आशा पुरा गर्न सक्षम छन् भन्ने भविष्यले देखाउला ।
निष्कर्ष
रबी–बालेनको सहमति आजको अवस्थामा, साझा राजनीतिक दर्शनको परिणाम होइन, समय र परिस्थितिले जन्माएको स्वार्थको मेल हो । यदि यो सहमति साँच्चिकै परिवर्तनका लागि हो भने, त्यो नाराले होइन, स्पष्ट प्रतिबद्धता, पारदर्शिता र परिणामले प्रमाणित हुनुपर्छ । नत्र, इतिहासले यसलाई आशा बेचिएको सहमति भनेर मूल्याङ्कन गर्नेछ । इतिहासले रबी बालेनलाई धिर्कारर्ने छ । सहमती हात्ती आयो, हात्ती आयो फुस्सा मात्रै हुनेछ ।


