किशोर-किशोरीलाई ३ दिने प्रजनन् स्वास्थ्य सम्वन्धी तालिम
रेखदेख संवाददाता
बैशाख २३, रुकुम पश्चिम । किशोर–किशोरीहरूको यौन तथा प्रजनन् स्वास्थ्य तथा जलवायु न्याय सम्बन्धी तीन दिने तालिम सम्पन्न गरिएको छ । आइपास नेपाल र रुकुमेली समाज विकास केन्द्र, रुकुम पश्चिमद्धारा संचालित “नेपालमा यौन तथा प्रजनन् स्वास्थ्यमा दिगो सबलीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली परियोजना” अन्तर्गत यौन तथा प्रजनन् स्वास्थ्य, अधिकार, लैङ्गिकता तथा जलवायु न्याय विषयक तीन दिने क्षमता विकास तालिम सम्पन्न गरिएको हो ।

तालिममा रुकुम (पश्चिम भाग) मुसिकोट नगरपालिका स्थित होटेल श्रीमा सम्पन्न भएको छ । तालिम बैशाख २१ देखी २३ गतेसम्म संचालन गरिएको जनाएको छ । तालिममा आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका २० जना किशोर–किशोरीहरूको सहभागिता रहेका थिए । यस तालिमको मुख्य उद्देश्य किशोर–किशोरीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार, सुरक्षित गर्भपतन, लैङ्गिकता, परिवार योजना तथा जलवायु परिवर्तनले प्रजनन् स्वास्थ्यमा पार्ने प्रभावबारे सचेत गराउनु तथा उनीहरूलाई समुदाय,विद्यालयमा वकालत गर्न सक्षम बनाएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रीयालले जानकारी दिएका छन् ।
तालिमको सहजीकरण आइपास नेपालका जिवन देवकोटा, रुकुमेली समाज विकास केन्द्रका केशर डी.सी. र स्वास्थ्य सेवा कार्यालयका कुशम शाही गरेको जनाएको छ । तालिममा किशोरावस्थामा देखापर्ने परिवर्तन, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, परिवार योजना, सुरक्षित गर्भपतन, तथा जलवायु परिवर्तनले यौंन तथा प्रजनन् स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी गराइएको थियो ।
समापनकार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशन कुमार क्षेत्रीयाल र सचिव प्रविर ददेलले तालिम अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै प्राप्त ज्ञान र सीपलाई विद्यालय तथा समुदाय स्तरमा जनचेतना फैलाउन तालिमका सहभागीहरुलाई सुझाव दिएको छ ।
आइपास नेपाल र रुकुमेली समाज विकास केन्द्रले किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा, सुरक्षित गर्भपतन, लैङ्गिक समानता तथा जलवायु न्यायका क्षेत्रमा निरन्तर सहयोग तथा कार्यक्रम विस्तार गर्ने जनाएको छ।

