कविता: मेरो मृत्युको दिन

अर्जुन कुमार ओली
जब म मृत्यु शय्यामा हुँला
ममा घोर छट्पटी भई
मेरा अङ्गप्रत्यङ्गहरु सलबलाउलान्
बढ्दै जाला स्वासको गति
अस्ताउनै लागेको सूर्य पहेँलिएझैँ
कान्तिवहीन हुँदै जाला अनुहारको दीप्ति
घिटघिट गरिरहेको मेरो सास
फुत्कन थाल्ला विस्तारै विस्तारै ।
आत्तिएलान् बसेका कुरवाहरु
जीवनभर म सुतेको ओछ्यान
सदाका लागि छुटाउलान् जिउँदाहरुले
लिप्लान् गोबरले भुइँ
छर्केलान् तिलजौँ, पाती अनि तुलसी जल
म अचेत भइ चलाउँला ओठहरु
चुहाउलान् मुखमा दहीको हिरन
सार्लान् हतार हतार नाङ्गो भुइँमा
अनि घोषणा गरिएला मेरो मृत्युको
त्यसैवेला मेरी उनी
मुटु चहर्याउने गरि चिच्याउलिन्
अरु पनि थपिन सक्लान् अश्रुपूर्ण क्रन्दनहरु।
निस्तेज भएर लडिरहेको मेरो शव
बेर्लान् राम राम नामको कात्रोले
सामाजिक सञ्जालका भित्ताहरु
रङ्गिएलान् मेरो मृत्युको खबरले
त्यो बेला मेरो घर घरजस्तो नहोला
आँगन आँगनजस्तो नदेखिएला
बरु त्यहाँ रुवाबासीको शोकालय होला
विलौनाको अलापविलाप होला।
मेरी अर्धमुर्छित ती अर्धाङ्गिनी
जसले आफ्नो जीवनको सारा बैँस
धेरै मेरा लागि खर्च गरिन् त
धेरै छोराछोरीका लागि पनि
उनै मेरीका पोते चुडाइएला
हातका चुरा फोरिएलान्
सिउँदोको सिन्दर पुछिएला
उनको शृङ्गार र सौभाग्य खोसिएला ।
मलाई जिउँदो छँदा बचाउन यत्न गर्नेहरु
छुँदा पनि कतै दुख्छकि भनी ख्याल गर्नेहरु
आज मेरो त्यही शरीरलाई
बाँसका भाटामा टनटनी कस्लान्
न त्यहाँ दुख्नेको भए होला
न चोटपटकको डर
बन्द होलान् मेरा आँखाहरु
जिउँदाहरुले त्यही आँखा पनि
सबैले नदेखून् भनेर ढाक्लान् कात्रोले
सजाउलान् फूलमाला अनि अबिरले
र घाटतिर लैजान हतार हतार गर्लान्।
जुम्लाबाङ, जमारु, खार्कोट,पितिबाङ जताततै
पहिलेदेखि अहिलेसम्म टिला अनि बुर्की छर्ने
पल्नाघरे दर्शन साइँलाबा त रहन्छन् कि रहदैनन्
तर कोही न कोही बुर्की छर्दै दौडदै गर्लान्
मनमा कस्तो कस्तो त्रासमय लाग्ने
शङ्खको एकहोरो धुन
घरदेखि घाटसम्म बजिरहला।
सानीभेरी र मुग्लुखोलाको दोभानमा
चिता ठड्याउनेको तछाडमछाड होला
सिरक, डसना र सिरानी
दाउराकै बनाउलान्
त्यसैमा मेरो नग्न शव सुताउलान्
यदि बाँचेछन् भने
बैरागी ठाँटीका सुवेदी गुरुले
पुराणका ऋचाहरु मन्त्रोच्चारण गर्लान्
मैले जन्माएर जीवनभर माया गरेका छोराहरुले
मेरै मुखमा दागबत्ती झोसिदेलान्
मेरो शरीर विस्तारै विस्तारै
अग्निशिखामा जल्दै गर्ला
जल्दै गरेको मेरो शरीर
बाँसले घोचीघोची एकै डल्लो पारिएला
बाँकी राखेको अस्तु
बगाउलान् भेरी नदीमा।
बाँध्लान् छोराहरुले टाउकोमा झुमुर्को
बेर्लान् सेतै सप्को
सुरु गर्लान् काजक्रिया
तेह्र दिने कठोर कार्यपछि
निस्केलान् कोराबाट बाहिर र पाउलान् मुक्ति ।
मेरो जीवनमा
हरेक दु:ख, पिडा र सङ्घर्ष
मलाई सदैव साथ दिने निजी देवता थिए
अब ती सबै दु:ख, पीडा र सङ्घर्षहरु
सारा दौलत, ऐश्वर्य वा वैभव
मेरा आफन्त या नाता कुटुम्बहरु
सदाको लागि त्यसै दिन छुट्टिएलान्
मेरो त्यो सिङ्गो शरीरका अवयवहरु
जाबो एकबिटो दाउरामा जलेर
एकमुठी खरानीमा परिणत भई
भेरी नदीको लहरमा समाहित होला ।
हिजो मेरो जीवन रहुन्जेल
सबै मेरै तुल्याउनमा ध्याउन्न र उछिनपाछिन
मेरा लोभ, पाप, मद,मात्सर्यहरु
हिजो “म” र “मेरो ” को हुङ्कार
र मेरो सांसारिक मोहरुपी रङ्गमञ्चको पर्दा
त्यही चितामा जलेर समाप्त होला
मेरा लागि
सारा जगत नै शून्य होला
मेरो मृत्युको दिन ।

