जागीरसंगै उठेको राजनीतिक लगावले– धर्मागत काफ्ले


–यु.के.लाल
शिक्षामा लगानी गरेको परिवारिक पृष्ठभूमि
मानिसको इच्छाशक्तिले चाहे जस्तो शिक्षा आर्जन गर्ने मात्र नभइ शिक्षालाई जीवन उपयोगी बनाउने र जागीरमा पनि जाँगरका साथ काम गर्दै गएर जीवन ब्यवस्थापनका बहुआयामहरुसंग जोड्दै महत्वपूर्ण भूमिका निर्वाह गरि आफुलाई गणनीय स्थानमा पु¥याउन सकिन्छ । जागीरबाट प्राप्त सेवा–सुबिधाका अवसरहरुलाई पारिवारिक जीवन ब्यवस्थापन गर्ने मात्र नभइ राजनीतिक संगठनमा र सामाजिक क्षेत्रमा पनि लगानी गरेर महत्वपूर्ण भूमिका खेल्न सकिन्छ भन्ने आफ्नो जीवन ब्यवहारबाट उदाहरण दिन सफल ब्यक्ति मध्य भारतको पञ्जाव राज्य चण्डीगढ सेक्टर १४ मा रहेको सि.७१ पञ्जाव युनिवर्सिटीमा लाइब्रेरी असिस्टेन्ट तथा डिपार्टमेन्ट प्रमुख रहेका धर्मागत काफ्ले पनि एक हुन ।
पर्वत जिल्ला वेहादी गाउँपालिका वडा नं ५ उराम जन्म घर भएका आमा मनरुपा काफ्लेकोे कोखबाट २०२३ श्रावण ३० गते जन्मिएका मोतीलाल काफ्लेका कान्छा छोरा धर्मागत काफ्लेका तीन दाजुहरु रहेका छन् । २०४१ सालमा मिनाकुमारी भुषालसंग बैवाहिक सम्त्रन्धमा जोडिएका धर्मागत काफ्लेका एक छोरा चन्द्रकान्त काफ्ले रहेका छन भने दुई छोरीहरु कविता र पल्लवी रहेका छन् । आफु कक्षा नौ मा पढ्दै गर्दा बुबाको मृत्यु भएपछि नेपालमा त्यो भन्दा बढी पढ्ने अवस्था नभएपछि रोजगारीकै शिलशिलामा भारत प्रवासमा आएपछि जागीर गर्दै र पढ्दै गर्दा इन्डियन नेशनल स्कुलबाट मेट्रिक पास गर्नुका साथै लाइब्रेरी साइन्समा डिप्लोमा सम्मको अध्ययन गरेर पञ्जाव युनिवर्सिटीमा जागीरे रहेका धर्मागतका छोरा चन्द्रकान्तले पञ्जाव युनिवर्सिटीबाटै स्नातक गरेर आइ.टी. डिप्लोमा सम्मको अध्ययन गरेका छन् भने छोरी कविताले इन्दिरागान्धी कॉलेजबाट एम.कम. र पल्लवीले क्यानडामा एम.बि.ए.अध्ययन गरिहेकी छिन । जागीरबाट आर्जेको पूँजीलाई छोराछोरीहरुको शिक्षामा लगानी गरेका धर्मागत काफ्ले राजनीतिक संगठनबाट सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका एक उदाहरणीय पात्र हुन ।

(क) होटल,कोठी,कम्पनीमा मजदूरी– पञ्जाव युनिवर्सिटीमा रोजगारी
गाउँको स्कुलमा कक्षा नौ मा पढ्दै गर्दा धर्मागतका बुबा मोतिलाल काफ्लेको अल्पायुमै निधन भएपछि पढाइलाई त्यो भन्दा अगाडी बढाउन नसकिने अवस्था भएको हुँदा उनी पोषकान्त सापकोटासंग भारतको देहरादुन आएका रहेछन् । देहरादुनमा उनले केही महिना होटलमा जुठा भाँडाहरु माझ्ने काममा लागेछन् । पढाईलाई पनि पनि अगाडी बढाउन खोजिरहेका धर्मागतलाई होटलको काममा त्यति अनुकुल समय मिल्ने अवस्था नभएपछि होटलको काम छोडेर अफिसरहरुको घरको कोठीमा काममा जोडिएर जागीर गर्दै र स्वअध्यनलाई पनि अगाडी बढाउदै गएका रहेछन् ।
भारतको पञ्जाव युनिवर्सिटीमा जागीर गर्ने उनका दाजु बाबुराम काफ्लेले पढाइ–लेखाइ गरेको भाइलाई आफुले काम गर्ने पञ्जाव युनिवर्सिटीमा बोलाइ पठाएपछि आफु आएर दाजुको माध्यमबाट जागीरमा जोडिएको उनी बताउछन् । भाईलाई पञ्जाव युनिवर्सिटीमा जागीर लगाइदिएपछि उनका दाजु बाबुराम काफ्लेले एकबर्ष जति पञ्जावको मोहालीमा रहेको केवल फ्याक्ट्रीमा एकबर्ष जति काम गरेर नेपाल घरमा गएछन् । पञ्जाव युनिवर्सिटीको लाइबे्ररी हेर्ने काममा जोडिएपछि १९८७ देखि स्थायी भएर बिभिन्न जिम्मेवारी पदमा बढुवा हुँदै आउने क्रममा उनले लाइब्रेरी डिपार्टमेन्ट प्रमुख एवं लाइब्रेरी असिस्टेन्ट सम्मको कार्य जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।

(ख) प्रवासी संगठनको संस्थापक– जनसम्पर्क पत्रिकाको प्रधान सम्पादक
भारतको सरकारी शैक्षिक संस्थामा जागीर गर्दै गर्दा भारत प्रवासमा रहेका नेपालीहरुको हक–अधिकारको बारेमा संगठित रुपले आवाज उठाउनुपर्छ भन्ने मान्यता राखेर सन १९८६ मा चण्डीगढमा भिमप्रसाद भुषालको अध्यक्षतामा आफु सहितको ११ जनाको कार्यसमिति रहेको नेपाली जनज्योती न्याय समति गठन गरेका रहेछन । उक्त संगठनबाट नेपालमा चलेको पञ्चायती ब्यवस्था बिरुद्धको आन्दोलन र बहदलीय ब्यवस्थाको पक्षमा खुलेरै भारतमा रहेका नेपालीहरुको बीचमा प्रचार–प्रसार गर्दै २०४६ सालको जनआन्दोलनमा पनि भाग लिन नेपालमै गएको उनले बताए ।
२०५१ सालमा झापामा भएको नेपाली काँग्रेसको राष्ट्रिय महाधिवेशनमा भाग लिन नेपाली जनज्योती न्याय समितिको तर्फबाट प्रतिनिधित्व गरेर नारायणप्रसाद भुषाललाई पठाएको उनी बताउछन् । नेपाली काँग्रेसको महाधिवेशनमा गएको प्रतिनिधिले तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराई र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष नेपाली जनज्योती न्याय समितिलाई पार्टीले मान्यता दिनुपर्ने प्रस्ताव राखेपछि पार्टी सभापतिले पार्टीको भारत प्रवासको संगठन जनसम्पर्क समितिका अध्यक्षलाई संगठनमा समायोजन गर्ने पत्र लेखेर दिएपछि संगठनलाई १७ डिसम्बर १९९१ मा समायोजन तथा पुर्नगठन गर्दा गोपालप्रसाद कोइरालाको अध्यक्षतामा पुर्नगठित जनसम्पर्क समिति भारतको आफु केन्द्रीय कोषाध्यक्ष बनेको उनले बताए । जन सम्पर्क समितिको संगठनमा सक्रियतापुर्वक काम गर्दै जाँदा सन १९९९ मा जालन्धरमा भएको अधिवेशनमा उनी केन्द्रीय महासचीवको महत्वपूर्ण जिम्मेवारी पदमा निर्वाचित भए भने सन २०१० मा हैदरावादमा भएको केन्द्रीय अधिवेशनमा केन्द्रीय उपाध्यक्षमा निर्वाचित भइ दुई कार्यकालसम्म उपाध्यक्षको जिम्मेवारीमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । शैक्षिक स्तर उठेको बौद्धिक ब्यक्तित्व पनि भएको हुँदा धर्मागतलाई संगठनले केन्द्रको संगठन बिभाग र संगठनको केन्द्रीय मुखपत्र जनसम्पर्क पत्रिका प्रकाशन गर्ने प्रधान सम्पादकको महत्वपूर्ण जिम्मेवारी पनि दिएको हुँदा आफुले उक्त जिम्मेवारी भूमिकालाई इमान्दारिताका साथ निर्वाह गरेको उनले बताए ।

(ग) संगठनबाट पहलकदमी– जनआन्दोलन र जनसेवामा जोडिने
नेपाली काँग्रेस निकट भारतको प्रवासी संगठन जनसम्पर्क समिति भारतको केन्द्रीय समितिको पदाधिकारीमा रहेर काम गर्दैगर्दा मुलतः नेपाल र भारत सरकारका उच्च स्तरका जिम्मेवार ब्यक्तिहरुसंग सम्पर्क समन्वय गरेर प्रवासी नेपालीहरुको समस्या समाधानका लागी दुबै देशका सरकारले खेल्नुपर्ने भूमिकाको बारेमा सल्लाह–सुझाव दिएर ध्यानाकर्षण गराउने, संगठनको केन्द्र भागमा रहेर नीति, कार्यक्रम तथा योजना निर्माणमा पहलकदमी लिने र नेपालमा राजनीतिक ब्यवस्था परिवर्तनका लागी भएका जनआन्दोलनको पक्षमा ऐक्यबद्धता जनाउन प्रवासबाट जनपरिचालन गर्नुका साथै भारत प्रवासमा रहेका श्रमजिवी नेपालीहरुका बिभिन्न समस्यामा जोडिएर समस्या समाधानका लागी सहजीकरण गरिदिने जस्ता जनसेवाका कामहरु संगठनको तर्फबाट गर्दै आएको उनी बताउछन् ।

(घ) गतिशिलता भएको राजनीतिक स्थिीरता– देश र जनताप्रति इमान्दारिता
नेपालमा राजनीतिक ब्यवस्था परिवर्तनका लागी बिभिन्न समयमा भएका जनआन्दोलनहरुको मर्म र भावना अनुसार पार्टीका नेताहरु सरकारमा जाँदा काम गर्न नसक्नु र काम गर्न चाहनेलाई पनि अन्तराट्रिय शक्ति र देशभित्रको प्रतिगामी प्रवृतिले ब्यवधान खडा गरेर अगाडी बढ्न नदिने भएको हँुदा लामो समयदेखि नेपाल राजनीतिक अस्थिरताको समस्याले जकडिएकाले गतिशिलता सहितको राजनीतिक स्थीरता कायम गर्ने बिषयमा नेपालका सबै पार्टीका नेताहरुले बिशेष ध्यान दिनुपर्ने उनको सुझाव रहेको छ । जनताबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले ब्यक्तिगत स्वार्थ र पार्टीगत चिन्तनबाट माथि उठेर देश र जनताको उन्नतीप्रति नै बिशेष ध्यान दिएर इमानदारिका साथ लाग्न सकेमा मात्रै जनताले परिवर्तनको अनुभूति गर्नसक्ने भएकोले देशले पनि नयाँ परिवर्तनको काँचुली फेर्नै कुरामा उनको बिश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *