रुकुमका दलित अधिकारकर्मीहरुको निष्कर्षः ‘सोती घटना जातीय विभेदकै कारण भएको ठहर’
जेठ १८, रुकुम ।
गत जेठ १० गते भएको सोती घटना जातीय विभेदकै कारण भएको दलित अधिकारकर्मीहरुले बताएका छन् । आईतबार रुकुम पश्चिमका संयुक्त दलित मञ्चले सार्वजिक गरेको अध्ययन प्रतिवेदनमा सोती घटना जातीय विभेदकै कारण भएको उल्लेख गरिएको छ ।
जाजरकोट जिल्ला भेरी नगरपालिका ४ राणा गाउँका नवराज विक र चौरजहारी नगरपालिका वडा नं. ८ कि मल्ल थरकी केटीसँग प्रेम सम्वन्ध रहेपनि केटीका आफन्तहरुले जातीय विभेदकै कारण अस्वीकार गरेपछि सोती घटना घटेको संयुक्त दलित मञ्च रुकुम पश्चिमका संयोजक उपेन्द्रलाल कामीले जानकारी दिएका छन् । उनले भने, नबराज र मल्ल थरकी केटीबीचको प्रेम सम्वन्धबाट सुरु भएतापनि केटीका घर परिवारले अन्तरजातीय प्रेमसम्वन्धलाई स्वीकार गर्न नसक्दा सोती हत्या काण्ड भएको हो ।’
केटीको उमेर हद, लकडाउन उलंघन सहायक कारण भएपनि मुख्य कारण भनेको जातीय विभेद भएको संयोजक कामीले बताए । जातीयताका कारण केटीका परिवारबाट भएको अवरोध, दुबैतिर वढ्दै गएको तनाव, तनावसँगै भएको मनमुटाव बढ्दै जाँदा सामुहिक हत्या हुने घटनासम्म पुगको हो ।
सोती घटना हत्या नै भएको पनि अध्ययन प्रतिवेदनमा सार्वजनिक गरेका छन् । दलित अधिकारकर्मी दिपेन्द्र विक भने, ‘पोष्टमार्टम रिर्पोट र शवको प्रकृति हेर्दा भेरीमा बगेर मरेको जस्तो नभएर मारेर भेरीमा बगाएको जस्तो देखिन्छ ।’ जिल्ला अस्पताल जाजरकोटका स्वास्थ्यकर्मीले यसअघि मृतकको टाउको, हात खुट्कमा र अन्य अंगमा चोट लागेको र पेटमा पानी नभएको कारण बगेर मरेको भन्दा पनी मारेर बगाएको हुन सक्ने जनाएका छन् ।
घटना जातीय विभेदकै कारण भएपनि अपराधिक मानसिकताबाट भएका कारण घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई हदैसम्मको कारवाही गर्नुपर्ने नेपाल दलित संघका केन्द्रिय सदस्य यज्ञबहादुर परियारले बताए ।
गत जेठ १० गते भएको सोती घटनामा नवराज विक सहित ५ जनाको मृत्यु भएको छ । जसमा टीकाराम विक चौरजहारी नगरपालिका १ रुकुम पश्चिम, गणेश बुढा र सञ्जु विक भेरी नगरपालिका ४ जाजरकोट र लोकेन्द्र सुनार भेरी नगरपालिका ११ जाजरकोट रहेका छन् । भेरी नगरपालिकाकै गोविन्द शाही अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएकको छ ।
घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका वडाध्यक्ष डम्बर मल्ल, केटीका बुवा बीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, केटी नाम परिवर्तत समिक्षा मल्ल लगायत १८ जनालाई प्रहरी हिरासतमा रहेका छन् ।
रुकुमका दलित अधिकारकर्मीहरुले सार्वजनिक गरेको सोती घटनाको निष्र्कषः
नवराज विक र समिक्षा मल्लबीचको प्रेम सम्वन्धबाट सुरु भएको उमेर हदको कारणले परिवारबाट भएको अवरोध, दुबैतिर वढ्दै गएको तनाव, तनावसँगै भएको मनमुटाव बढ्दै जाँदा सामुहिक हत्या हुने घटनाको पृष्ठभुमी र श्रृखलाबद्ध गतिविधीहरुलाई अध्ययन गर्दा केटीका घर परिवारले अन्तरजातीय प्रेमसम्वन्धलाई स्वीकार गर्न नसक्नु सुषुप्त अवस्थामा रहेको जातीय विभेदको पराकाष्टा नै हो ।
नवराज विक र समिक्षा मल्ल बीचको प्रेममा अवरोध हुने अवस्था आएपछि दुई पक्षको तनाव वढ्दै गएर जुनसुकै मुल्य चुकाएर भएपनि समिक्षालाई आफ्नो बनाउने नबराजमा हठ वढ्दै गएको र दुई÷दुई पटकसम्म केटीको परिवारबाट अस्वीकृत हुँदा हुँदैपनि साथीहरुको टोली लिएर आफ्नो गाउँमा आउँदै गरेको सूचना पाएपछि मल्ल ठकुरी बाहुल्य समाजको आत्मसम्मानमा ठेस पुग्ने प्रतिष्ठाको विषय बनाएर सिंगो गाउँनै एक भएर योजनावद्ध आक्रमण गर्ने मानसिक तयारीका साथ रहेको हुँदा आक्रणकारीहरुको भिडमा अपराधिक मनोबृतिका अराजक मान्छेहरुले सामुहिक हत्या गर्नेगरी गरेको निकृष्ट, जघन्य अपराधिक हत्याकाण्ड हो ।
प्रेममा अन्धो भएका नवराज बिकलाई समिक्षा मल्लको परिवारवाट दुई÷दुई पटक अस्वीकार हुने खालको कडा प्रतिक्रिया दिदा पनि लकडाउनको प्रतिकुल एवम संवेदनशिल समयमा १९ जनाको संख्यामा साथीहरुलाई लिएर केटी भगाउन खोज्नु उनको ठुलो दुसाहस, असावधानी र अज्ञानता पनि उक्त घटनाको सहायक कारण देखिन्छ ।
घटनामा संलग्न भएको भनि प्रहरीमा उजुरी दिई पक्राउ परेका केटी पक्ष तिरका व्यक्तिहरु मध्ये केही पूर्वमन्त्री, जनप्रतिधिहरुका नातेदार पर्ने भएकोले मिडियामा केही नेताहरुको आडमा रहेर सुनियोजित योजना बनाई घटना घटाईएको वा घटनाको सत्यतथ्य अनुसन्धानमा प्रभावित पार्नसक्ने भन्दै गरिएका आशंका र प्रचारबाजी भएको देखिएता पनि आरोपित व्यक्तिहरु प्रायः प्रहरी हिरासतमा रहेर अनुसन्धानकै प्रक्रियामा रहनु भनेको प्रहरी र जनप्रतिनिधीहरुले अनुसन्धानलाई सहयोग पु¥याउन अहिलेसम्म सक्रिय कदम चालेको देखिन्छ ।
जाजरकोटका माननिय सांसद तथा बनमन्त्री शक्ति वस्नेत र रुकुम पश्चिमका माननिय सांसद जर्नादन शर्मा पूर्व माओवादी पृष्ठभुमीका अहिले एउटै पार्टी भित्रका दुवैजना पूर्व गृहमन्त्री समेत भएका कारण दुवैको मिलिभगतमा यस घटनालाई न्युनीकरण गरी आफ्ना नजिकका बास्तविक अपराधिलाई जोगाउने, कृतिम अपराधी खडा गर्ने तथा मुद्दालाई कमजोर बनाईदिनसक्ने खालको षड्यन्त्र हुने आशंका र प्रचारबाजी गरिएको भएता पनि अहिलेसम्म उहाँहरुले घटना विषयमा देखाएको तत्परता र पीडितलाई न्याय दिन अपराधिलाई कानूनको कठघरामा उभ्याउने प्रतिवद्धता जाहेर गर्ने कुरालाई सकारात्मक रुपमै लिनुपर्दछ । तर मृतकका परिवार, आफन्तजनहरुलाई भेटेर यस विषयमा विस्तृत जानकारी लिने, समवेदना र साहानुभुती दिने विषयमा उहाँहरुले ध्यान नदिएको पाईन्छ ।
यस घटनालाई लिएर रुकुम पश्चिमका माननीय सांसद जर्नादन शर्माले संसदमा बोलेको कुरा, माननिय प्रदेश सभा सांसद गोपाल शर्माले दिएको अन्तरवार्ता, रुकुमका अन्य माननिय सांसदहरुले जारी गरिएको प्रेस विज्ञप्ती, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पाटी रुकुम पश्चिमले जारी गरेको प्रेस विज्ञप्ती, स्थानीय तथा राष्ट्रिय स्तरका मिडियामा आएका समाचारहरुलाई अध्ययन गर्दा यस घटनालाई जातीय विभेदसँग जोड्नु हुँदैन भन्ने मनसाय सत्तासिन पार्टीका केही नेता तथा जनप्रतिनिधीहरुमा पाईन्छ भने यस घटनाको गहिरो अध्ययन नगरी दलित समुदायको मनोविज्ञानलाई मात्र पकड्ने गरी सरकार इत्तरका केही पार्टी नेताहरुले जातीय सवाललाई अलि वढी चासो दिएर उठाएको पाईन्छ ।
घटनामा संलग्न रहेको भनि पक्राउ परेका वडाध्यक्ष डम्बर मल्लले घटना हुने समयमा प्रहरीलाई जानकारी गराएको भएता पनि गाउँका मान्छेहरुलाई नियन्त्रण गर्ने भुमिका नखेल्नु उनको गम्भीर त्रुटी देखिन्छ ।
जातीय छुवाछूत मुक्त तथा सामाजिक सद्भावयुक्त नमूना जिल्ला निर्माणको अभियान उत्र्कषमा पुग्दै गरेको बेला सोती सामुहिक हत्याकाण्ड हुनुले रुकुममा जातीय छुवाछूत चर्को रुपमा रहेछ भन्ने जसरी बाहिर प्रचारबाजी गरिएको छ त्यस्तो प्रचारबाजी गरिएजस्तो नभई छुवाछूत अबशेषको रुपमा कहीँकतै रहेको भएतापनि जातीय विभेद नयाँ स्वरुपमै जब्बर रुपमा रहेको हुँदा अब जातीय विभेद विरुद्धको महाअभियान नयाँ शिराबाट अगाडि वढाउनु पर्ने आवश्यकता देखिन्छ ।
पुरा प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोस

