रुकुम घटना छानविन गर्न दलित सांसदकै नेतृत्वमा समिति गठन गर्न कांग्रेसको माग

अन्तर्जातीय बिहेको विवादका कारण पश्चिम रुकुममा पाँच जना मारिएको घटना छानबिनका लागि संसदीय समिति गठन नगरिए कडा संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । निष्पक्ष छानविनका लागि दलित सांसदकै नेतृत्वमा संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद मानबहादुर विश्वकर्माले भने, ‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस् । यदि तत्काल गठन भएन भने योभन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारियोस् ।’

प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सांसद विश्वकर्मालाई धारणा राख्न दिएका थिए । उनले गृहमन्त्रालयले गठन गरेको छानविन समितिले न्यान दिन नसक्ने दाबी गरे ।

सांसद विश्वकर्माले भने, ‘यति ठूलो घटना घटिसकेपछि अहिले गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानविन समिति गठन गर्नुभएको छ । त्यो छानबिन समितिले न्याय दिन सक्दैन । हामीलाई समितिको मान्यता पनि छैन । यस हत्याकाण्डलाई फितलो बनाउन जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि पाएका छौं सत्तापक्षबाट ।’

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका युवा र केटी पक्षबीच झडप भएपछि भागाभाग भएको थियो । केही युवाहरु ज्यान जोगाउन भेरी नदीमा हाम फालेको बताइएको छ । सो घटनामा पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन् ।

सो घटनाको संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेस सांसद विश्वकर्माले उनीहरु आफैं हाम फालेको नभई हत्या गरेर फालिएको जिकीर गरे । सांसद विश्वकर्माले भने, ‘पोस्टमार्टमा गर्दा ती मृतकका पेटबाट पानी आएको छैन । मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्टमा गर्दा पानी नआउनुको कारण तिनीहरुलाई मारेर फालिएको थियो । त्यस्तै कसैलाई डोरी बाधेर खोलामा फालिएको थियो ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *