अनाम पहिचानको पर्खालः भाविकाको नागरिकता

कर्मसही घर्तीमगर

जीवनका अनगिन्ती घुम्तीहरूमा कतिपय मानिसहरूसँगको भेट केवल एउटा संयोग मात्र हुँदैन, त्यो त नियतिले नै लेखिदिएको एउटा जिम्मेवारीजस्तै बन्न पुग्छ । भाविका मेरो जीवनमा त्यसरी नै आइपुगेकी एउटी अबोध र कलिलो कोपिला थिइन् ।


एस.इ.ई. को नतिजा सार्वजनिक हुने दिन बिहानैदेखि मनमा एउटा अलग्गै कौतूहल र छटपटी थियो । जब भाविका उत्तीर्ण भएको खबर पाएँ, मेरो मनभित्र खुसीको एउटा अजस्र झरना फुटेझैँ भयो । सानैदेखि जसको पठनपाठन, खानपान, हेरचाह र समग्र संरक्षणमा हामी आफैँ निरन्तर खटिएका थियौँ, तिनै भाविकाले विद्यालय तहको पढाइ पूरा गरेकी थिइन् । एउटी अभिभावकविहीन र सहाराविहीन बालिकाले अभावका अनेकौँ पर्खालहरू नाघेर प्राप्त गरेको यो सफलतामा हामीले असीम खुसी, अपनत्व र गर्व महसुस गर्नु कुनै अनौठो वा अस्वाभाविक कुरा थिएन ।
भाविकालाई कक्षा ४ मा पढ्दै गर्दादेखि कर्मफ्लाइट्स फाउन्डेसन नेपालले आफ्नो स्नेहपूर्ण काखमा लिएको थियो । त्यो भन्दा अगाडि उनको सम्पूर्ण व्यवस्था पुथा हिमालय मावि मैकोटले नै गरेको थियो । उनका साना, निश्चल र अन्योलग्रस्त पाइलाहरूलाई शिक्षाको उज्यालो मार्गमा डो¥याउनु, उनका साना–साना सपनाहरूलाई पखेटा हालिदिनु र उनको रेखदेखमा अभिभावकीय छत्रछाया बनेर उभिनु केवल संस्थाको औपचारिक दायित्व मात्र थिएन; त्यो त आफ्नै जीवनको एउटा अभिन्न र आत्मीय हिस्सा थियो ।
उनी हाम्रा अगाडि हुर्कँदै गइन्, अक्षरहरू चिन्दै गइन् र सफलताका सिँढीहरू चढ्दै गइन् । तर खुसीको त्यो पहिलो किरण धेरै बेर टिक्न पाएन । जब उनको विद्यालयको लब्धाङ्क पत्र (माक्र्ससिट) र अन्य प्राविधिक प्रमाणपत्रहरू हातमा परे, मेरो मनमा एउटा अप्रत्याशित र चिसो सन्नाटा छायो ।
प्रमाणपत्रको माथिल्लो भागमा भाविकाको सुन्दर र चम्किलो नाम त अङ्कित थियो, तर त्यसको लगत्तै मुनि रहेको अगाडिको कोठा दबदब आमाको नाम पूर्ण रूपमा खाली थियो ।
एउटा मानिस यो धर्तीमा जन्मिएपछि उसको अस्तित्व र यो देशमा उभिनका लागि अनिवार्य चाहिने परिचय नै जब सरकारी कागजमा खाली भेटिन्छ, तब मनमा अनगिन्ती प्रश्नहरूले आँधीबेहरी सिर्जना गर्दा रहेछन् । मेरो अन्तरआत्माले चिसिएर प्रश्न ग¥यो— “आमा र बाबु दुवैको नाम नभएको यो रित्तो प्रमाणपत्रले भोलि कसरी यो देशको नागरिकता दिलाउला ? कसरी यसले भाविकालाई एउटा स्वतन्त्र नागरिकको पहिचान देला ?”
वडा कार्यालयबाट जन्मदर्ताको सिफारिस त भएकै थियो । बाबुको अत्तोपत्तो थिएन, त्यो समाजको एउटा कहालीलाग्दो र कहालीलाग्दो यथार्थ भयो, तर आमा त थिइन् नि ! भाविकाकी आमा आफ्ना कुरा व्यक्त गर्न नसक्ने अपबङ्गता महिला थिइन् । सायद त्यही वाक् अपाङ्गता, श्रवण अपाङ्गता र शारीरिक अपाङ्गता हुनुको विवशता, शारीरिक अशक्तता र असहायपनले गर्दा नै भाविकाको जैविक बाबु को हो भनेर उनले कहिल्यै खुट्याउन सकिनन् । समाजका क्रूर आँखाहरूले उनको त्यो विवशताको फाइदा उठाएका थिए । तर आमाको भौतिक र प्रत्यक्ष अस्तित्व त यो धर्तीमा घामजस्तै छर्लङ्ग र सत्य थियो । त्यही आमाको अस्तित्वलाई समातेर हामीले भाविकाको कानुनी पहिचानको जटिल लडाइँ लड्ने बलियो निधो ग¥यौँ ।
संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवर र मबीच यस विषयमा लामो र गम्भीर सल्लाह भयो । एउटी अनाथ, निस्सहाय र सहाराविहीन बालिकाको भविष्यलाई यसरी कानुनी अन्योलको भुमरीमा छाडिदिन सकिँदैनथ्यो । उनको कानुनी पहिचान अर्थात् नागरिकता नबनेसम्म उनको भावी शिक्षा, रोजगार र जीवनका सम्पूर्ण बाटोहरू सधैँका लागि बन्द हुने निश्चित थियो । अन्ततः एक बिहान, म आफैँ भाविकालाई साथमा लिएर नागरिकताको सिफारिस लिन स्थानीय वडा कार्यालयतिर लागेँ ।
वडा कार्यालयका अध्यक्ष विरमान कामी र कार्यालय सहायक गाउँपालिका गएका रहेछन् । म भाविकालाई लिएर गाउँपालिकाको केन्द्र तकसेरा गएँ । त्यहाँ कार्यालय सहायकसँग नागरिकताको लागि सिफारिस लिन गयौं । उनले सिफारिस त दिने तच नबगरिकतब गबह्रो हुन्छ कि, भनेर आशङ्का व्यक्त गरे ।
कार्यालय सहायकको भनाइले हाम्रो उत्साह र आशामा चिसो पानी खन्याइदिएझैँ भयो । समस्याको गम्भीरता र बालिकाको असहाय अवस्थालाई बुझेर उनले तत्कालै तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई फोन लगाए । उनले हामी र जिल्ला प्रशासनको बीचमा एउटा सजग सहजकर्ताको भूमिका निर्वाह गरिदिए ।
फोनमा सीडीओ साबको भनाइ थियो— “भाविकाको बाबु नहुनुको अर्थ उनी कुनै अनैतिक कार्य वा बलात्कारबाट जन्मेकी हुन् भन्ने कुरा स्पष्ट हुन्छ । तर बाबु नभए पनि आमा त हुनुपर्ने हो नि ! जन्मदर्ता गर्ने बेला आमाको नाम किन छुटाइयो ? पक्कै कतैबाट टिपेर वा उठाएर ल्याइएकी त होइनन् होला ! नेपालभरिमा यस्ता जटिल र अप्ठ्यारा केस ६÷७ जनाका मात्र छन् । उनको नागरिकता त बन्छ, नबन्ने होइन, तर यसका लागि नेपालको संविधानमै केही नियमहरू संशोधन हुनुपर्छ।”
प्रशासनको सर्वोच्च र शक्तिशाली अधिकारीको मुखबाट जब “संविधान संशोधन” जस्ता ठूला, गह्रौँ र जटिल शब्द सजिलै प्रयोग भए, तब सिङ्गो कोठा नै एउटा अगाध र कहालीलाग्दो शून्यतामा डुब्यो । त्यो शून्यतामा एउटी बालिकाको स्वाभिमान धुजाधुजा भइरहेको थियो।
सीडीओ साबले फोनमा निराशाजनक शब्दहरू बोलिरहँदा, मेरो नजर बिस्तारै र असहाय भई भाविकातिर मोडियो । उनका निश्चल आँखाहरूबाट अविरल अश्रुधारा खसिरहेका थिए । उनी यसरी रोइरहेकी थिइन् कि उनको मुखबाट कुनै आवाज, कुनै सुस्केरा निस्किरहेको थिएन; उनी भित्रभित्रै, आफ्नो आत्मा नै भक्कानिने गरी, निशब्द रोइरहेकी थिइन् । आवाज नआउने गरी, अरू कसैले थाहा नपाउने गरी भित्रभित्रै रोइरहेको त्यो कारुणिक र मार्मिक दृश्य देख्दा मेरो आफ्नै मन खण्ड–खण्ड भएर भइरह्यो ।
एकातिर उनी जन्मैदेखि पारिवारिक सहाराबाट वञ्चित थिइन्, अर्कातिर यो राज्यको संवेदनहीन नीति, कठोर कानुन र प्रशासनिक संयन्त्रले उनलाई झनै सहाराविहीन र अनागरिक बनाउँदै थियो । त्यो क्षण मेरो छातीभित्र एउटा गह्रौँ पत्थर बज्रिएझैँ भयो र म आफैँ पनि स्तब्ध बनेँ ।
त्यसपछिका दिनहरू हाम्रा लागि एउटा अनन्त निराशाजनक यात्रा जस्तै बने । समय आफ्नो गतिमा बित्दै गयो । जिल्ला प्रशासन कार्यालयमा एकपछि अर्को गर्दै लगभग ३ जना जति नयाँ–नयाँ सीडीओहरू फेरिए ।
हामी हरेकपटक आशाको नयाँ किरण र उत्साह बोकेर हरेक नयाँ प्रशासकको ढोकामा पुग्थ्यौँ । हाम्रा हातमा तिनै पुराना कागजात हुन्थे र मनमा तिनै पीडादायी प्रश्नहरू हुन्थे । तर नियति र सरकारी ढर्रा भने रत्तिभर फेरिएन । हरेक नयाँ अधिकारीले मुद्दाको कानुनी जटिलता र संवेदनशीलता देखेर पन्छिन खोजे; जोखिम लिन कोही तयार भएनन् । भाविकालाई नागरिकता दिन सबैले हिचकिचाहट र अनिच्छा मात्र देखाए ।
कसैले संविधान र कानुनका असङ्गत धाराहरू देखाएर पन्छिए, कसैले प्रक्रियाको लामो र जटिल बाटो औँल्याउँदै माथिल्लो निकायमा धाउन सल्लाह दिए । तर कसैले पनि ती अबोध बालिकाको आँखामा छचल्किएको आँसु, उनको प्रतिभा र उनको सुनौलो भविष्यलाई आफ्नै सन्तानको जस्तै सम्झेर बुझ्ने हिम्मत र साहस गरेनन् ।
भाविकाको नागरिकताको लागि संस्थाका निर्देशक प्रेमबहादुर कुँवर र स्थानीय नाताले मबीच हरेक पटक कुरा हुन्थे ।
यो बीचमा मैले सभासद, भूपू सभासद, जिल्ला समन्वयका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरूलाई पनि भाविकाको नागरिकताको लागि पहल गर्न लगाएँ । कैले केही गर्न सकेनन् । आश लाग्दो कसैले दिन सकेनन् ।
यो निरन्तरको प्रशासनिक ढिलासुस्ती, अस्वीकार र उपेक्षाले गर्दा भाविका मात्र होइन, कर्मफ्लाइट्स फाउन्डेसन र उनको हेरचाहमा खट्ने सम्पूर्ण मनहरू गहिरो चिन्ता र निराशाको भुमरीमा डुब्यौँ । शिक्षाको उज्यालो पाएकी, एस.ई.ई. जस्तो राष्ट्रिय परीक्षा सफलताका साथ उत्तीर्ण गरेकी र संस्थाको सहयोगमा लाहानमा नर्सिङ दोस्रो वर्षमा अध्ययन गरिरहेकी एउटी सहाराविहीन बालिका आफ्नै देशमा नागरिक अधिकारबाट वञ्चित हुनु एउटा मानव अधिकारकै ठूलो उल्लङ्घन र महान् सामाजिक दुर्घटना जस्तै लागिरहेको थियो ।
तमाम अप्ठ्याराहरू, कानुनी जन्जालहरू र प्रशासनिक रुढिवादीहरू एकातिर होलान्, तर भाविकाको त्यो निष्पाप आँखाबाट खसेका ती मौन र वेदनापूर्ण आँसुका थोपाहरू अर्कातिर थिए । ती आँसु केवल पानीका थोपा थिएनन्, ती त यो राज्यको व्यवस्थामाथि उठाइएका गम्भीर प्रश्नहरू थिए ।
राज्यका कानुनी पानाहरू कठोर र संवेदनहीन हुन सक्छन्, तर एउटी निस्सहाय र अनाथ बालिकाको सुनौलो भविष्यलाई यसरी कागजी जन्जाल, प्राविधिक त्रुटि र प्रशासनिक उदासीनताको बलिदानी चढ़्न दिन सकिँदैन थियो ।
भाविकाको पहिचानको यो लडाइँ अब केवल एउटा नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने प्राविधिक लडाइँ मात्र रहेन; यो त यो देशका हजारौँ–हजार अनाथ, पहिचानविहीन, सीमान्तीकृत र आवाजविहीन बालबालिकाहरूको अस्तित्व र आत्मसम्मानको लडाइँ बनेको थियो । जबसम्म भाविकाले यो देशको एक सार्वभौम र स्वाभिमानी नागरिक भएर शिर ठाडो पारेर बाँच्न पाउने अधिकार पाउँदिनन्, जबसम्म उनको हातमा यो देशको नागरिकता पर्दैन, तबसम्म हाम्रो यो वैचारिक, कानुनी र मानवीय सङ्घर्ष निरन्तर जारी रहनेछ भन्ने नै थियो ।
समय बित्दै जाँदा निराशाका काला बादलहरू अझ बाक्लिँदै थिए । तर भनिन्छ नि, रात जतिसुकै अँध्यारो भए पनि बिहानको उज्यालोलाई कसैले रोक्न सक्दैन ।
जुलाई २३, २०२६ को दिन । म आफ्नै नियमित काममा व्यस्त थिएँ । मेरो फोनको घन्टी बज्यो । स्क्रिनमा सर्वथा नयाँ र अनाम नम्बर चम्किरहेको थियो । मलाई कसको फोन होला भन्ने कौतूहल भयो र मैले फोन उठाएर भनेँ— “हेलो !”

फोनको अर्कोतिरबाट एउटा गम्भीर तर आत्मीय आवाज आयो— “तपाईं कर्मसही हो ?’’
मैले भनेँ— “हो, म नै हुँ ।”
पुनः प्रश्न आयो— “तपाईं कर्मफ्लाइट्स फाउन्डेसनमा काम गर्नुहुन्छ ?”
मैले जिज्ञासा र कौतूहलका साथ उत्तर दिएँ— “हजुर, म त्यहीँ काम गर्छु ।”
फोन गर्ने महिलाले आफ्ना परिचय दिँदै भने— “म पूर्वी रुकुमको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बोलिरहेको छु । तपाईंको संस्थाबाट एउटी अनाथ बालिकालाई सानैदेखि पढाउँदै आउनुभएको छ रे— भाविका । उनको नागरिकता बनेको छैन भन्ने कुरा मैले सुनेँ ।”
मैले तत्कालै विगतका सबै विवरणहरू स्मरण गर्दै भनेँ— “हो हजुर, भाविका सानै छँदादेखि नै हाम्रै संस्थाको संरक्षणमा छिन् । हामीले नै उनलाई पढाउँदै, हेरचाह गर्दै ल्याएका हौँ ।”
मेरो कुरा सुनिसकेपछि सीडीओ साबको मुखबाट जुन शब्दहरू निस्किए, ती शब्दहरू हाम्रा लागि वर्षौँदेखि पर्खिरहेको मरुभूमिमा अमृतका थोपाहरू बगेझैँ थिए । उनले निकै सहज र अभिभावकीय भावमा भने— “तपाईंको संस्थाले उनलाई सानैदेखि पढाएको हो भने, तपाईंहरूले पढाउँदै ल्याएको प्रमाण, संस्थाका कागजातहरू, विद्यालयको प्रमाणपत्र र नानीलाई पनि साथैमा लिएर आउनुहोस् । उसको नागरिकता बन्छ ।”
जहाँ अघिल्ला ३÷४ जना सीडीओहरूले कानुनी झन्झट, प्रक्रियागत जटिलता र असम्भवका अजङ्गका पर्खालहरू उभ्याएर नागरिकता दिन हिचकिचाइरहेका थिए, त्यही केसमा नयाँ सीडीओ साबले यति सहजै, यति जिम्मेवार भएर र यति लचकताका साथ “नागरिकता बन्छ” भनिदिँदा मेरो छाती हर्षले फुल्यो । विगतका ती कहालीलाग्दा दिनहरू, भाविकाले लुकेर बगाएका ती मौन आँसुका थोपाहरू र हाम्रा अनगिन्ती दौडधुपहरू एकैछिनमा आँखाअगाडि नाच्न थाले ।
त्यो एउटा फोन कल केवल एउटा प्रशासनिक संवाद मात्र थिएन; त्यो त एउटी असहाय बालिकाको जीवनमा उदाउन लागेको न्याय र पहिचानको नयाँ बिहानी थियो । राज्यको संयन्त्रभित्र पनि मानवीय संवेदना भएका, नियम–कानुनको अक्षरमा मात्र होइन, कानुनको आत्मा र मानवीय धर्म बुझ्ने प्रशासकहरू हुन्छन् भन्ने कुराको प्रत्यक्ष प्रमाण त्यो कल बनेको थियो ।
लगत्तै मैले सीडीओको कल कार्यक्र निर्देशक प्रेमबहादुर कुँवरलाई दिएँ । उनी दुईबीच बातचित भयो । निर्देशकको निर्देशनमा मैले प्रमुख जिल्ला अधिकारीलाई भाविकाको बारे लेखेर पठाएँ—
‘‘लुम्बिनी प्रदेश रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १ मैकोटमा जन्मिएकी हुन् भाविका पुन मगर । उनकी आमा वाक् अपाङ्गता, श्रवण अपाङ्गता र शारीरिक अपाङ्गता थिइन् । तिनै अपाङ्गता आमाको कोखबाट उनको जन्म भएको थियो । सायद, आमाले आफ्नो छोरीको बाबा को हो ? भन्ने कुनै मेसो पाइनन् । पहिचान गर्न सक्ने उनको सायद चेतना थिएन । गाउँघरको सामान्य भाषामा ‘उनकी आमा कुनै बेला कसैद्वारा बलात्कृत भएकी रहेछिन’् भन्ने बुझिन्छ । उनको बाबाको पहिचान हुन नसकेकै आधारमा उनको नामको नामाकरण भयो— आकाशबेली । आकाशबेली एक किसिमको झार हो, जसको जरा हुँदैन भन्ने लोकोक्ति छ ।
सानै छँदा उनको हजुरबा बिते । आमा बितिन् । माइला मामा बिते । कान्छा मामा पोखरातिर हराए । जेठा मामा दल पुन गाउँमा छन् । उनी पनि सामान्य मानसिक समस्याले ग्रसित जस्तै भेटिन्छन् । तिनै मामाको छत्रछायाँमा हुर्केका आकाशबेलीलाई कर्मफ्लाइट्स फाउण्डेशन नेपालले कक्षा ४ देखि सहयोग र रेखदेख गर्दै आएको छ । अर्थात् सन् २०१८ देखि अद्यावधि उनको शैक्षिक सहयोगी रहँदै आएको छ ।
कर्मफ्लाइट्स फाउण्डेशन नेपालको मायाँमा उनको पढाइ राम्रो भएको थियो । बाल मस्तिष्क भएको बेला त उनलाई केही नहोला । परन्तु जब उनले बुझ्ने होलिन्, तब आफ्नो नामको अर्थले अनर्थ सोच्लिन् । मानिसले पनि उनलाई देख्ने बित्तिकै आफ्नै किसिमको तुच्छ सोच बनाउलान् अनि उनमा हीनताबोध होला भनेर संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरको आग्रहमा उनको नाम फेरिदिने प्रस्ताव आयो । त्यो प्रस्ताव तात्कालीन पुथा हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्ती मान पुन, म र अन्य बौद्धिक समुदायमा राम्रो लाग्यो । यी नानीले भोलिका दिनमा राम्रो गरून् र आफ्नो भाग्य÷भविष्य आफै कोर्न सक्षम होऊन् भनेर उनको नाम भाविका राखियो ।
यसरी हरेक साल दुइ सिजन गरेर संस्थाले स्थानीय अभिभावक कर्मसही घर्ती मगरको प्रत्येक्ष रेखदेखमा उनको शैक्षिक सामग्रीको अलावा खानाको लागि चामल, दाल, नुनतेल, लत्ताकपडा सबै व्यवस्था भइरह्यो ।
औसत रूपमा उनको पढाइ राम्रो देखिन थालेको थियो । अभिभावकको राम्रो रेखदेख हुन नसकेको अवस्थामा पनि नियमित पठनले उनमा एक किसिमको आत्मविश्वास विकसित भइसकेको थियो ।
जब उनको एसईई रिजल्ट आयो, उनको बाबा आमाको नाम खाली देखियो । यसले उनलाई आफ्नो प्रमाणपत्र कसैको अगाडि देखाउन लज्जित बनायो । यही प्रमाणपत्रमा आमाबा नभएको कारण वडाबाट वडा सिफारिस पनि पाउन गाह्रो भयो । नागरिकता बनाउन पनि नसकेको अवस्था छ । वडा कार्यालय, गाउँपालिका र सीडीयो कार्यालयसम्म बुझ्दा प्रकृया लामो हुने बताइएको थियो । त्यही आमाबाबा नभएको मार्कसिटकै आधारमा उनको पढाइ भइरहेको छ । उनको पढाइ शुरुमा कमजोर देखिए पनि फाइनल परीक्षामा अपेक्षाकृत राम्रै अङ्क लिएकी छिन् । संस्थाले उनलाई निरन्तर प्रोत्साहन दिइरहेको छ ।
अहिले उनी लाहानमा उनले रुचाएको नर्सिङ्ग दोस्रो वर्षमा अध्ययनरत रहेकी छिन् । एकदिन आफ्नो नागरिकता हुने कुरामा ढुक्क त छिन् । परन्तु हुने नहुनेको दोसाँधमा मानसिक आघात मनग्ये परेको उनले नबताए पनि उनको मुखाकृतिले बताउँछ । नागरिकता नभएको कारण आफुसँग नर्सिङ्ग पढिरहेका साथीहरूसँग खुल्न नसकेको पीडा रहेको बताउँछिन् ।’’
फोनमा सकारात्मक आश्वासन पाए तापनि नागरिकताको पछाडि दौडिँदा उनको पढाइमा कुनै असर नपरोस् भनेर हामीले तत्कालै उनलाई पूर्वी रुकुम पठाएनौँ । पढाइलाई पहिलो प्राथमिकतामा राखेर हामीले उपयुक्त समयको पर्खाइ ग¥यौँ ।
अन्ततः दसैँको बिदा आयो । बिदाको अवसर पारेर भाविका आफ्नो जन्मगाउँ गइन् । गाउँमा वडा अध्यक्ष वीरमान कामी स्थानीय अभिभावकका रूपमा सधैँ तत्पर थिए । उनले पहिलेदेखि नै “भाविकाको नागरिकता आफ्नै कार्यकालमा जसरी पनि बनाउने” अठोट र प्रतिबद्धता व्यक्त गर्दै आएका थिए । नभन्दै, भाविका गाउँ पुगेको शुभ मौका पारेर वडा अध्यक्ष वीरमान कामीको पहलमा उनकी आमाको जन्मदर्ता र मृत्युदर्ताका आवश्यक प्रक्रियाहरू पूरा गरिए ।
तर, प्रक्रिया त्यतिमा मात्र सीमित थिएन । अक्टोबर १४ को दिन जब भाविका नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगिन्, कानुनी प्राविधिकताका कारण फेरि केही उल्झन आयो र त्यस दिन नागरिकता बन्न सकेन । भाविकाले मलाई फोन गरेर नागरिकता नबनेको चिन्ताजनक खबर सुनाइन् ।
मैले तत्कालै विगतको प्रसङ्ग सम्झाउँदै भनेँ— “अघि प्रमुख जिल्ला अधिकारी कोपिला राईज्यूले एकजना आधिकारिक सूचकको रूपमा अनिवार्य उपस्थित हुनुपर्छ भन्नुभएको थियो । त्यसका लागि कि म आफैँ रुकुम आउनुपर्छ, कि त वडाको स्थानीय प्रतिनिधि सूचक बनेर जानुपर्छ ।”
लगत्तै स्थानीय अभिभावकत्व ग्रहण गरिरहेका वडा अध्यक्ष वीरमान कामी ढिला नगरी आफैँ सदरमुकाम जिल्ला प्रशासन कार्यालयतिर लागे ।
अक्टोबर १५ को साँझपख वडा अध्यक्ष वीरमान कामीको फोन आयो । उताबाट हर्षित स्वरमा उनले भने— “काका ! भाविकाले आज नागरिकता र राष्ट्रिय परिचयपत्र दुवै प्राप्त गरिन् ।”
जुन विषयमा कसैले आँट गरिरहेका थिएनन्, कानुनी जटिलता देखाएर पन्छिरहेका थिए, त्यस्तो जटिल र संवेदनशील विषयलाई अत्यन्त सहज, मानवीय र न्यायपूर्ण तरिकाले निकास दिने रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राई यो कथाकी एउटा अविस्मरणीय र आदरणीय पात्र बनेकी छन् । कानुनको कठोरताभित्र मानवीय संवेदना र न्यायको आत्मा भर्ने उनको यो हिम्मतका लागि उनीप्रति हृदयदेखि नै गहिरो आभार र सम्मान !
त्यस्तै, निरन्तरको तत्परताका साथ खट्ने वडा अध्यक्ष वीरमान कामी र संरक्षणमा हात बढाउने कर्मफ्लाइट्स फाउन्डेसनको मिहिनेतले आज सार्थकता पाएको छ ।
आज भाविका पुन मगर केवल एउटी अनाथ र असहाय बालिका मात्र रहिनन्, उनी यो देशको एक सार्वभौम, स्वाभिमानी र वैधानिक नागरिक बनेकी छिन् ।आफ्नो धर्तीमा उभिएर ‘म यो देशकी नागरिक हुँ’ भन्न पाउने अधिकार र प्रत्याभूति उनले पाएकी छन् ।
प्रिय भाविका पुन मगर ! नागरिकताको यो प्रमाणपत्र केवल एउटा कागजको पाना मात्र होइन, यो त तिम्रो अस्तित्व, स्वाभिमान र सुनौलो भविष्यको ढोका हो । जीवनका थुप्रै अप्ठ्यारा पर्खालहरू नाघेर यहाँसम्म पुगेकी तिमीलाई यो देशको एउटा पूर्ण नागरिक बनेकोमा हार्दिक बधाई ! तिम्रो आगामी शैक्षिक र जीवन यात्रा थप उज्यालो र अनुकरणीय बनोस् ! तिमीलाई उत्तरोत्तर प्रगतिको असीम शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *