तिमीलाई त सञ्चै छ होला नी !

प्रविर ददेल ।
सानू तिमीलाई त सञ्चै छ होला नी ! खै कहाँबाट सुरु गरौं । तिमीसँग सम्र्पक नभएको पनि धेरै भयो है । तिमी अहिले नयाँ ठाउँ, नयाँ प्रवेश, नयाँ भाषा, नयाँ संस्कृति र नयाँ जिम्बेवारीका साथ देश छोडेर प्रदेशी भएको पनि धेरै भयो नी । हुन त तिमि देशमै हुँदा पनि तिम्रो मेरो भेट त हुँदैन्थ्यो । तर कहिलेकसो फोन र फेसबुक च्याटबाट सञ्चो विसञ्चो त थाहा हुन्थ्यो । अहिले भने न तिमीसँग फोन सम्र्पक हुन्छ, नत च्याटबाट केही कुरा जानकारी हुन्छ सानू !
तिम्रो फेसबुक प्रोफाईल खोलेर हेर्छु त्यहाँ पनि तिमी अपडेट छैनौ नी ! जुन दिन तिमीले देश छोडेकी थियौं त्यही दिनको फोटो बाहेक नयाँ कुनै सन्देश र पोष्ट छैन् तिम्रो फेसबुक प्रोफाईलमा । यदि फेसबुकले प्रोफाईल खोलेको भ्युयुज देखाउने भए सबैभन्दा वढी मेरै हुन्थ्यो होला !
तिमीलाई चिन्नेहरुसँग कुरा गर्छु उनीहरु पनी तिम्रो बारेमा थाहा नभएको बताउँछन् । तर तिमी सञ्चै छौ होला नी है !
तिमीलाई सञ्चो नै होला भनेर पनि कसरी भनौं विश्वनै अहिले स्वास्थ्य संकटको अवस्थामा छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका झण्डै दुई लाख ८० हजार वढी मान्छेको मृत्यू भएको छ । झण्डै ४२ लाख भन्दा वढी जनसंख्या यो रोगबाट प्रभावित भएका छन् । मानव जीवन नै कसरी जोगाउँने चिन्ता बैज्ञानीकहरुलाई उस्तै छ । थाहा छ नी तिमिलाई यो रोगको कुनै औषधी र खोप छैन् ।
हुन त तिमी विकशित देशमा छौं । त्यस्तो समस्या त नहोला । तर यो रोगले धनी, गरिब, सानो, ठुलो केही भन्दैना नी । यसले त सबै मानव जातिलाई संक्रमित बनाउने र दुःख दिने काम गरेको छ । तिमी पुगेकै देशका नागरिलाई झन् वढी प्रभावित बनाएको छ । तिमि चाँही सुरक्षित रहनु है !
तिमी जुन सपना र लक्ष्य लिएर त्यहाँ गएकी छौं त्यो पुरा गर्नुपर्दछ । तिम्रो परिवारले तिमीबाट ठुलो अपेक्षा गरेका छन् । हो नि तिमी घरको जेठी छोरी हौं नी है ! तिम्रो सफलतासँगै आमावुवा र भाई बहिनीको भविष्य समेत जोडिएको छ । म तिम्रो असल मित्रको रुपमा यत्ति भन्छु ।
त्यसका लागि पहिले त यो कोरोना भाइरसलाई जित्नै पर्दछ । यो रोगलाई जित्ने भनेकै एकान्त बास र सरसफाईमा ध्यान दिने कुरा रहेछ नी । म पनि झण्डै एक महिनादेखी एकान्तबासमै छु । आफ्नो दैनिक काम छोडेको छु । तिमिलाई थाहा छ नी म सधै व्यस्तको व्यस्तै हुन्थे ।
रिर्पोटिङकै क्रममा कहिले रुकुम पूर्व, कहिले पश्चिमका गाउँ–गाउँमा पुग्ने र त्यहाँको सत्य तथ्य सूचना संकलन गरेर जनतालाई थाहा दिने काम गरिन्थ्यो । तर अहिले त एउटा बन्द कोठभित्र बसेर फोन, ईमेल र सामाजिक सञ्जाल मार्फत केही सूचना संकलन गरेर नागरिकलाई सुशुचित पार्ने काम त गरेको छु । अहँ.. तर मेरो अहिलेको कामले मलाई कत्ति चित्त बुझेकै छैन् ।
पहिले तिमीले मैले लेखेका समाचारहरुको प्रसंशा र आलोचना गर्दथ्यो नी हो त्यसैगरी केही शुभचिन्तकहरुले फोन र सामाजिक सञ्जालमा खोजीका समाचार आउँन छोडे भन्दै प्रतिक्रिया दिने गर्दछ ।
के गर्नु अहिले गाउँ–गाउँमा गएर समाचार खोज्ने अवस्था नै छैन् ।
तिमीलाई थाहा छ नी मैले लेखेका समाचारका कारण कति बालबालिका शिक्षाको पहुँचमा छन् । कति नागरिकले स्वास्थ्य उपचार पाएका छन् । समाचारकै माध्यमबाट सिमान्तकृत समुदायको आवाजलाई बुंलुन्द पार्ने काम गरिन्थ्यो !
यो भन्दै गर्दा मेरो प्रशंसा गर्न खोजेको चाहि पक्कै होइन । तर हामीले गर्ने हरेक कामलाई यो कोरानाले निकै प्रभावित बनाएको चाँहि सत्य हो । अहिले उद्योग धन्दा कलकारखाना बन्द रहेका छन् । लाखौ मजदुरहरुको रोजगार गुमेको छ । तिमी पनि त आफ्नो काम ढुक्कसँग गर्न पाएकी छैनौ होला नी !
तर केही छैन् । सरकारले गरेको लकडाउनको पूर्ण रुपमा पालना गरांै । सरसफाईमा विशेष ध्यान दिऔं । एकान्त बासमा बसौं । मान्छेसँगको घुलमिल बन्द गरौं । सकेसम्म भिडभाडमा नजाऔं । जानै पर्ने काम भए मास्कको प्रयोग््् गरौ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सहयोग गरौं । गाउँ समाजमा कोरोना सम्वन्धी सचेतना फैलाऔं । यो कोरोनालाई आ–आफ्नो क्षेत्रबाट जितौं । त्यसपछि फेरि हाम्रो दिन कसरी नआउला र ?
नोटः कोरोना संक्रमणको बारेमा सचेतना फलाउने उद्देश्यले मात्र यो लेख लेखिएको हो । कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ ।

