अनौठो झाँक्री मेला
प्रभात गुरुङ ।
रेखदेख सवाददाता
रुकुम पुर्व भूमे गाउँपालिका –१ लुकुम गाउँमा लाग्ने परम्परागत झाँक्री मेला साउन ४ गते मनाउने भएको छ । यो विशेष सांस्कृतिकको रुपमा प्रत्येक वर्ष साउन पहिलो हप्ता मनाइन्छ । सोमबार, मंगलबार र शनीबार पारेर एक दिन लाग्ने यो मेला यो गाउँमा मात्रै मनाइन्छ । स्थानीय झाँक्रीहरूको बाक्लो उपस्थिति हुने यो मेलाको आफ्नै मौलिक विशेषता छ । यो एक जनविश्वासको आधारमा मनाइने रोचक र रमणीय मेला हो । यो मेलामा गाउँका बालक, युवा, वृद्धहरू आपस आपसमा सिस्नु खेलेर रमाइलो गर्छन् ।
लुतो फाल्ने दिन साउन १ गते राँका बालेपछि मौन अवधि सुरु हुन्छ । त्यसबेला माटो निकाल्ने, रगतको बलि चढाउने, जातो पिस्ने लगायत ठूलो आवाज आउने खालका कडा काम गर्नु हुँदैन । सो अवधिमा यस्ता काम गरेमा चोटपटक लाग्ने विश्वास छ । राँका बालेको दिन मकै, काँक्रो, फर्सी, सिमी, तामा लगायत घरमा उब्जाइने तथा जंगलमा पाइने खाद्य बालीहरू चढाउने गरिन्छ । त्यहाँ नचढाउँदा सम्म बर्षे खाद्यान्न बालीहरू खानु हुँदैन भन्ने जन धारणा छ । सो दिन स्थानीय खाद्यान्नबाट बनाइएका मिठा मिठा परिकार खाने चलन छ । रोटी, मासु, तामाको तरकारी लगायतको स्थानीय खानाको परिकारले विशिष्ट यो पर्व हिजोआज भने बजारीय परिकारमा पनि ढल्किएको छ । ती स्थानीय परिकार गोठमा बस्ने आफ्ना परिवारलाई पनि विशेष आहाराको रुपमा लगिदिन्छन् । त्यो बेला गोठालेहरू आफ्नो पशु चौपाया सहित माथि लेकहरूमा हुन्छन् । १ गते आहारा लिएर गएकाहरू भोलिपल्ट गाउँ फर्किएपछि स्थानीय बुद्धिजीवीहरूको सल्लाहमा ३, ४ या ५ गते मेला लाग्छ ।
पौराणिक कालमा एक ’काना सुरपाङ्खे’ नामक प्राकृत प्रेत आत्मा थियो । त्यस आत्मालाई नै आजभोली बोक्सी भनिन्छ । सो प्रेत आत्माले यो ठाउँ भएर आवतजावत गर्ने मान्छेहरूलाई सताउन थाल्यो । धेरै नै सताउन थालेपछि दिक्क भएर त्यसबेलाका रामजाली घर्तिमगरहरूले सो बोक्सीलाई टोपेका थिए । किरखोलाको किनारमा पर्ने मःझेरबाङ भन्ने स्थानमा त्यो आत्मा टोपिएको थियो । पछि त्यसलाई त्यहाँबाट निकालेर लुकुम ठूलो गाउँको जारीखोला किनारमा ल्याइ राखियो । आइन्दा कुनै पनि प्रकारले मानव आत्मालाई दुःख नदेओस् भनेर निगरानीमा राख्न ठूलो गाउँको नजिक सारिएको विस्वास छ । प्रेत आत्मालाई सो दिन विचरणका लागि छोडिन्छ । त्यसका लागि मुख्य झाँक्रीले आफ्नो मन्त्र बाचा सहित उठाउन जान्छ । मन्त्र बाचा बिना उठाउन गएमा झम्टिने भएकाले पाको झाँक्री मात्रै आफ्नो मन्त्र बाचा सहित जानुपर्छ । त्यहि साँझ त्यो प्रेत आत्मा पुनः सोही ठाउँमा आएर बस्छ । “विचरणको क्रममा ती आत्मा पश्चिम दिशामा जान्छ र सोही साँझ फर्केर आइ फेरि त्यहीं ठाउँमा बस्ने गर्छ“ परम्परागत लुगुम्याल झाँक्री समुहका अध्यक्ष जोधे पुनले सुनाए ।
प्रेत आत्माबाट आफू र आफ्नो परिवार बचेको खुसियालीमा त्यो दिन गाउँभरिका मान्छे झाँक्रीको पिठ्युँ चढेर भालेको बलि चढाउने गर्छन् । मुख्य पालो पाएको झाँक्रीले बोक्सी निकाली दगुरेर गाउँ छिचोल्दै पश्चिमको झोलेनी बिसौनामा आएर बस्छ । मुख्य झाँक्री दगुर्दै आएपछि पछाडि पछाडि सबै झाँक्रीहरू पनि दगुरेर गाउँ पस्छन् । त्यसबेला हेर्ने दर्शकका लागि पनि मनोरम र उत्साहित दृश्य देखिन्छ । झाँक्रीहरू गाउँ पसेपछि घरघरमा गई मान्छेहरूलाई पिठ्युँ चढाउँदै जान्छन् । “ज–जसले पहिला आफुलाई जानकारी गराउँछन्, तिनीहरूको घरमा जाने हुन्छ । अन्धाधुन्ध जो पायो त्यसको घरमा जाने हुँदैन“ एक जना महिला झाँक्री धनमाला बुढाले बताईन ।
प्रेत आत्माबाट बचेको र फेरि पनि धेरै बाँच्ने कामना सहित सो अवसरमा करिब १ हजार हाराहारीमा गाउँभरि भालेको बलि चढाइन्छ । यो परम्परा बिस्तारै लोप हुँदै गएको छ । “मौलिकता झल्कने यो एक मेला हराउन दिनुहुँदैन“ भन्दै जोगाउन हर प्रयास गर्नुपर्ने आवस्यकता समुहका सचिव बलमान पुनले औंल्याए ।
झाँक्री मेलाको भोलिपल्ट जुम्जुते हुन्छ । जुम्जुतेमा माटो निकाल्ने, रगतको बलि चढाउने लगायत कडा काम गर्नु हुँदैन र टाढाको यात्रा समेत गर्नु हुँदैन भनिन्छ । टाढा टाढा बसाइ सरेर गएका लुगुम्यालहरू मेला हेर्न आए भने जुम्जुतेको दिन फर्केर घर जाँदैनन् । सो दिन गाउँमा हिलो खेलेर बस्ने गर्छन् ।

