रुकुमको सानीभेरी गाउँपालिका पनि जातिय छुवाछूत मुक्त घोषणा
गाउँपालिकामा सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद नरहेको, सवै जात जातिहरुको मन्दिरमा साझा पहुँच रहेको, जातीय कारणले चुलो, भान्सा तथा खानपानमा छुवाछुत नरहेको, अन्तरजातिय विवाह सहज रुपमा हुँदै गएको र बिद्यालयमा बालवालिकाहरु माथि जातका नाममा कुनै विभेद नभएको भन्दै सानीभेरी गाउँपालिका जातीय छुवाछूत मुक्त गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिएका छन् ।
रेखदेख संवाददाता
चैत २१, (सिम्ली) रुकुम । सानीभेरी गाउँपालिकालाई जातिय छुवाछुत मुक्त घोषणा गरिएको छ । पश्चिम रुकुमको सानीभेरी गाउँपालिका विहीबार जातीय छुवाछुत मुक्त तथा सदभाव युक्त गाउँपालिका घोषणा गरिएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास समितिका सभापति राजु परियारले गाउँपालिकालाई जातिय छुवाछूत मुक्त घोषणा गरेकी छिन् ।
गाउँपालिकामा सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद नरहेको, सवै जात जातिहरुको मन्दिरमा साझा पहुँच रहेको, जातीय कारणले चुलो, भान्सा तथा खानपानमा छुवाछुत नरहेको, अन्तरजातिय विवाह सहज रुपमा हुँदै गएको र बिद्यालयमा बालवालिकाहरु माथि जातका नाममा कुनै विभेद नभएको भन्दै सानीभेरी गाउँपालिका जातीय छुवाछूत मुक्त गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिएका छन् ।
उनले भने, गाउँपालिकाले बालिघरे प्रथा उन्मुलन हुँदै जानुका साथै परम्परागत जातीय शीपमा आधारित कामहरुमा सम्मान जनक व्यवहार भएको बताए । यसका साथै कानूनले सामाजिक अपराधका रुपमा लिएको जातीय भेदभावलाई गाउँपालिकावासीले बुझ्दै गएको गाउँपालिका अध्यक्ष पुनले बताए ।
यसैविच गाउँपालिकालाई जातिय छुवाछूत मुक्त घोषणा गर्दै गाउँपालिकाले यस सम्बन्धी १० वटा नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरेको व्यक्त गरेको छ । सानीभेरी गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा हुने जिल्लाको तेस्रो स्थानीय तह बनेको छ ।
यसअघि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका गत असार ५ गते जिल्लाको पहिलो स्थानीय तहका रुपमा जातिय छुवाछुत मुक्त तथा सामाजिक सदभाव युक्त घोषणा भएको थियो । त्यस्तै यहि चैत्र ७ गते जिल्लाको चौरजहारी नगरपालिका दोस्रो स्थानीय तहका रुपमा जातिय छुवाछुत मुक्त घोषणा भएको थियो ।
जिल्लाका ६ स्थानीय तह मध्येमा अव मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका र त्रिवेणि गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा हुन बाँकी रहेका छन । कार्यक्रममा रुकुम क्षेत्र नं. १ का सांसद रातो कामी, क्षेत्र नं. २ का गोपाल शर्मा, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा लगायत दलित अधिकारकर्मीहरुको आतिथ्यता रहेको थियो ।