दूरसञ्चार प्रयोगकर्ता ४ करोड
नेपालका पाँच दूरसञ्चार सेवाप्रदायकले करीब ४ करोड प्रयोगकर्ता पुर्याएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार दूरसञ्चार सेवाग्राही ३ करोड ९९ लाख ६५ हजार ६४३ पुगेका हुन् ।
एउटै व्यक्तिले विभिन्न टेलिकम कम्पनीको सिम प्रयोग गर्ने भएकाले जनसंख्याको १ सय ३६ दशमलव ४४ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको देखिन्छ । मोबाइल फोनको प्रतिस्पर्धात्मक भ्वाइस सेवाका कारण ग्राहकले विभिन्न कम्पनीको सिम लिने गरेका छन् । प्राधिकरणको पुस मसान्तसम्मको तथ्यांकले समेत नेपाल टेलिकम र निजीक्षेत्रको एनसेलबीच सेवामा चर्को प्रतिस्पर्धा रहेको देखाएको छ ।
प्राधिकरणका अनुसार फिक्स्ड लाइनमार्फत सेवा दिनेमा नेपाल टेलिकम मात्र छ । उक्त फिक्स्ड लाइनमार्फत भ्वाइस सेवा लिने प्रयोगकर्ता ८ लाख चारसय ६८ पुगेका छन् । त्यस्तै मोबाइलबाट भ्वाइस सेवा लिने प्रयोगकर्ता ३ करोड ९१ लाख ६३ हजार ४३३ पुगेका छन् । यसमा नेपाल टेलिकमका २ करोड १२ लाख ९४ हजार ७ सय ८९ प्रयोगकर्ता छन्, जसमध्ये ७ लाख ९७ हजार ४८४ फिक्स्ड लाइन प्रयोगकर्ता छन् ।
दूरसञ्चार सेवामा नेपाल टेलिकमलाई पछ्याउँदै एनसेल दोस्रो स्थानमा छ । पुस महीनासम्ममा उसका सेवाग्राही १ करोड ६३ लाख ७६ हजार ९०८ पुगेका छन् । पछिल्लो समय स्मार्ट टेलिकमले पनि बजार हिस्सा बढाउँदै लगेको छ । कम्पनीका अहिले १९ लाख ६३ हजार ६ सय ६६ सिम प्रयोगमा छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले दिनचर्याको सजिलोका लागि एकै व्यक्तिले दुई सिम प्रयोगमा ल्याउने भएकाले पनि मोबाइल भ्वाइस सेवा ह्वात्तै बढेको बताए । यस्तै सेवाप्रदायक कम्पनीका नयाँ नयाँ स्किमले पनि ग्राहक आकर्षित भएको उनको भनाइ छ ।
अर्को टेलिकम्युनिकेशन कम्पनी यूटीएलले अहिलेसम्म सेवाग्राही बनाउन सकेको छैन । लाइसेन्स लिएर उचित कार्य सम्पादन गर्न नसकेको भन्दै प्राधिकरण यूटीएलको लाइसेन्स खारेजीको तयारी गरिरहेको छ । नेपाल स्याटेलाइट टेलिकम (एनएसटीपीएल)का भने ३ लाख २८ हजार ५३८ सेवाग्राही छन् ।
भ्वाइस सेवामा टेलिकम अगाडि
पछिल्लो समय भ्वाइस सेवामा नेपाल टेलिकम अगाडि देखिएको छ । टेलिकमले पुस महीनासम्ममा फिक्स्ड लाइन, जीएसएम र सीडीएमएका गरी २ करोड १२ लाख ९४ हजार ७८९ जना सेवाग्राही पु¥याएको छ । टेलिकमले नयाँ नेतृत्व पाएसँगै सेवा र गुणस्तरमा पनि सकारात्मक प्रभाव परेको पाइएको छ । एनसेल भने १ करोड ६३ लाखमै सीमित छ । नेपालको सन्दर्भमा एनसेल र नेपाल टेलिकम नै सेवाग्राहीको मुख्य रोजाइमा परेका छन् ।