‘कम्युनिष्ट पार्टीबाट दलितको मुक्ति सम्भव छैन’
रेखदेख संवाददाता
फागुन १९, रुकुम ।
कम्युनिष्ट पार्टीबाट दलितकाे मुक्ति असम्भव रहेकाे भन्दै एक जना दलित नेता कांग्रेसमा प्रवेश गरेका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ६ मग्गाका रतीलाल सार्कीले माओवादी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।
आईतबार रुकुम सदरमुकाम खंलगामा आयोजित नेपाल राष्ट्रिय मगर संघको चियापान तथा भेटद्याट कार्यक्रममा उपस्थित भई सबै परिवर्तन कांग्रेसको नेतृत्वमा भएका कारण विभेदको अन्त्य पनि कांग्रेसले गरोस भनेर माओवादी त्यागेको जनाए । उनले भने, कम्युनिष्टहरुले जातीय नारा लगाएर दलितहरुलाई भ्रममा पारेको भएपनि व्यवहारमा त्यस्तो अभ्यास नभएको जनाए ।
सार्की नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट दलित मुक्ति मोर्चाका जिल्ला सदस्य हुन् ।
माओवादी त्यागेर कांग्रेसका प्रवेश गर्ने सार्कीलाई नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णबहादुर रोकाय, नेपाल राष्ट्रिय मगर संघका महामन्त्री इच्छु राणा, नेपाली कांग्रेसका सचिव गोरखबहादुर खत्री, मुसीकोट नगरपालिकाका नगर सभापति महेन्द्र केसी, दलित संघका केन्द्रिय सदस्य यज्ञ परियार, दलित संघका सभापति प्रविर ददेल लगायतले पार्टीमा स्वागत गरेको जनाएको छ ।

