व्यापारिक तनावले भारतीय निर्यातकर्ता बढी प्रभावित हुने

इस्लामावाद (पाकिस्तान) । भारत र पाकिस्तानबीच जारी व्यापारिक तनावको असर भारतीय निर्यातकर्तालाई बढी पर्ने देखिएको छ । पाकिस्तानी अनलाइन समाचार पत्रिका ‘द डन’ले व्यापारिक तनावले भारतीय निर्यात धेरै प्रभावित हुने उल्लेख गरेको छ । केही समयअघि काश्मिरको पुलवामा आक्रमणपछि दुई मुलुकबीच तनाव शुरू भएको हो ।

चालू आर्थिक वर्षको शुरूका ७ महीनामा यी दुई मुलुकको समग्र व्यापार १ अर्ब २२ करोड डलर पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ दशलमव ९६ प्रतिशत बढी हो । यसमध्ये पाकिस्तानतर्फ भारतको निर्यात ७९ दशलमव ३३ प्रतिशत थियो । पाकिस्तानतर्फ भारतको निर्यात २ दशमलव ११ प्रतिशत बढ्दै ८९ करोड डलर पुगेको छ । पाकिस्तानको आयात व्यापार भारतबाहेक अन्य मुलुकसँग घटेको छ ।

पाकिस्तानको भारततर्फ हुने निर्यात भने सो अवधिमा १७ प्रतिशत बढ्दै २३ करोड १९ लाख डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पाकिस्तानले भारततर्फ यो १९ करोड ८० लाख डलरबराबरको निर्यात गरेको थियो । भारतसँगको व्यापारमा पाकिस्तानको निर्यात आयातभन्दा आधा कम छ । यो व्यापारिक तनावको असर भारतलाई बढी पर्न सक्ने बताइएको हो ।

पुलवामा आक्रमणपछि भारतले पाकिस्तानलाई अतिसौविध्य प्राप्त मुलुकको सूचीबाट हटाएको छ । साथै, पाकिस्तानी सामग्रीमा २ सय प्रतिशतको आयात कर लगाउने निर्णय गरेको छ । पाकिस्तानले भने अहिलेसम्म भारतबाट हुने आयात रोक्न कुनै योजना ल्याएको छैन । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *