स्टिभ जब्सले सिकाएका तीन पाठ

वाशिङ्टन डीसी (अमेरिका) । प्रविधि जगत्मा स्टिभ जब्स नौलो नाम होइन । एप्पलका सह–संस्थापकमध्ये एक जब्स जीवित हुन्थे भने आज उनी ६४ वर्षमा पुग्थे । स्टिभ वुज्नियकसँग मिलेर जब्सले कम्प्युटर र फोनको मात्रै होइन म्युजिक प्लेएर र डिजिटल ट्याबलेटको समेत मुहार फेरे । उनी निकै प्रतिभाशाली थिए र उत्तिकै सफल पनि । तर, अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका हाकिमका रूपमा कर्मचारीका लागि भने उनी निकै कठोर थिए । उनीबाट धेरैले व्यवसाय कसरी चलाउने भन्ने पाठ सिक्न सक्छन् । उनले सिकाएकामध्ये महत्त्वपूर्ण तीन पाठ निम्नानुसार छन् :

विश्वास
जब्स सधैं आफ्नो मन र अन्तज्र्ञानलाई पछ्याऊ भन्थे । यो अभिव्यक्तिलाई उनले आफ्नो व्यवहारमै उतारेका थिए । मात्रै २१ वर्ष हुँदा उनले एप्पल शुरू गरे । आफूले स्थापना गरेको कम्पनीबाट निकालिए । एनिमेशन स्टुडियो पिक्सार खोले । तर, जब एप्पल टाट पल्टिने अवस्थामा पुग्यो यसको उद्धारका लागि १ दशकपछि उनी फेरि कम्पनीमै आए । एप्पलमा उनको यात्रा सहज थिएन । उनको विचार अनि अवधारणामा कसैले पनि विश्वास गरेका थिएनन् । तर उनलाई भने यसमा पूर्ण विश्वास थियो । अन्ततः उनको विश्वासले जित्यो । उनले परिकल्पना गरेको आईपोड, आईप्याड, आईफोनले अहिले आधुनिक क्रान्तिको उद्विकासलाई डो¥याइरहेको छ ।

आफूलाई जे मन पर्छ, त्यही गर
‘मानिस कि त विचारले चलिरहेको हुनुपर्छ, कि समस्याले वा गल्ती नसुधारी नछाड्ने चाहनाले । कुनै पनि कुरामा शुरूदेखि नै लगाव देखाइएन भने मानिस केहीमा पनि टिक्न सक्दैन,’ भन्ने धारणा जब्सको थियो । लगावले नै अन्ततः परिणामतर्फ डोर्‍याउँछ भन्ने सोच्थे जब्स । तर, अहिले तीव्र गतिमा परिवर्तन भइरहेको संसारमा मानिस आफ्नो लगाव भुलेर पैसाको पछि दौडिरहेका छन् । पैसा नै अहिलेका मानिसका लागि सबै चीज हो । तर, जब्सको सोचाइ निकै फरक थियो । ‘आफूलाई जे गर्न मन पर्छ, त्यही गर्नुपर्छ,’ उनी भन्थे । र, यो नै राम्रो काम गर्ने एउटै तरीका भएको उनको बुझाइ थियो ।

गुणस्तरको महत्त्व
हरेक वस्तुको गुणस्तर सधैं एकैनास हुनुपर्छ भन्ने सोच जब्सको थियो । यसको निकै महत्त्व छ । जब्सले एप्पल लञ्च गर्दा पनि यो कथन उत्तिकै महत्त्वपूर्ण थियो र आज पनि छ । उनीबाट सिक्ने व्यवसायसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको उपभोक्ताले के चाहन्छन् भन्ने बुझ्नु र त्यस्तैखालको वस्तु र सेवा दिनु हो । कामका मामिलामा जब्स निकै कठोर थिए । उनीसँग काम गर्नु त फलामकै चिउरा चपाउनुसरह थियो । तथापि एप्पलका कर्मचारी उनीसँग काम गर्ने अनुभव गुमाउँदैनथे । पूर्णताका लागि अथक प्रयास गरेपछि मात्रै सफलता पाइन्छ भन्ने विश्वास जब्सको थियो । उनको यो सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *