अमरेशको आक्रोश- सरकारमा राष्ट्रियताको भावना छैन, नर्थ कोरिया बनाउन खोज्दैछ

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले देशलाई उत्तर कोरियाको पथमा लैजान खोजेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सरकारको नियतमा खोट भएको टिप्पणी गरे।

उनले भने, ‘मधेसी, जनजाति, दलितलाई बुट बजार्न खोजेको छ। आजसम्म मरेको इतिहास हेर्नुस्, जहिले पनि गरिब मरेको छ। कुनै पनि राणाको, शाहको, क्षेत्रीको, बाहुनको छोरा मरेको छैन। राष्ट्रियताको भावना त सरकारमा छैन।’

उनले युवाहरूलाई विदेश जान रोक्न सरकारले नसकेको बताए।

उनले थपे, ‘जानेले छाने भन्छ नि, आफ्नो मान्छे नियुक्ति गरेको छ। यो सरकार आएदेखि समावेशिता र संविधानको धज्जी उडेका छन् । यो मेरो कुनै उत्तेजना होइन । मैले जुन भूगोलको प्रतिनिधित्व गर्छु, त्यहीको नगरे त कसले गर्ने ? नेपाललाई मैले त एकचोटी भनेको थिएँ कि पाकिस्तान बनाउन खोज्दै थियो । मलाई त्यहाँ मेरो आफ्नै मूल्याङ्कन गलत भएछ । यसलाई नर्थ कोरिया बनाउन खोज्दै छ ।’

उनले आफ्नो ५६ वर्षको अनुभव सुनाउँदै मधेस वा थारुहट आन्दोलनमा सधैँ गोली चलेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *