निस्साको किस्सा : कांग्रेसलाई फुट्ने वा जुट्ने अन्तिम मौका !

काठमाडौं । विभाजनको संघारमा रहेको नेपाली कांग्रेसको आन्तरिक विवाद अन्तिम पटकका लागि अदालत प्रवेश गरेको छ । सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशनलाई वैधानिकता दिनेगरी भएको फैसला पुनरवलोकन गर्न निस्सा प्रदान गरेसँगै कुांग्रेस किचलो फेरी ‘न्यायिक निरुपण’ को प्रश्न बन्न पुगेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोज शर्मा एवं न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले मद्दा पुनरवलोकनका लागि प्राप्त निवेदनलाई निस्सा दिन आदेश गरेको छ । योसँगै कांग्रेसको विशेष महाधिवेशनको वैधतासम्बन्धी प्रश्न फेरि एकपटक अदालत प्रवेश गरेको छ ।

विशेष महाधिवेशनमा सहभागी नभएको संस्थापनइतर समूहले साउन २९ गते राष्ट्रिय भेला आयोजना गरेको छ । सो भेलाबाट कांग्रेस विभाजनको औपचारिक निर्णय हुने आँकलन गरिएका बेला शेरबहादुर देउवाले दिएको पुनरवलोकन निवेदनले निस्सा पाएपछि कांग्रेसको विभाजन भने लम्बिने देखिन्छ ।

विशेष महाधिवेशनका ७ महिना

नेपाली कांग्रेसले विशेष महाधिवेशन सम्पन्न गरेको साउन मसान्तमा ७ महिना पुग्दैछ । गत पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको थियो । विशेष महाधिवेशनले विधान संशोधन, कार्यसमिति चयन तथा सामाजिक लोकतन्त्रलाई पार्टीको मुख्य सैद्धान्तिक कार्यक्रम बनाउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचनको समय चापबीच गत माघ १ गते निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिँदै विवरण अद्यावधिक गरेको थियो । यसविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रीट निवेदन दिएपनि चुनावघि फैसला हुन सकेन । फागुनको निर्वाचनमा सभापति गगन थापाकै हस्ताक्षरमा असन्तुष्ट समूहका समेत नेताहरुले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएका थिए ।

निर्वाचनमा कमजोर प्रदर्शन गरेको कांग्रेसले असोजमा १५ औँ महाधिवेशन गर्ने तयारी गरेको थियो । विशेष महाधिवेशनमा सहभागि नभएको पक्षले क्रियाशील सदस्यता अद्यावधिकलाई अस्वीकार गर्दै पार्टीभित्र सम्मानजनक भूमिका खोजेको थियो । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको समायोजनदेखि महाधिवेशनको निष्पक्षता लगायतका विषयमा जारी विवाद हल हुन सकेको थिएन ।

बितेको सात महिनामा संगठनका आन्तरिक अभियानमा व्यस्त कांग्रेसलाई विवादले गिजोलिरहेकै थियो । सर्वोच्च अदालतले विशेष महाधिवेशनको वैधता पुनः परिक्षण गर्ने भएपछि संस्थापन इतर पक्षले राहत महसुस गरेको छ । सुनुवाइ हुँदै फैसलासम्मका लागि केही समय लाग्ने भएकाले कांग्रेसको दुवै पक्षलाई मेलमिलापको अवसर पनि हुनसक्ने देखिन्छ ।

अब मेलमिलाप कि थप विवाद ?

संस्थापनइतर पक्षका लागि पुनरवलोकनको निस्सा अन्तिम मौका हो । पुनरवलोकनबाट माग स्थापित नभएमा सो समूहका लागि विभाजन अपरिहार्य बाध्यता बन्नसक्छ । त्यस्तै बाध्यता बितेको सात महिना पार्टीलाई नेतृत्व दिएको संस्थापन पक्षका लागि पनि छ । पुनरवलोकनमा निवेदक पक्षले जितेमा सानेपा छाड्नुपर्ने अवस्था बन्न सक्छ । विभाजन दुवै कांग्रेसका लागि अप्रिय विषय हो भने मेलमिलापको वास्तविक पहल यही अवधिमा हुनसक्छ ।

कांग्रेसको वैधतासम्बन्धी मुद्दामा बहस गरेका एक वरिष्ठ अधिवक्ता पुनरवलोकनको निस्सालाई कांग्रेस सभापति गगन थापाको शिरमाथि सर्वोच्चले राखिदिएको तरबारका रुपमा लिन्छन् । मुद्दाको भविष्यवाणी गर्न नसकिने भन्दै उनले एकताका लागि कांग्रेसले अन्तिम मौका पाएको बताउँछन् ।

‘यतिबेला मुद्दा पुनरवलोकन हुनु भनेको पार्टीलाई नेतृत्व गरिरहेको व्यक्तिको शिरमा तरबार झुण्डिनु हो । यदि कांग्रेसीहरु एकता नै चाहन्छन् भने सबैको इगो सेटल गर्ने मौका हो । फैसला आएपछि त तिक्तता अझ बढ्नसक्छ’, ती वरिष्ठ अधिवक्ताले भने ।

सर्वोच्च अदालतमा विशेष महाधिवेशनको वैधतामाथिको सुनुवाई फेरी सुरु हुने नै छ । पक्ष विपक्षमा बहस पनि हुनेछ । तर, अदालतको फैसलाले कांग्रेसको कलह मेट्न सक्दैन भन्ने यथार्थ निकट अतीतले प्रमाणित गरिसकेको छ । गत बैशाख ४ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने फैसला गरेको थियो ।

कानुनी लडाइँ सकिए पनि कांग्रेसको किचलो सकिएको थिएन । त्यसैले कांग्रेसको एकता कानुनी लडाइँमा नभएर आपसी संवादमा अडिएको छ । विगत केही समययता जारी संवादहीनतालाई तोडेर दुवै पक्ष सहमतिमा आउने सम्भावना भने न्यून छ ।

‘मेलमिलापका लागि त सधैँ अवसर छँदैछ नि तर कांग्रेसमा यतिबेला इँटको जवाफ पत्थरले दिने प्रतिस्पर्धा चलेको छ । त्यसैले अदालतबाहिरै कुरा मिल्छ जस्तो लाग्दैन’, कांग्रेसका एक पदाधिकारीले भने । उनले पार्टीको विषय पटक पटक अदालतमा पुर्याउनुले नै एकतामा बाधा गर्ने बताए ।

फर्कँदै देउवा

गत फागुनमा स्वास्थ्य उपचारका लागि सिंगापुर हुँदै हङकङ पुगेका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साता नेपाल फर्कदैछ । साउन २६ गते उनी नेपाल फर्कने र राजनीतिक भेटघाट थालनी गर्ने निकट नेताहरुको भनाइ छ ।देउवाको स्वदेश फिर्ता र सर्वोच्चको निस्सा दुवैले कांग्रेसको संस्थापनइतर समूहलाई राहत दिएको । यद्यपि देउवा आफैँँले सर्वोच्चमा पुनरवलोकनका लागि निवेदन दिएको हुँदा उनकै अग्रसरतामा पार्टी विवाद मिल्ने सम्भावना भने गौण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *