एनफोर्डद्वारा दुईदिने शिक्षक तालिम कार्यशाला सम्पन्न
रेखदेख संवाददाता
बैशाख १३, रुकुम (पश्चिम) । पोखराको फुलबारीमा अवस्थित भास्कर मेमोरियल स्कुलको सभाहलमा दुईदिने शिक्षक तालिम कार्यशाला सम्पन्न भएको छ । वैसाख १० र ११ गते उक्त कार्यक्रम भएको थियोे ।

एनफोर्स्ड फाउन्डेसनको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाले गरेका थिए भने उद्घोषण संस्थाका सचिव शशिधर बडालले गरेका थिए । शिक्षक तालिम कार्यशालामा विभिन्न निजी विद्यालयमा अध्यापनरत करिब ७० जना शिक्षकहरूको उपस्थिति रहेको थियो । निवर्तमान अध्यक्ष तिमिल्सिनाले सामुदायिक विद्यालयमा बेलाबेला विभिन्न शिक्षक तालिम भए पनि निजी विद्यालयमा यस्ता तालिमको अभाव महसुस भएर केही विद्यालयहरू मिलेर एनफोर्ड फाउन्डेसन स्थापना गरेको र यसै संस्था मार्फत अहिले विभिन्न जिल्लाका विद्यालयहरूमा आवश्यक शिक्षक तालिम प्रदान गरिरहेको बताए ।
शिक्षक तालिम कार्यशालाको दुई दिने कार्यक्रममा प्रमुख सहजकर्ताको रूपमा शिक्षा महाशाखाका प्रेम पोखरेल रहेका थिए । अत्यन्त सरल, सहज र प्रभावकारी तरिकामा उनले पहिलो दिन कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम परियोजनाको सेरोफेरोमा कार्यक्रम सञ्चालन गरेका थिए ।
दोस्रो दिन अघिल्लो कार्यक्रमको प्रभावमा शिक्षक सहभागी केही बढेको पनि थियो । दोस्रो दिनमा शिक्षा महाशाखाका प्रेम पोखरेलले कक्षा ४ र ५ को पाठ्यक्रमका आधारभूत परियोजनामा निकै प्रभावकारी उदाहरण दिएर कार्यक्रमका सहभागीलाई आफुतिर केन्द्रीत गर्न सफल भएका थिए । दुई दिने कार्यशाला तालिममा शैक्षिक परियोजनामा विद्यार्थीलाई कसरी पढाउने, विद्यार्थीको मनमा पढाइ र सिकाइमा कसरी अभिरुचि रहन्छ ? र विद्यार्थीको समग्र पढाइको मूल्यांकन कसरी गर्दा विद्यार्थीलाई न्यान हुन्छ ? भन्ने कुरा सहभागीलाई सिकाइएको थियोे ।
डच साझेदार इसा, फेन्के र सहजकर्ता आश्मा रन्जितले पनि उक्त दुईदिने कार्यशाला तालिममा सहजकर्ताको भूमिका खेलेका थिए । पहिलो दिनको मध्यभागमा करिब ४५ मिनेट शिक्षा क्षेत्रमा गठनात्मक (Formative) र समापनात्मक (Summative) मूल्याङ्कनको महत्वपूर्ण भूमिका बारे सिकाइको थियो । सहजकर्ता आश्माले इसा फेन्केको कार्यक्रमको भाषा सहजीकरण गर्दै भनिन् -‘ठनात्मक मूल्याङ्कनले सिकाइको क्रममा विद्यार्थीको प्रगति बुझ्न र सुधार गर्न सहयोग पुर्याउँछ भने समापनात्मक मूल्याङ्कनले पाठ्यक्रमको अन्त्यमा समग्र उपलब्धि मापन गर्छ। यी दुवै प्रकारका मूल्याङ्कनले शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी बनाउन र विद्यार्थीको क्षमता विकासमा सहयोग पुर्याउँछन्।’
दोस्रो दिनको शुरुआतमा इसा, फेन्के र आश्माको टिमले विद्यार्थीको क्षमताअनुसार शिक्षण विधिको अनुकूलन – EDI मोडेल (EDI Model) प्रस्तुत गरेको थियोे । जसमा विभेदीकरण (Differentiation) को बारेमा कार्यक्रम सञ्चालन भयो । यो विधामा खास गरेर विभिन्न स्तरका विद्यार्थीहरूका लागि फरक–फरक गतिविधि तयार गर्नु, सजिलो, माध्यम र चुनौतीपूर्ण कार्यहरू दिनु रहेको थियोे । यो विधिले कक्षामा रहेका कमजोर विद्यार्थीका लागि सरल अभ्यास गर्न मद्दत गर्ने र सक्षम विद्यार्थीका लागि थप चुनौतीपूर्ण कार्यगर्न लगाउनु रहेको सहजकर्ताले बताएका थिए ।
शिक्षा महाशाखा तथा तालिम केन्द्र दमौलीका प्रशिक्षक प्रेम पोखरेल र पाहुना सहजकर्ताको कार्यक्रम निकै भव्य रहेको थियोे ।

