नेपाली काँग्रेस महाधिबेशनः रुकुम काँग्रेसको सभापतिमा को बन्ला ?
प्रविर ददेल
मंसिर २२, रुकुम पश्चिम । नेपाली काँग्रेसको १५ औं महाधिबेशनको माहोल तातिन थालेको छ । नेपाली काँग्रेस केन्द्रिय समितिको मंसिर १५ गतेको निर्णय अनुसार पुस महिना भित्र सबै तहको निर्वाचन सक्ने गरी कार्यतालिका सार्वजनिक भएपछि नेपाली काँग्रेस रुकुम पश्चिममा पनि चुनावी माहोल तातिएको हो ।

चुनावी माहोल सुरु भएसंगै दोस्रो तथा तेस्रो पुस्ताका नेताहरुले सभापति पट्काउने दाउमा रहेका छन् । विशेषगरी पहिलो पुस्ताका नेता गोपाल जीजंग शाह, मानबबहादुर नेपाली, कृष्ण बहादुर रोकाय र प्रेमप्रकाश ओली नेपाली काँग्रेस जिल्ला सभापतिको रिङ बाहिर रहेपछि दोस्रो र तेस्रो पुस्ताका नेताहरु सलबलाउन थालेका हुन् ।
पहिलो पुस्ताको अपेक्षा के छ ?
नेपाली काँग्रेसका लोकप्रिय नेता तथा पुर्व राज्यमन्त्री गोपाल जि जङ्ग शाह नेपाली काँग्रेस रुकुम पश्चिमको अभिभावक रुपमा मानिनुहुन्छ । उहाँको केन्द्रीय राजनीतिमा चासो छ । त्यस्तै नेपाली काँग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपाली पनि नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा सहभागी भएकोले उहाँको दाउ केन्द्रमै छ । त्यस्तै नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री, राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेत कृष्णबहादुर रोकाय कर्णाली प्रदेश महामन्त्री भएकाले उहाँ पनि प्रदेश वा केन्द्रीय राजनीतिमा चासो रहेको छ । त्यस्तै नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओली जिल्लामा २ पटक सभापति भएकाले नेपाली काँग्रेसको विधानले समेत सभापति बन्न रोकेपछि केन्द्र वा प्रदेशको राजनीतिमा लाग्ने सम्भावना छ । पहिलो पुस्ताका नेताहरुले प्रदेश वा केन्द्रमा कुन पदमा उम्मेदवारी दिने कुनै घोषणा गर्नु भएको छैन । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार पुस १६ गते देखि गाउँ÷वडा पुस १७ गते गाउँ÷नगरपालिका अबिधेशन, पुस १९ गते प्रदेश सभा क्षेत्रीय अबिधेशन, पुस २१ गते प्रतिनिधी सभा क्षेत्रीय अबिधेशन र जिल्ला अबिधेशन हुनेछ ।
जिल्लाका को बन्ला सभापति ?
प्रतिनिधी सभा एक मात्रै क्षेत्र भएको रुकुम पश्चिम जिल्लाको ८ औं अबिधेशन पुस २१ गते हुने भएसँगै जिल्लाका दोस्रो र तेस्रो पुस्ता सभापति हत्याउने दाउमा छन् । नेपाली काँग्रेस जिल्ला सभापतिमा पुराना नेता नहुँने भएपछि को सभापति बन्छ भन्ने सबैतिर चासोको विषय बनेको छ । नेपाली काँग्रेस रुकुम पश्चिमका वर्तमान दुई जना उपसभापतिहरु सुरतजंग मल्ल र हर्कसिंह खत्री सभापति लाईनमा हुनुहुन्छ । उहाँहरु बर्तमान उपसभापति भएकोले जिल्लाको सभापति बनेर नेपाली काँग्रेस रुकुम पश्चिमलाई हाक्न तयार रहेको जनाउनु भएको छ । उनी जस्तै नेपाली काँग्रेसका प्रदेश सभा ‘क’ का सभापति तथा मुसीकोट नगरपालिका मेयर महेन्द्र केसी पनि सभापतिको दौडमा हुनुहुन्छ ।उहाँ बलियो उम्मेदवारको दाबी गर्नु भएको छ ।
त्यस्तै नेपाली कांग्रेसका पुर्व सचिव तिलक भण्डारी, पूर्व उपसभापति धिरेन्द्र बटाला पनि सभापति बन्ने दाउमा हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारी, सह–सचिव यज्ञबहादुर बिष्ट, कोषाध्यक्ष मोहबिर खड्का, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी तथा युवा नेता खड्क डाँगी, युवा नेता शिव आचार्य, तरुण दलका अध्यक्ष लोकेन्द्र केसी पनि सभापति बन्नको लागि दौडधुप सुरु गरिसक्नु भएको छ । दोस्रो र तेस्रो पुस्ताका नेताहरुले सभापतिको लागि आफू बलियो उम्मेदवार रहेको घोषणा गर्नु भएको छ ।
पछिल्लो पटक जेनजी आन्दोलनबाट उत्पन्न राजनीतिक घटना क्रमलाई बिश्लेषण गर्ने हो भने युवा पुस्ताको हाबी हुने देखिन्छ । तर वडा अबिधेशनले युवाहरु सहभागिता कतिको सुनिश्चिता गर्छ त्यसले पनि सभापति को बन्छ भन्ने आंकडा निकाल्न सकिनेछ । निर्धारित मितिमा नेपाली काँग्रेसको अबिधेशन सम्पन्न होस, जिल्लाको नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको मर्म भावना अनुसार काम गर्ने नेता सभापति बनाउन यसपटकको अबिधेशन रोचक रहनेछ । त्यस्तै पहिलो पुस्ताका नेताहरु गोपाल जिजङ्ग शाह, मानबहादुर नेपाली, कृष्णबहादुर रोकाय र प्रेमप्रकाश ओलीको कुन नेताहरुले कसलाई अघि सार्नुहुन्छ त्यो पनि हेर्न बाँकी छ ।

