आठविसकोट नगर अस्पताललाई साढे दुई लाखको सोलार ब्याट्री हस्तान्तरण
मंसिर २१, रुकुम पश्चिम । आठविसकोट नगर अस्पताललाई झण्डै साढे दुई लाखको सोलार ब्याट्री हस्तान्तरण गरिएको छ । आइपास नेपाल र रुकुमेली समाज विकास केन्द्र, रुकुम पश्चिमको साझेदारीमा सञ्चालन भइरहेको “नेपालमा यौन तथा प्रजनन स्वास्थ्यमा दिगो सबलीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रर्णाली परियोजना” अन्तर्गत आठविसकोट नगर अस्पताललाई २ लाख ४९ हजार रुपैया बराबरको सोलार ब्याट्री हस्तान्तरण गरिएको हो ।

आईतबार एक कार्यक्रमको आयोजना गरि सोलार ब्याट्री हस्तान्तरण गरिएको छ । रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशन कुमार क्षेत्रीयालले आठविसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाहीलाई मार्फत नगर अस्पतालका निमित्त प्रमुख धन्नजय रिजाललाई सोलार ब्याट्री हस्तारण गरिएको हो ।
कार्यक्रममा बोल्दै आठबिसकोट नगरपालिकाका उप–प्रमुख धन कुमारी शाहीले आइपास नेपाल र रुकुमेली समाज विकास केन्द्रले विपद् व्यवस्थापन, जीविकोपार्जन तथा स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउँदै आएको बताएकी छिन् ।
उनले आगामी दिनमा पनि यस्ता प्रभावकारी सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरिन । आठविसकोट नगरपालिकाले पनि २ लाख रुपैया बराबरको अतिरिक्त सोलार ब्याट्री खरिद गर्ने तयारी भइरहेको जानकारी दिएकी छिन् ।
पहिले वैकल्पिक उर्जा स्रोत उपलब्ध नहुँदा दैनिक स्वास्थ्य सेवा प्रवाहमा धेरै चुनौती आउने गरेको अस्पतालले जनाएको छ । सोलार ब्याट्री उपलब्ध भएपछि स्वास्थ्य सेवाप्रबाहमा सहज र प्रभावकारी हुने नगर अस्पताल निमित्त प्रमुख धन्नजय रिजालले जनाएका छन् । हस्तान्तरण कार्यक्रममा आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम,जनस्वास्थ्य अधिकृत प्रकाश केसी, रुकुमेली समाज विकास केन्द्रका सचिव प्रविर ददेल, सदस्य कमल शाह, कार्यक्रम अधिकृत केशर डिसीलगायतको उपस्थित रहेको थियो ।

