आगामी आर्थिक वर्ष २०८०÷०८१ मा रुकुम पश्चिममा झण्डै साढे २ अर्ब बजेट
रेखदेख संवाददाता
जेठ २२, रुकुम । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गत जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट प्रस्तुत गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको बताएको छ । सरकारले चालू आर्थिक वर्ष २०७९÷८० को भन्दा ४२ अर्ब कम बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट संसदमा प्रस्तुत गर्दै चालु तर्फ ११ खर्ब ४१ अर्ब ८८ करोड (६५.२० प्रतिशत) पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड (१७ प्रतिशत), वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १.३७ प्रतिशतले बढी हो ।
रुकुम पश्चिममा झण्डै
साढे २ अर्ब बजेट
रुकुम पश्चिम जिल्लामा आगामी आर्थिक वर्षमा झण्डै साढे २ अर्ब बजेट विनियोजित गरेको छ । रुकुम पश्चिमका ६ वटा स्थानीयतहमा आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु.२ अर्व २२ करोड ६३ लाख रुपैयाँ विनियोजित गरेको छ । जसमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शिर्षकमा उक्त परिमाणको बजेट जिल्ला आउने भएको हो । चालू आर्थिक वर्ष २०७९÷०८० को तुलनामा आगामी आर्थिक वर्ष २०८०÷०८१ मा रु. ४१ करोड कम बजेट जिल्लामा आउने भएको छ । चालू आर्थिक वर्ष २०७९÷०८० मा रुकुम पश्चिमका ६ वटा स्थानीयतहरुमा २ अर्ब २६ करोड ७४ लाख बजेट जिल्लामा आएको थियो ।
तीन नगरपालिका र तीन गाउँपालिका रहेको रुकुम पश्चिममा सबै भन्दा बढी बजेट मुसीकोट नगरपालिका र सबैभन्दा कम बजेट बाँफिकोट गाउँपालिकाको लागि विनियोजन गरिएको छ । मुसीकोट नगरपालिकाले आगामी वर्षका लागि संघीय सरकारबाट कुल रु. ४९ करोड १ लाख रुपैयाँ पाउने छ ।
त्यस्तै आठबीसकोट नगरपालिकाका लागि रु.३८ करोड ७३ लाख, चौरजहारी नगरपालिकाका लागि ३७ करोड ५३ लाख, त्रिवेणी गाउँपालिकाका लागि ३३ करोड ३४ लाख, सानीभेरी गाउँपालिकाका लागि ३२ करोड २५ लाख र बाँफिकोटले ३१ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको अर्थ प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा रुकुम पश्चिमको मुसीकोटमा नगरपालिकामा सबैभन्दा वढी बजेट पठाएको थियो । भने सबैभन्दा कम बजेट बाँफिकोट गाउँपालिकामै रहेको थियो । चालु वर्षका लागि संघीय सरकारले मुसीकोटमा ५४ करोड ८४ लाख, आठबीसकोटमा ३८ करोड ३५ लाख, चौरजहारीमा ३७ करोड ७० लाख, त्रिवेणीमा ३३ करोड ४२ लाख, सानीभेरीमा ३१ करोड २३ लाख र बाँफिकोटमा ३१ करोड २० लाख बजेट विनियोजन गरेको थियो ।