जनयुद्ध दिवसको शुभकामना

उपेन्द्रलाल कामी ।

गरिब   दुखीको आशा जगाएर
उत्पीडित वर्गको सवाल उठाएर
साम्यवादको सपना देखाएर
क्रान्ति यात्रामा हिडाएको दिन
भुइँमान्छेहरुलाई हतियार उठाउन
वर्ग बैरीले बाध्य पारेको दिन
हेर्ने दृष्टिकोण भएपनि फरक
बाउन्न सालको फाल्गुन एक
ऐतिहासिक युगान्तकारी परिघटना
जनयुद्ध दिवसको शुभकामना !

प्रतिक्रियावादी शक्ति स्वार्थको चक्रब्युहमा
क्रान्ति नायकहरु फसेपनि
कुर्सीसंग हतियार र एजेन्डा साट्दै
शहीदको रगतसंग सौदा गरेपनि
बेपत्ता योद्धाहरुलाई भुल्दै गएपनि
घाइते-अपांगलाई वेवास्ता गरेपनि
द्वन्द्वपीडितलाई नै पीडा दिएपनि
क्रान्तिकै बन्ध्याकरण गरिदिएपनि
बिर्सनै नसकिने दसबर्से द्वन्द्वको घटना
जनयुद्ध दिवसको शुभकामना !

कोही पार्टी फुटाएर टुक्राटुक्रामा
कोही साथी छुटाएर अलपत्रमा
कोही इतिहास भजाइ स्वार्थको रोटी सेक्दै
बाघको छालामा स्यालले रजाइँ गरेझैं
कोही सतीदेवीको सडेको लास बोकी
महादेवले गरेको प्रेमको पागलपन झैं
एउटै गन्तव्य यात्राका सहयात्रीहरु
कोही अालिशाज महलमा सुख भोग गर्दा
कष्टकर जीवन जिउन बाध्य छन् धेरै
समानताको सिद्धान्त बोकेको पार्टीबाट नै
असमान ब्यवहार झेल्न बाध्य पारिएपनि
सम्झेर कोही खुसी कोही दुखी हुने घटना
जनयुद्ध दिवसको सबैलाई शुभकामना !
२०७९ फाल्गुन १ गते रुकुमकोट रुकुम (पुर्व )

Leave a Reply

Your email address will not be published. Required fields are marked *