जनयुद्ध दिवस र केही नमिठा घटनाहरुको स्मरण
माेहन आचार्य । सरकारले आज फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा बिदा दिने निर्णय गरेको छ l बिगतका दिनहरुमा जनयुद्ध दिवस मनाउने या नमनाउने बिसयमा बिबाद थियो भने यो बर्ष बिदाको बिषयमा त्यस्तै विवाद देखिएको छ । बृहत शान्ति सम्झौता र त्यसपछिका राजनीति घटनाक्रम हेर्दा राजनीतिक इमान्दारीताको लागि पनि जनयुद्धलाई कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्ने देखिन्छ । यस बिषयमा देखिएका विवादको पक्ष विपक्षमा लाग्ने जिम्मा राजनीति गर्नेहरुलाई नै छोडेर आज भने म एक रुकुमेली नागरिकको हैसियतले आफैले भोगेका र देखेका केही नमिठा घटनाको स्मरण गर्न चाहान्छु ।
घटना १: प्रहरी चौकिको भय !
बिद्यालय र हाम्रो घरको बिचमा प्रहरी चौकी थियो । हरेक दिन बिद्यालय जादा आउदा प्रहरी चौकी पार गर्नुपर्ने बाध्यता थियो । हामी अबोध बालबालिकालाई युद्धको बारेका केही थाह थिएन तर हामिले अनेक प्रताडना बेहोर्नु परेको थियो । सुरक्षाको महसुस गर्नुपर्ने प्रहरीबाट नै अनेक खालका तनाब सहनुपर्ने अबस्था थियो । यसबाट युद्धको वेला राज्यले संबेदनसिलता देखाउनुपर्छ भन्ने कुराको बोध अहिले भएको छ ।
घटना २: अभिभावकिय नेतृत्व गुमाउदाको पीडा
२०५१ साल भाद्र १७ गते बिद्रोहीबाट गणेश शाहको हत्या भएछ । मुसलधारे पानी परिरहेको मध्य रातको १२ बजे खबर ल्याएर कट्वाल फुवाजु आउनुभयो र बुवालाई समेत बोलाएर लग्नुभयो । आमा र सानो भाइबहिनीलाई छोडेर बुवा निस्कदा हामिले रातभर नसुतेर बितायौ । भोलिपल्ट उहाँको शबयात्रामा देखिएको दु:खद क्षण मेरो बालमस्तिष्कमा अमिट छाप झै बसेछ । अहिले पनि उस्तै ताजा छ ।
घटना ३: ठुलाबुवाको आँखाका तेजाब हालिएको त्यो रात
गोपाल प्रसाद शर्मा शिक्षण पेशा छोडेर राजनीतिमा लाग्नुभएको थियो । राजनीतिमा पक्ष बिपक्ष सामान्य कुरा होलान् तर उहाको आखामा तेजाब हालेर उहामाथी गरिएको बर्बरता भुल्न नसकिने खालको थियो । त्यो पनि झुटा आरोपमा ! रातभर कुकुर भुके । बन्दुक पड्किए । नाराबाजी भयो । नजिकै घर भए पनि जान सक्ने आट आएन । भोलिपल्ट बिहान त्यहा पुग्दा उहाँको त्यो दु:खद अवस्था देखियो । त्यसयता अनेक राजनीतिका सप्तरङ्गी खेलहरु भित्री आँखा बाट हेरिरहनु भएको छ । उहालाई अहिले कस्तो महसुस हुदो हो ? म कल्पना मात्र पनि गर्न सक्दिन । राजनीतिमा त्यो अराजनीतिक कर्मको बिस्लेशन यहाहरुकै जिम्मामा छ ।
घटना ४: दुई गुरुको हत्या
चन्द्रबहादुर ओलि मेरो आगन जोडिएको छिमेकी हो ! उहाँ एक कुशल शिक्षक पनि हो । मलाई पढाइमा सधै हौसला दिनुहुन्थ्यो । मेरो बुवाले मेरो पढाईको बारेमा उहाबाटै जानकारी लिनुहुन्थ्यो । उहाँ गाउकै एक खम्बा बन्नुभएको थियो । बिद्रोहलाई सहयोग गरेको नाममा राज्य पक्षबाट उहाको हत्या भएछ ! उहाँको हत्या भएको खबरले कैयौं दिनसम्म हामिलाइ बेचैनी भयो । अहिलेसम्म भैरहेको छ । त्यस्तै अर्को एक गुरु हुनुहुन्थ्यो यज्ञ हमाल । कसैले कबिता बाचन गरेको सुनेमा म उहालाइ सम्झन्छु । मीठो आवाज र गद्द्शैली अहिलेपनी कानमा गुन्झिन्छन । उहाले एक अमिट छाप छोडेर जानुभएको छ । बिनाकारण राज्य पक्षबाट उहाको निर्मम हत्या भएको थियो । यति लेख्दै गर्दा उहाहरुको अनुहार अगाडी आइरहेको छ ।
घटना ५: बिद्यालय नै युद्धस्थल बनेको त्यो दिन
साहेद म कक्षा ८ म पढ्थे होला ! बिद्रोहि पक्षबाट सम्पुर्ण शिक्षकको अपहरण भयो ! करिब २५० मिटर टाढा रहेको प्रहरी चौकीबाट गोलिको वर्षा हुन थाल्यो ! एकाएक बिद्यालय युद्ध स्थलमा परिणत भयो ! हामिले चिच्याउदै बेन्चको मुनि टाउको लुकाएर बाच्यौ ! करिब दुई घन्टा तनाब भयो ! पछि शिक्षकहरु मुक्त हुनुभयो र बिद्रोहीहरु भागे !
घटना ६: म आफै पक्राउ परेको त्यो कहालीलाग्दो घटना
त्यसबेला फलामे ढोका मानिने एस एल सि परीक्षा सेनाको ब्यारेक भित्र हुन्थ्यो ! सदरमुकाम पुग्न ८/९ घन्टाको कठिन पैदल यात्रा गर्नुपर्ने थियो ! बस्ने कोठा बनाउन जानेक्रममा बाटोमै म पक्राउ परे ! खासमा मैले कक्षा नौ देखि मेरो नाम मान प्रसाद बाट मोहन प्रसाद बनाएको थिए ! साथिहरुको मुखमा बोलाएकै नाम फ्याट्ट आयो त्यै भन्दिनु भयो ! परिचयपत्र हेर्दा नमिलेपछि म पक्राउ परे ! त्यो उमेर र ज्ञानमा दिएको परिपक्व बयान तथा साथीहरू र नन्द दाइ लगायतको प्रयासमा म छुटे ! मैले दुई दिन हिरासतमा भोगेको त्यो पल जीवनमा अमिट छाप झै रहिरहेको छ !
घटना ७: भित्ते लेखन गर्दा झन्डै मारिएको
कक्षा ९ मा पढ्दथे ! मेरो अक्षर ठिकै भएकोले भित्तामा राजनीतिक नारा लेख्न मलाई भन्ने गरिन्थ्यो ! युद्धको समयमा मान्नुको विकल्प थिएन ! नजिकैको बजार क्षेत्रमा नारा लेख्ने जिम्मा दिइएको थियो ! करिब रातको १२/१ बजेको समय हुदो हो ! लेख्दा लेख्दै सेनाको गस्ति आयो ! हामी एक घरको कोप्चामा घुर्सिएर बाच्यौ ! करिब एकघन्टामा सेना गैसक्यो र हामी बाच्यौ ! यदि कुनै संकेत देखिएको भए हामी मर्ने थियौ !!
घटना ८: एरिया सम्मेलन र बेचैनीपुर्ण दिनहरु
मलाई राजनीतिको बारेमा कुनै पत्तो थिएन ! युद्धको बिषयमा मेरो स्पष्ट धारणा छ कि जुनै परिबर्तन समयको क्रममा हुँदै जान्छन ! युद्ध द्वारा हुने परिबर्तन क्षणिक हुन्छन ! परिवर्तनलाई सारमा हेर्ने हो ! सबै सकाएर गरिएको कथित परिबर्तनको काम छैन ! तर मलाई अखिल क्रान्तिकारीको एरिया सम्मेलनमा जबर्जस्ति लिइयो ! मेरो बाल मनोबिज्ञानले नै अस्विकार गरेको कुरा आफैले भोग्नुपर्यो ! करिब ३ दिनसम्म त्यो सम्मेलनमा बस्नुपर्यो ! आमाबुबाको काख नछोडेको मलाई निकै गाह्रो भयो ! साहेद अरुलाई पनि त्यस्तै थियो होला !
घटना ९: अनगिन्ती लगानी तर सधै सत्रुको व्यबहार
यो युद्धमा प्रत्येक्ष र परोक्ष रुपमा हाम्रो अनगिन्ती लगानी छ !दैनिक ५/७ जनालाई खान खुवाउने देखि युद्धका अनेक मोर्चामा प्रयोग हुनेसम्ममा लगानी छ ! मध्यरातमा नाराबाजी तथा वालिङ पोस्टिङ् देखि कार्यक्रमको शोभा बढाउनेसम्ममा हाम्रो लगानी छ ! कतिपयलाई ज्यान जोगाउन घरमा लुकाउने देखि अनेक कार्यमा हाम्रो लगानी छ ! मौसमी चन्दामा लगायत अन्य सहयोगमा लगानी छ ! तर हामिलाई सधै बिपक्षीको किल्लामा उभ्याइयो ! सधै सत्रु देखियो ! कथित बर्ग बिरोधी र बर्गसत्रुको उपमा भिराइयो ! सकेको ठाउमा भित्तामै पुर्याइयो ! युद्धको नियमअनुसार प्रत्यक्ष मात्र होइन परोक्ष सहयोग गर्नेलाई पनि सहयोग गर्नुपर्नेमा त्यसो भएन !
घटना १०: युद्ध पछी पनि युद्धकै झल्को
शान्ति प्रक्रिया पछि राजनीति बिस्तारै शान्त हुँदै गयो ! तर रुकुममा त्यसो भएन ! पक्ष र विपक्षमा युद्धकै व्यबहार भयो ! २०६४ को संविधानसभाको चुनावमा समेत शान्तिपुर्ण राजनीतिको अनुभुती गर्न पाइएन ! फरक बिचारको पक्षपोषण गरेको भन्दै निर्मम तरिकाले मलाई कुटियो ! कदिब ७ दिनको बेहोसी पछि म ब्युझिए ! हेलिकप्टर बाट उद्दार नभएको भए म आज यो संसारमा रहन्थेन ! मेरो यो पुनर्जीवन थियो !
त्यसयता भेरी र कर्णालीमा धेरै पानी बगिसकेको छ ! तर मान्छेको व्यबहारमा कुनै परिबर्तन भएको छैन ! ब्यबस्था परिवर्तन भयो भनिएको छ तर अवस्था परिवर्तन हुने छाट समेत छैन ! जे जस्तो भए पनि त्यो युद्धलाई जनयुद्धको उपमा दिइएको छ ! केही हदसम्म सामाजिक परिवर्तन भएका पनि छन ! तर परिवर्तनका नाममा भएका कैयौं घटनाहरु भुल्न नसकिने खालका छन ! ती बिषयमा सबैले एकपटक गम्भीर हुन आबस्यक छ ! सरकारले नै घोषणा गरेको हुनले अब जनयुद्ध सबैको दिवस भएको छ ! सबैलाई शुभकामना !