सोती घटनाका साक्षिहरुको बकपत्र सुरु, पक्ष विपक्ष बीच अदालत परिसरमै भनाभन

रेखदेख संवाददाता
कार्तिक ९, रुकुम ।
६ जनाको ज्यान जाने गरी भएको रुकुम सोती घटनाका साक्षिको बकपत्र सुरु भएको छ । जिल्ला अदालत रुकुम पश्चिममा मंगलबारदेखी सोती घटनाका पक्ष विपक्षका साक्षिहरुको बयान सुरु गरिएको हो । रुकुम जिल्ला अदालतमा आज देखि दुवै पक्षका साक्षिहरुको बयान कार्य सुरु भएको जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर  बोहराले बताए । उक्त घटनाका वादी तर्फका ३९ जना र प्रतिवादी तर्फका २३ लाई आज हाजिरी गराईएको छ भने भोलि वकपत्र सुरु हुनेछ । श्रेष्तेदार

?

बोहराका अनुसार शुक्रबार सम्म वकपत्र गराईसकिने छ ।

सोती घटनामा संग्लग्न भएको आरोपमा चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो ।

तीमध्ये २३ आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको र ११ जना तारेखमा छाडिएका छन् । अदालतले शुरु थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई रु. एक लाख धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो ।

बाल सुधारगृहमा रहेकी नवराजकी प्रेमिका भनिएकी १७ बर्षिया किशोरी र एक किशोरलाई अभिभावकको जिम्मा रहने गरी उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको थियो । त्यस्तै सर्वोच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर घर्तिलाई पनि साधारण तारिखमै छाडेको थियो ।
जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।
अदालत परिसरमै पक्ष विपक्षको भनाभन
जिल्ला अदालत रुकुम पश्चिममा सोती घटनाका पक्ष विपक्षहरुको भनाभन भएको छ । मृतक नवराज विकको आमाले उर्मिला बिकले भनिन, उल्टै सोतीका मान्छेहरुले हामीहरुलाई नानाथरी भन्न थालेपछि केही बेर भनाभन भएको हो । आक्रोशित पीडित परिवार र पीडक परिवार अदालत परिसरमा आमुन्ने सामुन्ने भएपनि केहीबेर भनाभन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख धुर्वकुमार श्रेष्ठले जनाए । उनले भने, आमुन्ने सामुन्ने भएका दुवै पक्षबीच सामान्य भना भन भएको हो । दुवै पक्षको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा नीति अपनाएको प्रहरी प्रमुख श्रेष्ठले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *