कविता ; छोरा, तँ कहिल्यै शिक्षक नभएस्

अर्जुनकुमार ओली
एउटा आउँछ भन्छ, शिक्षकले पढाएनन्
अर्को आउँछ भन्छ, शिक्षकहरु राजनीति गर्छन्
नियमित विद्यालय जाँदैनन्
नपढाएरै तलब पाउँछन्
अरु के के गर्छन् के के
मात्र चौतर्फी आरोपहरुको बर्षा
आलोचना नै आलोचनाको चाङ
न सोधपुछ, न खोजीनीति
न निरीक्षण, न अनुगमन
न पुरस्कार, नत दण्ड
जस्तो गरेनी हुने, जे बोलेनी हुने
सबैले लत्याएर फाल्दै फाल्दै
दुर्ववहारको गह्रौं भारीले थिचिएर
अभाव र गालीहरु खाँदा खाँदै पनि
मरुभूमिहरुमा आशा जगाएर बाँच्न ,
शुष्क बगरहरुमा शिष्यको जीवन फुलाइदिन,
आलाकाँचा नानी बाबुहरुका
बाङ्गाटिङ्गा जीवनका बाटाहरु सोझ्याइदिन
र उनीहरूको ओठमा मुस्कान छरिदिन
अहोरात्र यत्न गरिरहेँ गरिरहेँ
ठुला-साना, जातपात
धनी-गरिब, आफ्नो- बिरानो
भेदभाव कसैलाई गरिनँ
कति उत्पादन भए होलान्
शिक्षकहरुद्वारा उत्पादित अनेक जनशक्ति
बदलामा राज्यले लखेटिरह्यो सधैं सधैं
पारिरह्यो कपटपूर्ण ब्यबहरको गलपासोमा
त्यसैले,
मैले त भोग्नुसम्म भोगिसकेँ शिक्षक हुनुको पीडा
तँ भने कहिल्यै शिक्षक नभएस् छोरा
भोलि तेरो हालत पनि यस्तै हुनेछ ।
म असल गुरु हुँ भन्ने दाबी त गर्दिनँ
तर जीवनभर पेसाकै चिन्तनको गर्तमा पौडिरहेँ
खोजिरहेँ शिक्षक हुनुको अस्तित्व
विलोप भएको अौचित्य र गुमेको मर्यादा
आफ्ना शिष्यहरुप्रति
गरिनँ कुनै राग,द्वेष र छलकपट
प्रेम, स्नेह,करुणा र निस्वार्थ कलाको श्रोत
गुरु आफैमा मिठो अनुभूति हो भन्ने ठान्थेँ
तर झाङ्गिदै गइरहेछन् आज यहाँ
गुरुप्रतिका आसुरीवृत्तिहरु
रङ्गहीन र गन्धहीन अस्तित्वमा बाँचिरहेँ
अटाउन सकिएन कहिल्यै पनि
राष्ट्रसेवक कर्मचारीहरुको शब्दकोषभित्र
हीनताका पहाडहरु बोकेर
सुनिरहेँ भ्रमका बाँसुरीहरु
उदास अनुहार र धमिला दृश्यहरुमा आज
कष्टपूर्ण अनुभूत गरिरहेछन् आँखाहरु
त्यसैले,
मैले त भोग्नुसम्म भोगिसकेँ शिक्षक हुनुको पीडा
तँ भने कहिल्यै शिक्षक नभएस् छोरा
भोलि तेरो हालत पनि यस्तै हुनेछ।
बोली र लोलीमा मात्र अब्बल पेसा रे
तर शिक्षक कर्मचारी बिच विभेद
शिक्षक शिक्षक बिच विभेद
शिक्षकका जातहरु पनि थरीथरी
तिनका सुविधाहरु पनि थरीथरी
भेदभावपूर्ण नीति नियम
अनुदार संस्कृति र निर्दयी राज्य
उछृङ्कल विद्यार्थी र बैगुनी अभिभावक
दलैपिच्छेका पेसागत शिक्षक संगठनहरु
नेताहरुको वरिपरि घुमेर स्वार्थ सिद्ध गर्न पल्केका
एउटा माखोसम्म मार्न नसक्ने
तिनका चाटुकार हनुमाने नाइकेहरु
यहाँ यी सबै सबैबाट लात खानुपर्छ बाबू
शिक्षक उपयोग गर्नलाई मात्र सजिलो
देशका हरेक राजनीतिक क्रान्तिहरुमा
हरेक राजनीतिक आन्दोलनहरुमा
कसैको सत्ता प्राप्ति र सत्ता जोगाइदिन
गर्नेजतिले गर्नुसम्म उपयोग गरे
उपयोग गर्यो, चुस्यो, फ्याँक्यो
चुसेर फ्याकिएको ऊखुको खोस्टा पो रहेछ शिक्षक
त्यसैले,
मैले त भोग्नुसम्म भोगिसकेँ शिक्षक हुनुको पीडा
तँ भने कहिल्यै शिक्षक नहुनु छोरा
भोलि तेरो हालत पनि यस्तै हुनेछ।
बरु बगरहरुमा गिट्टी कुटेर खानु
खर्कहरुमा बाख्रा चराउनु
गोठहरुमा गाई भैंसी पाल्नु
आफ्नै बारी जोतखन गरेर अन्न फलाउनु
ज्याला मजदुरी गरेर पेट पाल्नु
यति गरि हुँदैनभने,
मुग्लान गएर दरबानी गरि खानु
खाडीमा गएर भेडा चराएर जिउनु
आखिर जसरी तसरी
मात्र एकपटक जिउनु न हो जिन्दगी
यहाँ त चोरलाई चौतारो,
साधुलाई शूली पो हुन्छ बाबू
त्यसैले
मैले त भोग्नुसम्म भोगिसकेँ शिक्षक हुनुको पीडा
तँ भने कहिल्यै शिक्षक नभएस् छोरा
भोलि तेरो हालत पनि यस्तै हुनेछ
तँ भने कहिल्यै शिक्षक नभएस्।
नोट- यो कविता मैले आफ्नो बारेमा लेखेजस्तो भएतापनि हाम्रो देशका सबै शिक्षकहरुको प्रतिनिधिमूलक भोगाई हो।

