रुकुम पश्चिममा जेठ २२ सम्म निषेधाज्ञा लम्बियो

रेखदेख संवाददाता
जेठ ६, रुकुम ।
रुकुम पश्चिममा फेरी निषेधाज्ञाको समय बढाएको छ । विहीबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञाको समय थप १५ दिन थपेको हो ।
महामारीका रुपमा फैलिएको कोेरोना भाईरसको नयाँ भेरियन्ट सहितको संक्रमण दर तिब्र रुपमा बढेकोले निषेधाज्ञा तेस्रो पटक थप्नु परेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रका अध्यक्ष तथा प्रमख जिल्ला अधिकारी बद्रीनाथ ग्रैहेले जानकारी दिएका छन् ।
प्रजिअ गैह्रेले भने, अझै कोरोना भाइरस संक्रमण नियन्त्रण नभएको र जिल्लामा संक्रमण फैलावटको साङलो तोड्न एवम् संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यबस्थापन गर्न निशेधाज्ञाको समय वढाउनु परेको हो ।
उनले भने, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ का उपदफा ९३० बमोजिम निषेधाज्ञा लगाईएको छ । निशेधाज्ञा पहिलो पटक बैशाख १९ गते आईतबार बिहान ६ बजेदेखि बैशाख ३१ गते र जेठ १ गते देखी जेठ ७ गते सम्म दोस्रो पटक थपिएको थियो । थपिएको अवधिमा पनि कोरोना भाइरस नियन्त्रण नभएपछि तेस्रो पटक थप्नु परेको जिल्ला प्रशासन कार्यालय रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जानकारी दिएका छन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र सोको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा र हिडडुलमा समेत निषेध गरिएको प्रशासनले जनाएको छ ।
कोरोना भाईरसबाट जिल्लामा हालसम्म जिल्लामा १ हजार ३ जना संक्रमित भएका छन् । जसमध्ये १७ जनाको मृत्यु भएको छ । भने ४५० जना निको भएको जिल्ला अस्पताल रुकुमका डा. राजकुमार भुजेलले जानकारी दिएका छन् ।

