दाउन्ने बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु, ४९ घाईते
मृतक मध्ये २ जनाको सनाखत भएको छ ।
रेखदेख संवाददाता । काठमाडौँबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको खुर्सानीखोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बसमा सवार ४९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिएका छन् ।
घटनास्थलमै मृत्यु हुने चार जनामध्ये २ महिला र २ जना पुरुष रहेका छन् । जसमा रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुन र सिस्ने गाउँपालिका ७ का ३६ वर्षका धनराज घर्ती रहेको डिएपी लामाले जनाए । अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन ।
घाइते ४२ जनाको चिसापानी अस्पताल र पाँचजनाको संजीवनी हेल्थ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
काठमाडौंबाट रुकुमका लागि मंगलबार छुटेको वस बिहान विहीबार करिब ६ बजे दुर्घटना भएको हो । बस चालकले ब्रेक फेल भई दुर्घटना भएको प्रहरीलाई जानकारी गराएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले बताएका छन् ।

