नागरिकको स्वास्थ्यप्रति संवेदनशिल बन्न नागरिक संस्थाहरुको माग
रेखदेख संवाददाता
जेठ ३, रुकुम ।
स्वास्थ्यप्रति संवेदनशिल हुन सरोकारवाला निकायको माग गरेका छन् । रुकुम पश्चिममा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा बिरामीको सहज उपचारका लागि नागरिक समाज, अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी लगायतले सम्बन्धित स्वास्थ्य सेवा प्रति संवेदनशिल हुन माग गरेका छन् ।
जिल्ला स्थित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुमा निःशुल्क रुपमा कोरोना परीक्षणको व्यवस्था, संक्रमितको उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्नुपर्ने समेत माग गरेको जनाएको छ ।
आइतबार जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरुको भर्चुअल माध्यमबाट भएको बैठकले विरामीहरुको स्वास्थ्यप्रति सरोकारवाला निकाय जिम्मेवार हुनपर्ने भन्दै ध्यानाकर्षण पत्र जारी गरेका छन् ।
संक्रमित भएर पनि लक्षण नदेखिएका व्यक्तिहरु गाउँघरमा खुल्ला रुपमा हिडडुल गर्ने गरेकोले त्यस्तो कार्यलाई नियन्त्रण गर्नुपर्ने र आमनागरिकले पनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुर्ण रुपमा पालना गर्दै आफनो कर्तब्य निर्वाह गर्नुका साथै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन पनि अनुरोध गरिएको छ ।
ध्यानाकर्षण पत्र मार्फत जिल्ला अस्पतालमा एक वर्ष अघि नै जडान गरिएको भेन्टिलेटर सञ्चालन गर्न, अक्सिजन आपुर्तिलाई सहज र नियमित बनाई नागरिकको जीवन रक्षा गर्न, अस्पतालमा तत्काल अक्सिजन प्लान्ट जडान गरी सुचारु गर्न आग्रह समेत गरिएको नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष क्ष्मण केसीले जानकारी दिएका छन् ।
आईतबार जिल्ला बार इकाईका अध्यक्ष अधिवक्ता गणेश हमाल, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, गैरसरकारी संस्था महासंघका शम्भु बिसी, रुकुम उद्योग वाणिज्य संघका संयोजक पहल बहादुर खड्का, मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द (हरप्लेस) नेपालका अध्यक्ष सुनिता बि.एम., इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसी, मानवअधिकार सञ्जालका अध्यक्ष अधिवक्ता एक्क बहादुर पाण्डे, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली, अन्तरपार्टी महिला संजाल प्रदेश कमिटी सदस्य अधिवक्ता मनिषा भण्डारीले संयुक्त रुपमा ध्यानाकर्षण पत्र जारी गरेको जनाएको छ ।