सोती घटनाको छानविन गर्न देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन
रुकुम पश्चिमको चौरजहारी – ८ स्थित सोतीमा गएको जेठ १० गते ६ जना व्यक्तिको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ।
सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सांसद देवेन्द्र पौडेलको संयोजकत्वजमा नौ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, महेश्वर जंग गहतराज, मीन विश्वकर्मा, राम राहायप्रसाद यादव रहेका छन्।समितिले ३० दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्ने छ ।
यही जेठ १० गते सोती गाउँकी प्रेमिका भनिएकी मल्ल थरकी केटीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो । गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । नवराजसँगै गएका केही युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।
अन्तरजातीय विवाहको विषयलाई लिएर हत्या भएको भन्दै यो घटनालाई प्रमुख विपक्षी कांग्रेसले नरसंहार भनेको छ र संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । सोही मागअनुसार यही जेठ २३ गते सभामुख अग्निप्रसाद सापकोटाले समिति गठनको घोषणा गरेका थिए । समितिले सोमबार पूर्णता पाएको हो ।

