कोरोनामा कालापानी

उपेन्द्रलाल कामी

कोहिलाई संक्रमण
कसैलाई आक्रमण
धेरैलाई आतंक
केहीलाई कलंक
कोरोनाबाटै ज्यान जाने जस्तो काल आएपनि
देशभक्तको ध्यान जाँदैछ लिपुलेक-कालापानी !
नाजायज फाइदा उठाउँदै बन्दाबन्दीको
ब्वाँसो मित्रले लिपुलेक-कालापानी चिथोर्यो ।
सिमाना मिचेर आउदै गर्दा
लिम्पियाधुरा-कालापानी मिच्यो
राष्ट्रिय स्वाधीनतालाई उपहास गर्दै
मेरो सरकारको टाउकोमाथि बसेर थिच्यो
नेपाल आमाको अस्मिता लुट्यो
त्यसैले धैर्यताको बाँध फुट्यो
देशभक्तले आवाज उठाए
सरकारलाई सशक्त दवाव दिए
सम्झदै गौरवशाली इतिहास
बीर भक्ति, अमरसिंह, बलभद्रका
टिस्टा, काँगडा अनि लडाइँ भएको नालापानी
राष्ट्रिय युद्धको जड बन्दैछ लिम्पियाधुरा-कालापानी !
विस्तारवादले सडक बिस्तार गर्दै
लिम्पियाधुरा, लिपुलेक, कालापानी चिथोर्दा
लुच्चे र छुच्चेले देशको चुच्चे नक्शा बनाएर
फुच्चेले आफ्नो चित्रमा जुँगा बनाइ अात्मरति लिए झै
भु-उपयोग बिनाको कागजी जग्गाधनी
सन्तानको रहर गर्दै नामर्दले
छिमेकी मर्दलाई स्वास्नी सुम्पिए झै
लाचार मेरो राष्ट्रवादी सरकार
सेनालाई ब्यापारी बनाएर
सिमा सुरक्षामा पुलिस पठाउछ ।
राष्ट्रवादको राग अलाप्दै
वक्तव्यबाजीले दिन कटाउछ ।
न कुनै पत्राचार छ
न कुटनीतिक पहल गर्छ
न अन्तर्राष्ट्रिय अदालतमा गइ
उजुरी दिने हिम्मत गर्छ
केवल जनताको आँखामा छारो हाल्न
आसेपासे भक्तको मुखमा चारो फाल्न
चारैतिर चुहिने पार्टीको प्वाल टाल्न
पराइ पार्टी फुटाउने खेल खेल्न
मेरो सरकारको नाइके ब्यस्त छ
उखान र टुक्कामा अभ्यस्त छ ।
कुर्सी टिकाउन बेच्दै देशका नदी-नालाका पानी
खोक्रो राष्ट्रवादको खोल च्यात्दैछ लिपुलेक-कालापानी !
२०७७/०२/०७ रुकुमकोट रुकुम पुर्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *