नेपालको नयाँ नक्शा सार्वजनिक, ३७६ वर्ग किलोमिटर क्षेत्रफल बढ्यो
नेपालको नयाँ नक्शा सार्वजनिक भएको छ । सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बुधबार कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो ।
नयाँ नक्शासँगै नेपालको क्षेत्रफल समेत बढेको छ । क्षेत्रफल यसअघि भन्ने गरिएको भन्दा ३ सय ७६ वर्ग किलोमिटर बढेको हो। नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय ५७ वर्ग किलोमिटर कायम छ । नेपालको क्षेत्रफल यसअघि १ लाख ४७ हजार १ सय ८१ वर्ग किलो मिटर भन्ने गरिएको थियो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा पारित गरेको थियो । प्रधानमन्त्री केपी ओलीले मंगलबार संसदमा सम्बोधन गर्दै भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुने प्रतिवद्धता जनाउनु भएको थियो ।
त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि जेष्ठ २ गते संघीय संसदमा आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको उल्लेख गर्नुभएको थियो ।

