लघुकथा : देवता

हरिप्रसाद भण्डारी

‘सिस्टर ! म यहाँ आएको कति दिन भयो ?’ भावुक स्वरमा अञ्जनाले सोधिन् ।
‘पन्द्र दिन, सात दिन त आइसीयूमै बस्नुभयो ।’ शिरदेखि पाउसम्म सुरक्षा कवच लगाएकी नर्सले भनिन् ।
‘पन्द्र दिन !’ सासै सासमा अञ्जनाले भनिन् । यसो भन्दै गर्दा उनका आँखा रसाए र दुई थोपा आँसु तकियामा खसे । बिस्तारै उनको मनमा बाँच्ने आशा पलाउँदै गइरहेको थियो । त्यसैले ती आँसु दुःखका थिए की खुसीका एकिन गर्न सकिनन् ।
‘अञ्जनाजी ! कस्तो छ तपाईँलाई ?’ मायालु आवाज उनको कानमा ठोकियो । सुरक्षा कवचका कारण आगन्तुकको अनुहार ढाकिएको थियो । तैपनि उनले चिनिन्, उनी डा. विकास थिए । त्यो मलहम मिश्रित आवाज उनले अस्पताल आएदेखि नै सुन्दै आइरहेकी थिइन् ।
अञ्जना बोल्न नभ्याउँदै डाक्टरले भने, ‘नआत्तिनोस्, अब तपाईँ खतरामुक्त हुनुहुन्छ ।’
शुरुको अवस्था सम्झेर अञ्जनाको छाती चरक्क चर्कियो । मनमनै भनिन्, ‘कति डरलाग्दो रोग ! नित्य पूजा गर्ने देवीदेवतासँग प्राण रक्षाको भीख माग्दा पनि पीडा कम भएको थिएन । बाँच्ने आशा मरिसकेको थियो । उहाँहरूले गर्दा नयाँ जीवन पाएँ ।’
‘यो औषधि खानुस् ।’ नर्सको आवाज सुनेपछि उनी झस्किन् । औषधि लिँदै उनले सोधिन्, ‘डाक्टर साहेबलाई सधै यहीँ देख्छु । घर गएको जस्तो पनि लाग्दैन ।’
‘कोरोनाको सङ्क्रमण देखिन थालेपछि उहाँ यहीँ बसेर बिरामीको सेवा गर्नुभएको छ । उहाँले गर्दा धेरै बिरामी निको भएका छन् । उहाँको सेवाभाव देखेर हामीलाई पनि काम गर्न हौसला मिलेको छ ।’
निको भएर घर जाने बेला अञ्जनाले डाक्टरसँग अनुरोध गरिन्, ‘डाक्टर साहेब हजुरको एउटा फोटो लिन मिल्छ ?’
‘किन र ?’ अचम्म मान्दै डाक्टरले सोधे ।
‘पूजा कोठामा राख्न ।’ मायालु आवाजमा अञ्जनाले भनिन् ।
+++
वैशाख ०४, २०७७
तिलोत्तमा, रुपन्देही ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *