मुसीकोटमा स्वास्थ्य सहायता कक्ष स्थापना

रेखदेख संवाददाता ।
रुकुम (पश्चिम) ०७ चैत । बिश्वमा महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोबिट – १९)बाट सचेत रहन नेपाल सरकारद्वारा आह्वान भइरहेको बेला जिल्लाको मुसीकोट नगरपालिकाले पनि शुक्रबारदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।
मान्छेको बढि भिडभाड र चहल पहलबाट छिटो सर्नसक्ने सम्भाबनालाई मध्यनजर गरि नोभल कोरोना भाइरसबाट बच्न नगरपालिका अन्तरगत स्वास्थ्य शाखाले स्वास्थ्य सहायता कक्ष स्थापना गरेको हो । स्वास्थ्य सहायता कक्ष स्थापनाको पहिलो दिन नगर प्रमुख देबीलाल गौतम, उप प्रमुख प्रेम कुमारी सुनार केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत नरविर खड्का लगायत कार्यालयका सबै कर्मचारी र सेवाग्राहीहरुलाई समेत स्वास्थ्य सहायता कक्षमा साबुन पानीले हात धुन लगाएर र ज्वरो चेकजाँच गरेर मात्र भित्र प्रवेश गराएको बताइएको छ ।
नगरपालिकाको प्रवेशद्वारमै स्वास्थ्य सहायता कक्ष स्थापना गरि नगरपालिकाको कार्यालयमा प्रवेश गर्ने जो–कोहिलाई प्रवेश गर्नुपूर्ब साबुन पानीले हात धुन लगाउने र ज्वरो चेकजाँच गरेर मात्र प्रवेश गराउन थालेको स्वास्थ्य संयोजक बेदाराम ओलीले जानकारी दिएका छन् ।
उनका अनुसार पहिलो दिन शुक्रबार ७१ जना सेवाग्राही र कार्यालयका सबै कर्मचारीको ज्वरो चेकजाँच गरिएको छ । पहिलो दिन चेकजाँच गरिएका सबै ब्यक्तिहरुमा नोभल कोरोना भाइरसको कुनैपनि लक्षण नदेखिएको नगरपालिका अन्तरगत स्वास्थ्य शाखाले जनाएको छ ।
चेकजाँचका क्रममा कोहि कसैलाई शंका लागेमा त्यसलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले रिफर गर्ने योजना समेत रहेको स्वास्थ्य शाखाले बताइएको छ । बिश्वमा नोभल कोरोना भाइरसको सन्त्रास नहटेसम्म स्वास्थ्य सहायता कक्ष स्थापना गरेर ज्वरो चेकजाँचलाई निरन्तरता दिइने र हरेक दिन साबुन पानीले हात धुन लगाउने कार्य नियमित बनाइने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *