स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण, कहाँ कति संक्रमित ?
बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले बताएका छन् ।
उनलाई के कसरी कोरोना भाइरसको संक्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ । बेलायतमा अहिलेसम्म ३८२ जनामा संक्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
अष्ट्रेलियामा भने संक्रमितको संख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधवारसम्म थप १२ जना थपिएर संक्रमितको संख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको संख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ । यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि १ दशमलव ५५ अर्व अमेरिकी डलर रकम छुट्याएको घोषणा गरेका छन् ।
उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए ।
यसैगरी दक्षिण कोरियामा थप २४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट संक्रमितको संख्या ७ हजार ७७५ पुगेको छ । त्यसैगरी थप छ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट संक्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।
जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार संक्रमितको संख्या बढेर ५६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको जनाइएका छन् ।
कोरोनाको शुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिने क्रम घटेको छ । केही दिन अगाडिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा बुधवार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको छ ।
उता अमेरिकामा संक्रमितको संख्या १ हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कुल संक्रमित संख्या १ हजार १ पुगेको छ भने मृत्युहुनेको संख्या २८ पुगेको छ ।
उनीहरुले वासिङट्नमा २६०, न्यूयोर्कमा १७३, क्यालिफोर्नियामा १४४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको बताएका छन् ।

