६० लाख लगानीमा सानीभेरीमा अस्पताल
रेखदेख संवाददाता ।
सानीभेरी गाउँपालिकामा १५ सैयाको अस्पताल स्थापना गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १५ सैयाको अस्पताल संचालनमा ल्याएको हो । नगरपालिकाले २५ र गाउँपालिकाले १५ सैयासम्मको अस्पताल सञ्चालनमा ल्याउन पाउने प्रावधान अनुसार गाउँपालिकाले वडा नं. ७ को छोटेबगरमा अस्पताल संचालनमा ल्याएको जनाएको छ ।
गाउँपालिकाले अस्पतालका लागि आवश्यक भवन निर्माणका साथै बेडसहित विभिन्न उपकरण, औषधि खरिद गरेको छ ।
त्यस्तै चिकित्सकसहित अस्पतालका लागि आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारी भर्ना समेत गरेको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिएका छन् ।
अस्पतालका लागि गाउँपालिकाले हालसम्म करिब ६० लाख बजेट खर्च गरेको छ । अस्पताल व्यवस्थापनका लागि चालु आर्थिक वर्षका लागि गाउँपालिकाले डेढ करोड बजेट विनियोजन गरेको अध्यक्ष पुनको भनाई छ ।
अस्पतालको मुख्य भवन भने संघीय सरकारको बजेटबाट निर्माण भएको हो । स्वास्थ्य चौकीको भवनका लागि आएको बजेटबाट निर्माण भएको भवन अस्पतालका लागि प्रयोग गरिएको छ भने बाँकी संरचना गाउँपालिकाले निर्माण गरेको गाउँपालिका अध्यक्ष पुनले बताए । संविधानमा व्यवस्था भएको प्रत्येक नागरिकको आधारभुत स्वास्थ्य सेवालाई सुनिश्चित गर्नका लागि आफ्नै लगानीमा अस्पताल संचालनमा ल्याइएको उनले बताए ।
स्थानीय सरकार संचालन ऐन २०७४ ले नगरपालिकाले २५ र गाउँपालिकाले १५ सैयासम्मको अस्पताल संचालन गर्ने प्रावधान अनुसार अस्पताल संचालनमा ल्याएको अध्यक्ष पुनले जानकारी दिएका छन् ।
अस्पताल संचालनमा आएपछि सानीभेरी गाउँपालिकावासीले गाउँमै चिकित्सकीय सेवा पाउने भएका छन् । गाउँपालिकाले अस्पतालका लागि एमविविएस डाक्टर कविन बस्नेतलाई नियुक्त गरेको छ । अस्पतालबाट आकस्मिक सेवा, ल्याव सेवा, एक्सरे सेवासहित आधारभुत चिकित्सकीय सेवा प्रदान हुने गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले जानकारी दिएका छन् ।
अस्पतालले स्वास्थ्य सेवा प्रवाह सुरु गरिसकेको छ । पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले उद्घाटन गरेसँगै अस्पतालले सेवा सुरु गरेको स्वास्थ्य संयोजक केसीले बताए । जिल्लाका ६ स्थानीय तह मध्येमा सानीभेरी गाउँपालिका अस्पताल संचालन गर्ने दोस्रो स्थानीय तह बनेको छ । यसअघि जिल्लाको आठबीसकोट नगरपालिकाले गत वर्षदेखि नै नगर अस्पताल सञ्चालन ल्याएको थियो ।

