दुर्घटना रोक्न ट्राफिक संग दुई मिनेट
रेखदेख संवाददाता मुसीकोट ।
दुर्घटना रोक्न ट्राफिक संग दुई मिनेट कार्यक्रम सुरु गरिएको छ । सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले ट्राफिक संग दुई मिनेट कार्यक्रम शुरु गरेको हो । जिल्लाबाट बाहिरीने तथा भित्रिने सवारी साधनलाई रोकेर बसमा सवार यात्रु र चालकलाई ट्राफिक नियमबारे जानकारी दिने उदेश्यले ट्राफिक संग दुई मिनेट कार्यक्रम शुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले ट्राफिकसंग दुई मिनेट कार्यक्रमलाई नमुना कार्यक्रमका रुपमा अघि बढाएको छ । बढ्दो सवारी दुर्घटनालाई कम गर्ने उदेश्यले यहाँको ट्राफिक प्रहरीले यस महिनाबाट दुई मिनेट कायक्रमलाई अघि सारेको हो । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरी जथाभावी सवारीसाधन चलाउँदा दुर्घटना बढ्ने भएकाले त्यसको न्यूनिकरणका लागि नयाँ कार्यक्रम सार्वजनिक गरिएको ट्राफिक कार्यालयका ईन्चार्ज लक्ष्मण बिश्वकर्माले जानकारी दिएका छन् ।
उनले भने, ट्राफिकसंग दुई मिनेट कार्यक्रम शुरु भएदेखी प्रत्येक दिन सवारी साधनलाई रोकेर बसमा सवार यात्रु, चालक र सहचालकलाई ट्राफिक नियमको बारेमा जानकारी दिने गरिएको छ ।
जिल्लामा ट्राफिक प्रहरीले शुरुवात गरेको नयाँ कार्यक्रमले सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने देखिएको छ । त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनका लागि अब ट्राफिकसंग दुई मिनेट कार्यक्रम प्रभावकारी हुने बताईएको छ । जिल्लामा पहिलो पटक नमुना कार्यक्रमका रुपमा शुरु गरिएको ट्राफिकसंग दुई मिनेट कार्यक्रमलाई एक अभ्यासको रुपमा लिन सकिने प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी जानकारी दिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले हाल मुसिकोट नगरपालिका वडानम्बर –५, सेरीगाउँमा नयाँ कार्यालय स्थापना गरी ट्राफिक संग दुई मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै यहाँको ट्राफिक प्रहरीले गएको माघ महिनामा मात्र ३ सय २० वटा सवारीसाधनलाई कारबाही गरेर ३ लाख बढी राजस्व संकलन गरेको जनाएको छ ।

