उप–चुनाव, ने.क.पा.लाई सकस

उपेन्द्रलाल कामी
बिषय प्रवेशः
यहि २०७६ मंसिर १४ गते सम्पन्न भएको उप–निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेकै अवस्थामा बिभिन्न कोणबाट आफ्ना अनुकुलका ब्याख्या बिश्लेशणहरु भइरहेका छन । प्रतिनिधि सभामा १, प्रदेश सभामा ३ र स्थानीय तहमा उपमहानगरपालिका प्रमुख १, गाऊँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरि जम्मा ५२ वटा रिक्त पदमा भएको उपनिर्वाचनमा राजनीतिक पार्टीहरु चुनावी मैदानमा प्रतिस्पर्धाका लागी उत्रिएका थिए । खासगरि यतिबेला ने.क.पा.को दुईतिहाइ सरकारको आफ्नो साखलाई जोगाउन र नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षिको हैसियतलाई बढाउन न्वारनदेखिको ताकत लगाएर चुनावी मैदानमा ओर्लिएका थिए भने समाजवादी पार्टी, रा.ज.पा., साझा, बिवेकशिल लगायतका पार्टीहरु बैकल्पिक राजनीतिक शक्तिको लागी जनमत बढाउने उद्देश्यमा केन्द्रीत भएर चुनावमा होमिएका थिए । राजावादी लगायत अन्य राजनीतिक पार्टीहरु पनि आफ्नो नीति, सिद्धान्तलाई जनमतद्वारा अनुमोदन गर्न र जनताको बीचमा पार्टीको अस्तित्व स्थापित गर्ने उद्देश्यले यस उपनिर्वाचनलाई उपयोग गरेका थिए । जो–जसले जहाँ जितेपनि बाँकी दुई बर्षको कार्यकालमा धेरै कामहरु गर्न सकिने अवस्था भने छैन । तै पनि पार्टीहरुको लागी यो उपनिर्वाचन आवधिक नमुना परिक्षा जस्तै भएको छ । यसले सरकार पक्ष, प्रमुख प्रतिपक्ष लगायत सबै पार्टीहरुलाई आफ्नो हैसियत र अवस्थाको आत्मसमीक्षा गर्नका लागी पक्कै पनि मद्दत पु¥याउने छ । उप–चुनावको सबै नतिजा आइसकेपछि त्यसभित्र पार्टीहरुले गरेको आत्मसमिक्षाको बिषयलाई नबुझेर गरिएको बिश्लेशण मनोगत हुन जानेछ । तसर्थ यहाँनेर उप–चुनावको नतिजाले खासगरि सत्ताधारी ने.क.पा.लाई पारेको सकस र अन्य पार्टीहरुले पनि सोच्नुपर्ने केही बिषयहरुको बारेमा संक्षेपमा चर्चा गर्न खोजिएको छ ।
(क) जितेका स्थान गुमाउनु र सहानुभूतिमा चित्त बुझाउनु
२०७४ सालको स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा जसरी तत्कालिन ने.क.पा. एमाले र माओवादी केन्द्र बीच भएको वाम गठबन्धनले देशैभरि उत्साहजनक नतिजा हासिल गरेको थियो त्यसको तुलना गर्दा अहिले निराशाजनक नतिजा देखिएको छ । काँस्की २ को प्रतिनिधिसभा र दाङ. ३ (ख) को प्रदेशसभा पदको खाली स्थानमा दिवंगत पुर्व पर्यटन मन्त्री रबिन्द्र अधिकारी र प्रदेश सांसद उत्तरकुमार ओलीकी जीवन संगीनीले सहानुभूतिको मत लिएर जित हासिल गर्नु स्वभाविकै भएपनि भक्तपुर नि.क्षे.नं. २ (ख) को प्रदेश सभामा यसअघि वाम गठबन्धनले जितेको स्थानमा अहिले नेपाली काँग्रेसले जित हासिल गर्नुलाई स्वभाबिक मान्न सकिदैन । त्यतिमात्र होइन स्थानीय तहका वडाहरुमा ने.क.पा.को पुर्व वाम गठबन्धनले जितेका स्थानहरुः– हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ, भक्तपुर १६, मालारानी ३ अर्घाखाँची, घोराही १६ दाङ, दोगडाकेदार ४ बैतडी अहिले नेपाली काँगे्रसका उम्मेदारले जितेका छन भने यस अघि काँगे्रसले जितेका वडाहरुः– फिदीम १ पाँचथर, पौवादुम्वा १ भोजपूर, कल्याणपूर १२ सिराहा, इन्द्रावती ८ सिन्धुपाल्चोक, कोहलपूर ६ बाँके, मेहल्लेख ५ अछाम, त्रिवेणी १ बाजुरामा ने.क.पा.का उम्मेदारले जितेका छन । यस अघि ने.क.पा.को वाम गठबन्धनले जितेकोे हरिपुर्वा न.पा. १ सर्लाही र काँगेसले जितेको बारागढी १ बारामा समाजवादी पार्टीका उम्मेदारले जितेका छन् । यसअघि रा.ज.पा.ले जितेको ३ वडा मध्ये १ गुमाएर २ मा रहेको छ भने समाजवादीले २ थपेर ३ बनाएको छ । रोचक बिषय त के छ भने ने.क.पा.का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र खैरेनी न.पा. ४ र ५ नं वडा, पुर्व संघीय मामिला तथा स्थानीय बिकास मन्त्री लालबाबु पंडितको गृहक्षेत्र धनपालथान गा.गा.पा. २ मोरङ र ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृहक्षेत्र घोराही उप.म.न.पा. १६ दाङमा नेपाली काँग्रेसले जितेर नेतृत्वलाई नै धक्का दिएको छ ।
(क) पार्टी एकताको निराशाभाव र सरकारको कार्यशैलीप्रति सांकेतिक दवाव
२०७४ सालको चुनावमा वाम गठबन्धनले जुन उद्देश्य सहितको प्रतिबद्धता जनता सामु गरेको थियो र चुनावको उत्साजनक नतिजा सहित दुईतिहाइ बहुमतको सरकार बनाएर दुई पार्टी एकता गरिसक्दा पनि जनअपेक्षा अनुरुप काम नगरेको मात्र होइन कि जनमतको अवमूल्यन गर्नेगरि भएका पार्टी नेताका गतिबिधिहरुले कार्यकर्ता र जनतामा निराशा मात्र होइन बितृष्णा पैदा हुने खालको अवस्था सृजना हुदै गएको छ । पार्टी एकता बैचारिक र भावनात्मक रुपमा भन्दापनि प्राबिधिक र बाध्यात्मक रुपमा भएको हँुदा पार्टी एकताले जुन उत्साह पैदा गर्न सक्नुपथ्र्यो त्यो हुन नसक्दा पनि त्यसको असर उपचुनावमा पर्नु स्वभाविकै थियो । त्यतिमात्र नभइ सरकारको कार्यशैली, समाजमा ब्याप्त अनियमितता, भ्रष्टाचार, महंगी, कालोबजारी, लुटतन्त्र, बिकृति, बिसंगतिहरुले सिमा नाघ्न थालेपछि जनमानसमा बितृष्णा पनि बढ्दै जानथालेको अवस्था छ । पार्टीभित्र पनि गुट–उपगुटहरुको शक्तिकेन्द्र खडा हुनु, आर्थिक शक्तिबाट उम्मेदारको योग्यता मापन गरिनु, इमान्दार एवं निष्ठावान मान्छेहरुलाई अवमूल्यन गरिनु, जनसम्बन्धबाट कटेका र नेतासंगको सम्बन्धमाथि पहुँच बढाएका मान्छेहरुलाई अगाडि सारिनु आदि आन्तरिक असन्तुष्टिहरु चुनावमा पराजित गराउने कारणहरु
हुन सक्छन । यो कुरा ने.क.पा. मात्रै नभएर सबै पार्टीहरुले गम्भीरतापुर्वक मनन गरेर आत्मसमीक्षा गर्नुपर्ने बिषय हो । यो पार्टी र सरकारको कार्यशैलीप्रति असन्टुष्टी भएर जनताले गरेको सांकेतिक दवाव तथा मुलतः सत्ताधारी ने.क.पा.को लागी भने निकै ठुलो चूनौति र सकसको बिषय हो ।
(ग) बैकल्पिक राजनीतिक शक्ति बढ्दो अवस्थामा
सत्तासिन ने.क.पा. र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बीचको चुनावी प्रतिस्पर्धामा स्थानीय तहका वडाहरु जित्न खोसाखोसको स्थिती देखियो । कतै काँग्रेसले जितेका वडाहरुमा ने.क.पाले जितेको छ भने ने.क.पा.ले जितेका वडाहरुमा काँग्रेसले जितेको अवस्था छ । यसको मतलब मतदाताहरुले भरपर्दो बैकल्पिक राजनीतिक शक्तिको संगठन र उम्मेदार नहँुदा काँग्रेसको सट्टा ने.क.पा.का उम्मेदारलाई र ने.क.पा.को सट्टा काँग्रेसको उम्मेदारलाई भोट हाल्न बिवस भएको प्रष्ट हुन्छ । जहाँ बैकल्पिक राजनीतिक शक्तिको संगठन र उम्मेदार बलियो छ त्यहाँ जनताले बिकल्प रोजेको पाइयो । यस अघि ने.क.पा.को वाम गठबन्धनले जितेकोे हरिपुर्वा न.पा. १ सर्लाही र काँगेसले जितेको बारागढी १ बारामा समाजवादी पार्टीका उम्मेदारलाई जनताले बिजय गराउनु यसको ज्वलन्त उदाहरण हो । रा.ज.पा.ले एउटा वडा गुमाउनु परे ता पनि साझा, बिवेकशिल पार्टीहरुको मतदाता संख्यामा बृद्धि भएको छ । यसले के देखाएको छ भने बैकल्पिक राजनीतिक शक्तिहरु एक ढिक्का भएर सिद्धान्त र ब्यवहारबीचको तादात्म्ता मिलाइ संगठनलाई सुदृढ एवं बिस्तार गर्दै जनताको बिचमा स्थापित गर्न सके जनताले ने.क.पा.र काँग्रेसको बिकल्प छिटै रोज्न सक्छन भन्ने नै हो । पुर्व नयाँ शक्ति पार्टी र पुर्व समाजवादी फोरम बीचको एकताले नयाँ बिकल्पको खोजी गरिरहेका जनतालाई नयाँ उत्साह पैदा गर्न सफल भएछ भन्ने कुरा यसपटकको उपनिर्वाचनले एउटा गतिलो उदाहरण दिएको छ । बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदयीमान समाजवादी पार्टी, राष्ट्रीय जनता पार्टी, साझा, बिवेकशील पार्टी लगायतका पार्टीहरुले यसबाट सकारात्मक उर्जा लिएर थप शक्ति आर्जन गर्न नयाँ आधारमा नयाँ एकता, ध्रुवीकरण, सुदृढिकरण र बिस्तारको अभियानलाई प्रभावकारी ढंगले अगाडी बढाउन आवश्यक देखिन्छ ।
उपसंहार
मूलतः जनतामा र पार्टी नेता, कार्यकर्ताहरुमा स्वाभिमानको भाव जागृत हुने हो भने जनताले हरेक पार्टी भित्रका शक्तिशाली होइन असल मान्छेहरुलाई निर्वाचित गर्ने नयाँ संस्कृतिको बिजारोपण हुनेछ । हरेक नागरिकहरु पार्टीको आस्थाको लगाममा होइन स्वबिवेक प्रयोग गरेर सहि एजेण्डा र असल नेतृत्वलाई चयन गर्ने नयाँ परिपार्टीको बिकास गर्न स्वाभिमानको अभियानलाई हरेक नागरिक स्तरबाटै थालनी गर्न जरुरी देखीन्छ । आफ्नो पार्टीले खडा गरेको जस्तोसुकै खालको उम्मेदारलाई अनिवार्य जिताउनै पर्ने परम्परागत धर्म जस्तो र असललाई भोट हालेर जिताउने नभइ जस्तोसुकै खालको भएपनि जित्ने उम्मेदारलाई भोट हाल्नुपर्छ भन्ने मानसिकताबाट माथि उठ्न सक्ने हो भने पनि चुनावमा हुने घृर्णित क्रियाकलावहरुलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने छ । अबका चुनावहरु बढि खर्चिलो नभइ सजिलो होस् र सबैले चुन्न अनि चुनिन पाउने अधिकारलाई सहजै उपभोग गर्न सकिने खालको संरचनागत र नीतिगत सुधार गर्नका लागी सबैले आ–आफ्नो स्तरबाट प्रभावकारी भूमिका खेल्न जरुरी छ । जे होस् अहिले सबै बिजेताहरुलाई बधाइ तथा कार्यकाल पूर्ण सफलताको शुभकामना अनि पराजित सबै प्रतिष्पर्धी उम्मेदारहरुप्रति सहानुभूतिका साथै जनताको पक्षमा जहाँ भएपनि इमानदारपुर्वक कार्य गर्न सुझाव दिदै यस आलेखको बिट मार्न चाहन्छु । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *