मालिकका शालिक या शालिकका मालिक ?

शालिक नै बनाउने हो भने कामी बुढा पछि विश्वेश्वर पोखे्रेल, दौलतराम घर्ति, युदु गौतम, हरिभक्त ओली, यज्ञश्वर शर्मा, मस्ट विष्ट, कविराम केसी, परविर बि.क. टोपजंग गहतराज, परम्परा गौतम, सपना र विजोग लगायतका शहिदहरु जो राज्य र तत्कालिन विद्रोही पक्षबाट हत्या गरिएका छन् । उनिहरुबाट शुरुवात गरेर साझा अभिभावकीय भुमिका निर्बाह गरौं ।

उपेन्द्रलाल कामी

२५ औं जनयुद्ध दिवशको शुभकामना छ है कमरेड ! आज त सेरिगाउँमा भव्य कार्यक्रम छ रे नी ! उतैतिर जाँदै हो तपाई ? मैले भने । तपाईलाई पनि शुभकामना छ है भु.पु. कमरेड ! हो म त्यतै कार्यालयतिर जाँदै छु । जाने हो तपाई पनि ( जाऔं न ! नेकपाका एक जना मेरा मित्रले भने जाने त हो औपचारिक निम्तो नभइ किन जानु र के(के कार्यक्रम तय गरिएको छ तपाईबाट बुझौं न ! मैले जिज्ञासा राखेँ । शहिद पार्क भवन, शहिदको शालिक र मालिकका शालिक उद्घाटन गर्ने कार्यक्रम छ रे भन्ने सुनेको छु बाँकी उतै गएपछि थाहा होला । अहिले हतार छ म लागें है त कमरेड ! उनै मेरा मित्रले भनेर हिडि हाले ।
करिब आधा मिनेट जतिको छोटो संवाद भएपछि पूर्व माओवादीका सहकर्मी साथी मुसिकोट खंलगा बजारबाट सेरिगाउँतिर लागिसकेपछि मलाइ भने उनको एउटा शब्दले थप जिज्ञासु बनायो । खंलगा सेरिगाउँमा शहिद पार्क भवन निर्माण भएको कुरा त मलाइ जानकारी नै थियो तर शहिदको शालिक र मालिकका शालिक उद्घाटन गर्ने भनेको के होला ? यस बारेमा कार्यक्रम समापन भएपछि कुनै साथि मार्फत बुझ्नुपर्ला भनेर ब्यग्र प्रतिक्षा गरि रहेको थिएं । कार्यक्रम समापन पछि सेरिगाउँबाट खंलगा फर्केदै गर्दा कार्यक्रममा सहभागी एकजना ने.क.पा. का चिनेका कार्यकर्ता साथिलाई भेटेपछि कार्यक्रममा भएका गतिविधिहरु बारे संक्षेपमा जानकारी पाएपछि मात्रै भवन उद्घाटनसँगै शहिदको शालिक र मालिकका शालिक अनाबरण गरेको बारेमा प्रष्ट भयो । रुकुम जिल्लाका प्रथम शहिद तथा कम्युनिष्ट पार्टीका संथापक कामी वुढासँगै माओवादी जनयुद्ध कालका जनमुक्ति सेना र ने.क.पा. का स्थायी कमिटी सदस्य तथा पूर्व शान्ति मन्त्री जनार्दन शर्मा प्रभाकरका दिवगंत पिता स्कन्ध शर्माको शालिक पनि सँगै अनावरण गरिएको रहेछ । आफ्नै कालगतिले मुत्यु भएका स्कन्ध शर्माको शालिकलाई शहिद कामी बुढा लगायत जनमुक्ति सेनाको शालिकसँग तुलना गरेर सँगै राखिएकोमा कार्यकर्ताको चित्त नबुझेर ब्यङग्य गरि मालिकको शालिक भनेको होलान भन्ने मैले अनुमान गरें ।
आफ्नै पार्टीका कार्यकर्ताहरुको भावनामा ठेस लाग्ने गरी हुने व्यबहार पार्टीको एउटा शिर्ष तहमा रहेका जिम्मेवार नेता तथा राज्यको उच्च ओहदामा पुगिसकेको नेताको बुझाइ यति साँघुरो परिवार केन्द्रित किन हुन पुगेको होला ? के सत्ता र शक्तिको आडमा अहिले नै गर्ने मनपरि निर्णयले भावी पिढीलाई इतिहासको सहि अध्ययन गराउला ? एकजना विश्व बिजेता बन्ने महत्वकांक्षा बोकेका शासकले भनेझै इतिहास भनेको सबैले पत्याइदिएको झुठ नै हो त ?
जनयुद्ध कालभरी कम्युनिष्ट आन्दोलनमा भएको योगदान बारे पार्टी भित्र खासै चर्चा नभएको पात्रलाई शहिदको शालिकसँगै राखिनु शहिदको अपमान मात्रै होइन कि आफ्नै पिताको उपहास र अबमुल्यन गरेको त होइन ? यि यावत प्रश्नहरु मेरो मन मस्तिष्कमा मात्रै होइन कुनै पनि स्वतन्त्र विबेकले सोच्ने स्वाभिमानी नागरिकहरुमा उठ्नु स्वभाविक नै हो । यसको सैद्धान्तिक र व्यबहारिक पक्षबाट पुष्टी गर्ने जबाफ के दिन्छन त्यो त सम्बन्धित पक्षसँगै जोडिएको विषय हो । मात्रै यहाँ उठान गर्न खोजिएको विषय मालिकका शालिक हो या शालिकका मालिक भन्ने सवालमा केही छलफलका विषयहरु मात्र पस्कन खोजिएको छ ।
क) भनाइ र गराइको अन्तर नै कम्युनिष्ट पाखण्डताको इतिहास
कम्युनिष्ट सिद्धान्त, बिचार र पार्टीका जन्मदाता कार्लमाक्र्स, एङगेल्स, लेनिन,स्टालिन र माओसम्म आउँदा सिद्धान्तमा सामुहिकता माथि वढि जोड दिइएको पाइन्छ भने व्यबहारमा ब्यक्तिपुजालाई नै पश्रय दिइएको हुन्छ । चाहे त्यो सिद्धान्तको नाम ब्यक्तिसँग जोडेर वाद वा विचारधारा बनाउने कुरा होस या बादशाहको शालिक ढालेर कम्युनिष्ट नेताको शालिक स्थापना गर्ने विषय नै किन नहोस पाखण्डताको शुरुवात त्यहिबाटै भएको पाइन्छ । हुनत माक्र्स स्वयमले क्ष्बm ल्यत ःबहष्कm अर्थात म माक्र्सवाद होइन भनेका थिए भने लेनिनले समेत आफ्ना अनुयायिहरुलाई म मरेपछि मेरो शालिक नबनाउनु बरु त्यसको सट्टा सामाजिक योगदान पुग्ने काम गर्नु भनेको इतिहासमा पढ्न पाउँछौं तर ब्यबहारमा त्यसको ठिक विपरित भएको पाइन्छ । नेपालको सन्दर्भमा त बर्तमान ने.क.पा. भनेको बाघको छालामा स्यालको रजाइ गर्ने पार्टी हो । अझ भनौं ब्राहमणले गाईको मासु र रक्सी खाएर जजमानको कर्मकाण्ड गरिदिए जस्तै अहिलेको ने.क.पा.को चर्तिकला छ ।
यस्तो परिवेशमा एकजना ने.क.पा. का बरिष्ठ नेताले आफ्नो पिताको शालिक शहिदको शालिकसँग राखेर अनाबरण गर्नु के नै अनौठो कुरा भयो र ? तर पनि यो गतिशिल समय र परिवर्तनशिल समाजको नियमलाई बुझेर पनि नबुझेको जस्तो भान पार्नु वा बेवास्ता गर्नुले उचाईबाट खसेर दुखद अबशान हुने बाटोतिर जाँदै गरेको देखेपछि एउटा शुभचिन्तकको नाताले खतराको घण्टी बजाएर सजग बनाउने पर्यत्न गरिएको मात्रै हो । भीरमा लड्ने गोरुलाई राम(राम भन्न सकिन्छ तर काँध थाप्न कसैले पनि सक्दैन ।
ख) मालिकको शालिक या शालिकका मालिक ?
आफ्नो आस्था, आर्दशसँग जोडिएका कुनै महामानव वा आफन्तजनको मृत्यु पश्चात वा जिवित छदै उनको सम्मान तथा सम्झना स्वरुप शालिक बनाएर राख्ने परम्परा आजसम्म कायमै छ र भविष्यमा पनि कुनै न कुनै रुपमा यसले निरन्तरता पाइरहने छ । शालिक कहाँ, कसको बन्यो वा राखियो भन्ने कुरा भन्दा पनि कसरी, कुन प्रयोजनमा बन्यो वा राखियो भन्ने बिषय अलि महत्वपूर्ण हुन्छ ।
यहाँनेर आफन्तजनको मृत्यु पश्चात सम्झना ÷सम्मान स्वरुप निर्माण गरेर सार्वजनिक स्थानमा राख्ने शालिकहरु मृककको उपहास या अपमान हुने गरि जानी नजानी राखियो भन्ने मालिकका शालिक भनि जनताबाटै कटाक्ष हुन्छ । यता शालिक निर्माण र त्यसको संरक्षण गर्ने मालिकहरु पारिवारिक घेराभित्र कैद भएर समय परिस्थितीको नभई शालिकको मात्रै मालिक हुन पुग्दछन् ।
सीमित घेराभित्र रहेर शालिकको मात्र मालिक हुने हो भने मृत्यु पश्चात आफन्तजनले सम्झना स्वरुप शालिक निर्माण गर्नु भन्दा आफू जिवित छँदै सत्ता र शक्तिको उपयोग गरेर आफ्नै शालिक मनले चाहे जस्तो बनाएर आत्म सन्तुष्टी लिए भै हाल्यो नि ! सत्ता र शक्तिमा होऊञ्जेल आफ्नो अघिपछि लागेर जय(जयकार गर्ने हनुमान कार्यकर्ताहरुले साँझ (बिहान आफ्नो शालिकमा गएर फूल(चढाइ अगरबत्ति बालेर पुजा गर भनेर आदेश गरेपछि खुरु खुरु आदेशको पालना गरिहाल्छन नी ! के को चिन्ता ? कम्युनिष्ट आन्दोलन र त्यसमा पनि महान जनयुद्धको समयमा विश्वलाई नै चकित बनाउने महान योद्धाहरुको शालिक वा स्मारकहरु बनाएर शहिद तथा शहिद परिवारहरुको सम्मान गर्नेको साटो शहिदको पंक्तिमा आफ्नो कालगतिले दिवगंत पिताको शालिक राखेर शहिद र आफ्नै पिताको अपमान गर्नु कुनै कम्युनिष्ट नेताको नैतिकताभित्र पर्ने कुरा हो ? यस्तो कार्यले न शहिदको सम्मान भयो न त आफ्नै पिताको सम्मान भयो । आफ्नै पिताको शालिक बनाएर राख्ने नै हो भने पनि उहाँको उपयुक्त स्थान र भुमिका सहित राखिदिएको भए कत्ति उत्तम हुन्थ्यो ? आफ्नै पार्टीका कार्यकर्ताबाट मालिकका शालिक वा शालिकका मालिक ? भन्ने प्रश्न उठ्न पाउदैनथ्यो । उहाँको सामुनेमा पार्टीका कार्यकर्ताहरुले आलोचना गर्ने हिम्मत नगर्लान । किन कि आलोचक, विरोधीहरुलाई जसरी भएपनि निषेध गर्ने र साइड लगाउने प्रबृत्तिगत कार्यशैली सबैलाई राम्ररी थाह छ । तर हेक्का राख्नुपर्ने कुरा के हो भने बाहिर बनमा डढेलो लागेको भन्दा घर भित्र भुसको थुप्रोमा नदेखिने गरि सल्केको आगो बढी खतरनाक हुन्छ ।
अन्त्यमा, स्मरण गराउनै पर्ने कुरा के हो भने शालिक नै बनाउने हो भने कामी बुढा पछि विश्वेश्वर पोखे्रेल, दौलतराम घर्ति, युदु गौतम, हरिभक्त ओली, यज्ञश्वर शर्मा, मस्ट विष्ट, कविराम केसी, परविर बि.क. टोपजंग गहतराज, परम्परा गौतम, सपना र विजोग लगायतका शहिदहरु जो राज्य र तत्कालिन विद्रोही पक्षबाट हत्या गरिएका छन् । उनिहरुबाट शुरुवात गरेर साझा अभिभावकीय भुमिका निर्बाह गरौं । शहिद कुनै पार्टी, समुदाय, व्यक्तिका हुदैनन । शहिद त यि सबैभन्दा माथि उठेर राष्ट्रका हुन्छन । माखाको पित्त भन्दा सानो चित्तले महान नेता बनिदैन । बेलैमा चेतना भया
लेखक ः समाजवादी पार्टीका केन्द्रिीय सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *