महिला हत्याको विरोधमा आन्दोलन
रेखदेख सवाददाता । महिला हत्याको विरोधमा आन्दोलन गरिएको छ । गत सोमबार तीजब्रतको दिनमा मुसिकोट नगरपालिका (३ गोगनपानीका नविन खड्काले श्रीमति कमला खड्काको हत्याको विरोधमा महिला अधिकारकर्मीहरुले विरोध जनाएका हुन् । मदिराका कारण समाजमा महिला हिंसा र आपराधिक घटनाहरु बढेको भन्दै मदिरा व्यवस्थापन गर्न समेत उनीहरुको माग छ । महिला अधिकार संगठनहरुले शुक्रबार सदरमुकाममा ¥याली प्रदर्शन गरी प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।
महिला मानवअधिकार रक्षक सञ्जाल, शान्ति र सुशासनका लागि नागरिक दवाव समूह, एकल महिला जिल्ला सञ्जाल लगायतका महिला संघ संगठन र समूहरुले आन्दोलन गरेका हुन् । गत सोमबार तीजब्रतको दिन कमला खड्कालाई उनकै श्रीमानले हत्या गरेका थिए ।
आन्दोलनको क्रममा महिलाहरुले श्रीमती हत्या गर्ने नविन खड्कालाई हदैसम्मको कारवाहीको माग समेत गरेका छन् । ‘कुनैपनि बहानामा यस्ता हत्याराहरु छुट्नु नहुँने अनेमसंघकी प्रतिनिधि व्यूझना पुनले बताईन् । जिल्लामा मदिरा व्यवस्थापन गर्नु पर्ने धारणा महिलाहरुको रहेको छ ।
उच्च अदालत सुर्खेतले मदिरा व्यवसायीलाई मदिरा व्यवसाय गर्न रोक नलगाउने र समाजको बृहत्तर हितलाई ध्यान दिँदै मदिराको व्यवस्थापन गर्ने भनी फैसला गरेपछि जिल्ला समन्वय समिति रुकुमले पश्चिमले मदिरा व्यवस्थापनका लागि पुनः पहल थालेको छ ।
मदिराले समाजमा चोरी डकैती, बलात्कार, सामाजिक अपराध, आर्थिक तथा मानव स्वास्थ्यमा क्षति र पर्याबरणीय असर ब्याप्त भएकोले यसकालाई व्यवस्थापन गर्न खोजिएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताएका छन् । अदालतको फैसलापछि समन्वय समिति, जिल्ला प्रशासन, प्रहरी र जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुबीच बैठक बसी मदिरा व्यवस्थापन गर्नका लागि सरोकारवालाको सुझाव लिन एक समिति समेत गठन गरिएको प्रमुख शर्माले बताए ।

