दलित प्रवृत्ति र स्वाभिमान
दलित प्रवृत्ति भनेको कमजोर मनोबिज्ञान भएको दासमनोवृत्ति चिन्तनको उपज हो । दास मनोवृत्ति चिन्तन भनेको परनिर्भरताकै पराकाष्टा हो । दास मनोवृत्ति चिन्तनले ठुला(बडाको सेवा(चाकडी गर्नुमा नै आफ्नो भविष्य देख्छ । हात्तीले आफ्नो क्षमताको अन्दाज गर्न नसकेर एउटा माहुतेको आदेशमा जता भन्यो त्यतै जानुपर्ने हुन्छ ठिक त्यस्तै खालको अवस्था दलित प्रवृत्तिको हुन्छ ।

उपेन्द्रलाल कामी ।
उच्च जातीय अहंकारवाद एवं सामन्ती ब्राम्हणवाद अर्थात सर्वसत्तावादी एकल जातीवादको बैचारिक सत्ता(संस्कृतिले जकडिएको नेपाली समाजमा राजनैतिक ब्यवस्थाहरु परिवर्तन हुदै आएको भएता पनि सामाजिक(साँस्कृतिक रुपान्तरण तथा आर्थिक अवस्था परिवर्तनमा खासै कुनै प्रगति हासिल भएको छैन । आर्थिक सम्बृद्धिसंगै सामाजिक(साँस्कृतिक रुपान्तरणको यात्रामा उच्च जातीय अहंकारवादी तथा सामन्ती ब्राम्हणवादी चिन्तनगत प्रवृत्ति जति बाधक छ त्यो भन्दा अझै बाधकको रुपमा रहेको उत्पीडित समुदायको मनोबिज्ञानमा जमेर बसेको दलितवादी प्रवृति नै हो । दलितवादी चिन्तनगत प्रबृत्ति उत्पीडित समुदायको नकारात्मक पहिचान बनेको मनोबिज्ञान पनि हो । दलितवादी चिन्तनगत प्रगतिको मनोबिज्ञान हावी भएसम्म हाम्रो समाजको बिकास र सम्बृद्धि सम्भव छैन । जसरी उच्च जातीय अहंकारवाद तथा सामन्ती ब्राम्हणवादी चिन्तन ब्राम्हण जातीमा मात्र नभइ अन्य जाती÷समुदायमा पनि भएजस्तै दलितवादी चिन्तन÷प्रवृत्ति गैर(दलितहरुमा पनि हुने गर्दछ । मात्रात्मक हिसावले धेरथोर हुन सक्छ तर यि चिन्तगत÷प्रवृत्तिहरु नेपाली समाजको सबै जाती÷समुदायमा संस्कारकै रुपमा जमेर रहेका छन । समाज बिकासको यात्रामा अवरोध बनेको दलित प्रवृतिको श्रोत, प्रकृति र यसका असरहरु अनि स्वाभिमानको महत्व बारे यस आलेखमा संक्षिप्त चर्चा गर्न खोजिएको छ ।
(क) दलित प्रवृत्तिको श्रोत, प्रकृति र असरहरुः
सैद्धान्तिक तथा राजनैतिक दृष्टिीकोणबाट हेर्दा दलित समस्या र चिन्तनगत प्रवृत्तिको श्रोत वर्णाश्रम सामन्ती राज्य ब्यवस्था हो । परिवारमा होस या समाजमा कुनै पनि कार्य ब्यवस्थापन गर्दा क्षमता, रुची र आवश्यकता अनुसार श्रम बिभाजन गर्नुपर्ने हुन्छ । खासगरि मानव जातीलाई नै बिभाजन गर्नेगरि हिन्दु सामन्ती राज्यसत्ताले मनुस्मृति धार्मिक ग्रन्थमा आधारित भएर जातीय बिभेदजन्य तहगत असमानता भएको वर्णाश्रम ब्यवस्था र संस्कृतिको जग खडा गरेपछि शिल्पकारी श्रमिकहरुको एउटा हिस्सालाई अछुतको दर्जामा रहेर सदियौंदेखि नारकीय जीवन जिउन बाध्य पारियो । शास्त्रीय ज्ञान, शिक्षा आर्जन गरेर धार्मिक कर्मकाण्ड गर्नेलाई सर्वोच्च श्रेणीको ब्राम्हणजाति, शासन सत्ताको बागडोर सम्हाल्ने र लडाइ लड्नेलाई उच्च श्रेणीको क्षेत्रीजाति, कृषि तथा उद्यमशीलता गर्नेलाई मध्यम श्रेणीको वैश्यजाति र सेवा कर्म एवं सिल्पकारी काम गर्नेलाई तल्लो दर्जाको शुद्र जातिको उपमा दिएर जातीय बिभेद तथा छुवाछूत जस्तो निकृष्टतम प्रथा लाद्ने काम गरियो । आर्थिक जीवनस्तर, शैक्षिक ज्ञानस्तर र राजनीतिक चेतनास्तर माथि उठेकाहरुको मनोबिज्ञान आफुलाई अब्बल दर्जाको मान्छे ठान्ने खालको हुन्छ भने आर्थिक, शैक्षिक ज्ञान र राजनैतिक चेतनास्तर नउठेका मान्छेको मनोबिज्ञान आफुलाई तल्लो दर्जाको रैती ठान्ने कमजोर मनोबिज्ञान जब्बर रुपमा रहेको हुन्छ ।
दलित प्रवृत्ति भनेको कमजोर मनोबिज्ञान भएको दासमनोवृत्ति चिन्तनको उपज हो । दास मनोवृत्ति चिन्तन भनेको परनिर्भरताकै पराकाष्टा हो । दास मनोवृत्ति चिन्तनले ठुला(बडाको सेवा(चाकडी गर्नुमा नै आफ्नो भविष्य देख्छ । हात्तीले आफ्नो क्षमताको अन्दाज गर्न नसकेर एउटा माहुतेको आदेशमा जता भन्यो त्यतै जानुपर्ने हुन्छ ठिक त्यस्तै खालको अवस्था दलित प्रवृत्तिको हुन्छ । दलित चिन्तनगत प्रवृत्ति बोकेको मान्छे भौतिक रुपमा सवल भएपनि मानसिक रुपमा असाध्यै दुर्वल हुन्छ । मानिसका जीवनमा आइपर्ने समस्या एवं चूनौतिहरुको सामना गर्दै अघि बढ्नुको सट्टा डराएर भाग्ने वा आत्मसर्मपण गर्ने खालको दमित सोंच रहेको हुन्छ । समस्या एवं चूनौतिहरुलाई अवसरको रुपमा ग्रहण गरेर संघर्ष गर्न नसक्नेहरुले जीवनमा कुनैपनि प्रगति गर्न सक्दैनन र आत्मसम्मानयुक्त स्वाभिमानी मान्छे भएर बाँच्न पनि सक्दैनन ।
संघर्ष बिना मुक्ति पनि सम्भव छैन । कसैको आडमा केही समय अरुलाई देखाउनका लागी कुनै अवसरको उपभोग गरेर ब्यक्तिगत लाभ त लिन सकिएला तर उड्ने पखेटा काटेर पिंजडामा थुनेको सुगाको हालत जस्तै अवस्था भोग्नुपर्ने हुन्छ । मालिकले दिएको खाने र सिकाएको कुरा बोल्ने बाहेक स्वतन्त्र भइ आकासमा उडेर संसार घुम्ने अवसरबाट बञ्चित हुनुपर्दछ । दविएको मानसिकता, हिनताबोध, कुण्ठा, अज्ञानता, परनिर्भरता, डरपोक, अबिश्वास तथा अन्धबिश्वास दलित प्रवृत्तिका नकारात्मक असरहरु हुन । आफुलाई उच्च ठान्ने ब्राम्हणवाद र तुच्छ ठान्ने दलितवादी चिन्तन÷प्रवृत्ति स्वरुपमा भिन्न भएपनि हिन्दु सामन्तवादी संरचना र संस्कृतिका एउटै सिक्काका दुईवटा पाटा नै हुन । दलितवादी चिन्तनगत प्रवृत्तिको नकारात्मक असरका केही उदाहरणहरु राजनैतिक क्षेत्रमा हेर्दा राजनैतिक पार्टीभित्र दलित नेता(कार्यकर्ताहरुको दयनीय हालत हुनु, राज्यको नीति निर्माण गर्ने र राज्यसत्ता सञ्चालन गर्ने स्तरमा दलित समुदायको पहुँच नहुनु, राजनैतिक दलित भातृ संगठनहरुको भूमिका पार्टीको महत्वपूर्ण अंगको रुपमा नभइ पूच्छर सरहको रुपमा हुनु र सामाजिक क्षेत्रमा हेर्दा दलित गैर(सरकारी सामाजिक संस्थाहरु दातृ निकायको तोकिएको नियम, बिधि, बजेट र कार्यक्रम बिना आफ्नै बलबुताले चल्न नसक्ने अवस्था हुनु दलित चिन्तनगत प्रवृत्तिले गाँजेको नकारात्मक असरका परिणाम हुन ।
(ख) स्वाभिमानको आवश्यकता र महत्व ः
दलितवादी चिन्तन÷प्रवृत्तिलाई धक्का दिएर निर्मूल गर्ने एकमात्र अचुक अस्त्र भनेको स्वाभिमानको भाव जागृत गर्नु नै हो । स्वाभिमानको भावलाई जगाएर गतिशील तथा क्रियाशील बनाउन सकियो भने मात्र दलितवादी चिन्तन÷प्रवृत्तिलाई ठुलो धक्का दिएर निर्मूल गर्न सकिने छ । दलितवादी चिन्तन÷प्रवृत्तिको निर्मूल गर्नु भनेको सामन्ती ब्राम्हणवादी चिन्तन÷प्रवृत्तिको अस्तित्व पनि समाप्त पार्नु हो । किन कि सामन्ती ब्राम्हणवादी चिन्तन÷प्रवृत्तिको अस्तित्व पनि दलितवादी चिन्तन÷प्रवृत्तिसंग अभिन्न रुपले जोडिएको हुन्छ । ब्राम्हणवाद सामन्तवादी संरचना र संस्कृतिको मष्तिष्क हो भने दलितवादी चिन्तन÷प्रवृति भनेको मुटु हो । मुटु र मष्तिष्क बीचमा अन्तरबिरोध तथा अन्तरसम्बन्ध अन्योन्याश्रित हुने भएकोले दलित प्रवृत्तिको मुटुबिना ब्राम्हणवादी मष्तिष्कको अस्तित्व स्वतः समाप्त हुनेछ ।
दलित मुक्ति आन्दोलनको अगुवाइ गर्ने दलित संगठनका नेतृत्व तथा अभियन्ताहरु स्वाभिमानी नभइकन दलित मुक्ति सम्भव छैन । दलित आन्दोलनलाई सत्ताको जुठो(पुरो चाख्न उक्लने भ¥याङ वा दातृ निकायहरुसंग मागी खाने भाँडो मात्र बनाइयो भने
दलित समुदायले कहिल्यै पनि मुक्ति प्राप्त गर्ने छैनन । जातीय बिभेद तथा शोषणको रुप समय परिस्थिती अनुसार फेरबदल भएता पनि बिभेद र शोषण कायमै रहेको हुन्छ । उदाहरणको लागी दास युगमा दासहरुलाई फलामको सिक्रिले घाँटीमा बाँधेर किन(बेच गरिन्थ्यो भने अहिले बिचार, प्रलोभन र अवसरहरुको बन्धनले टाउको तथा हात(खुट्टाहरु बाँधेर रगत, प्राणयुक्त रोवोर्ट जस्तै बनाएर आफु अनुकुल श्रमदासको रुपमा किन(बेच गरेर उपयोग गरिहेको अवस्था छ ।
जुन कुरा बिभिन्न स्तरबाट उपयोग भइरहेका धेरै मानिसहरुलाई थाह हुदैन । कार्ल माक्र्सको दर्शन, अर्थशास्त्र र बैज्ञानिक समाजवादको सिद्धान्त पूँजपिति वर्गले जति छिटो बुझेर माक्र्सवादी सिद्धान्तमाथि प्रहार गरे भने सर्वहारा मजदूर वर्गलाई माक्र्सवादी सिद्धान्त बुझेर लागु गर्न र त्यसको प्रतिरक्षा गर्न सयौं बर्ष लागीरहेको छ । यसबाट के पुष्टि हुन्छ भने शोषक वर्गले आफ्नो हित बिपरितका सिद्धान्त तथा गतिबिधिहरु जति चाँडो बुझ्न सक्छन तर शोषित वर्गलाई आफ्नो हित हुने कुरा सिकाउन हजार गुणा ढिलो र कठिन हुन्छ । दलितवादी चिन्तन÷प्रवृत्तिबाट मुक्त हुने र सामन्ती ब्राम्हणवादी चिन्तन÷ प्रवृत्तिमाथि बज्रप्रहार गर्ने नै हो भने पहिला आफै भित्रको स्वाभिमानको भावलाई जागृत गर्न जरुरी छ । स्वाभिमान भनेको यस्तो चिज हो जसले कसैमाथि बिभेद(अन्याय गर्दैन र अरुले गरेको पनि सहदैन । स्वाभिमानी हुनु भनेको समकालिन अवस्थामा क्रान्तिकारी बन्नु पनि हो । स्वाभिमान कुनै जाती÷समुदायको पक्षधरता वा बिरोधी हुदैन । स्वाभिमानको पक्षधरता हुन्छ भने केवल सत्य, न्याय र मानवतावादको पक्षमा हुन्छ र बिरोधी हुन्छ भने केवल सबैखाले शोषण, बिभेद र अमानवीयताको बिरुद्धमा हुन्छ ।
स्वाभिमान जहिले पनि ज्ञान र विवेकको भोको हुन्छ भने पद, प्रतिष्ठा र पैसाको कहिल्यै पनि भोको हुदैन । आत्म अनुशासन र अधिकारको आधारमा स्वाभिमानले स्वतन्त्रतालाई आयाम बनाएको हुन्छ । स्वाभिमानले अधिकारलाई लेन(देन गर्ने, माग्ने वा खोस्नेको रुपमा होइन कि हरेक मानिसका जन्मसिद्ध अधिकारहरु स्वतः प्राप्त भएका हुन्छन र ति अधिकारहरुको सहि पहिचान तथा प्रयोग गर्नु पर्दछ भन्ने मान्यता राख्दछ । स्वाभिमानले राज्य शक्तिको जिम्मेवारी सम्हालेका ब्यक्तिहरु ठुला होइनन कि जनताको मत पाएर ब्यवस्थापकीय काम गर्न गएका जिम्मेवार जनप्रतिनिधिको रुपमा स्वीकार गर्दछ तर नागरिकलाई निरिह ठानेर स्वघोषित माननीय तथा सम्माननीयको पगरी गुथ्नेलाई कदापि स्वीकार गर्दैन । स्वाभिमानले दलित पहिचानबाट संघर्ष गरेर दलित प्रवृत्तिगत पहिचान र बिभेदहरु मुक्त गर्नुपर्दछ भन्ने मान्यता राख्छ तर दलित प्रवृत्ति र पहिचानलाई संरक्षण गर्दै दलित आन्दोलनलाई मागी खाने भाँडोको रुपमा उपयोग गर्ने चिन्तनगत कार्यशैलीलाई कदापि स्वीकार गर्दैन ।
तसर्थ साँचो अर्थमा दलित मुक्ति आन्दोलनको अगुवाइ गर्ने हो भने अब दलित आन्दोलन मानवतावादी आन्दोलनको एउटा अंगको रुपमा स्वीकार गर्दै स्वाभिमानको बिषयलाई पनि यसैसंग अभिन्न रुपले जोडेर लैजानुपर्ने हुन्छ । स्वाभिमान सहितको दलित आन्दोलनले सहअस्तित्वका लागी असमानता एवं बिभेदका बिरुद्धमा संघर्ष गर्न मात्रै सिकाउदैन सामाजिक सद्भावको लागी समता र भातृत्वलाई पनि नयाँ ढंगले स्थापित गर्दछ ।

