मौसम खराब हुँदा आन्तरिक उडान अवरुद्ध

उडानका लागि मौसम अनुकुल नहुँदा पश्चिम नेपालका हवाई उडान अबरुद्ध भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारीअनुसार भैरहवादेखि पश्चिमका सबै उडान अवरुद्ध भएका छन्।

अहिले पोखरासम्ममात्र जहाज गएको विमानस्थलका प्रवक्ता प्रताव तिवारीले जानकारी दिए। पूर्वी नेपालमा भने उडान भइरहेको छ। तर यो समाचार तयार पार्दासम्म काठमाडौंबाट विराटनगरका लागि गएको बुद्ध एयरको जहाजले अवतरण गर्न सकिरहेको छैन।

विमानस्थलहरूमा सामान्यतया दुई नियमअनुसार जहाज उडान–अवतरण गरिन्छ । एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) । सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ । यस नियमअनुसार काठमाडौंमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ । यो नियमअनुसार जहाजको उडान अवतरण छिटो हुन्छ । किनकि यसमा पाइलटले आफैँ हेरेर कन्ट्रेल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन् ।

खराब मौसमका कारण भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ । यसका लागि काठमाडौंमा २ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । काठमाडौंबाहेकका विमानस्थलमा आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्छ ।

भिएफआरको तुलनामा आइएफआरमा उडान–अवतरणको समय बढी लाग्ने भएकाले जहाजहरू ग्राउन्डमा भए डिले हुने र आकाशका भए होल्ड गर्नुपर्ने समस्या देखिन्छ । setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *