भुमेको सेरावाङमा खानेपानी र सिँचाई
रेखदेख । रुकुम (पूर्व) को भुमे गाउँपालिका वडा नं. ५ सेराबाङ खानेपानीसगै सिचाई सुविधा पुगेको छ । रिजाखोला बहुउद्देश्य पानी प्रणाली आयोजना निर्माण पश्चिात घर(घरमा खानेपानी धारा र खेतबारीमा सिँचाइको सुविधा पुगेको हो । घरमा खानेपानीका धारा र बारीमा सिँचाई सुविधा पुगेपछि स्थानीय खुसी भएका छन् ।
३२ घरधुरी रहेको उक्त सेराबाङ गाउँमा युएसआइडिको सहयोगमा रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित पहल कार्यक्रम मार्फत खानेपानी र सिँचाइको सुविधा पु¥याइएको हो ।
पहल कार्यक्रमको रु. ४ लाख १६ हजार ६ सय ७३ रुपैँया र भुमे गाउँपालिकाको रु. १ लाख ५० हजार रुपैयाँ र स्थानीयको ३ लाख ४१ हजार ३ सय २० रुपैयाँ जनश्रमदान गरी जम्मा ९ लाख ७ हजार ९ सय ९३ रुपैयाँको लागतमा गाउँमा खानेपानी र बारीमा सिँचाई सुविधा पुगको स्थानीयले बताएका छन् ।
उनका अनुसार( खानेपानी र सिँचाइको लागी रिजाखोलामा १४ घनमिटरको ट्याङकी निर्माण गरिएको छ । उक्त ट्याङ्कीमा सेराबाङ गाउँलाई पुग्ने प्रशस्त पानी जम्मा हुने गरेको छ । जसबाट ४ वटा खानेपानीका धारा र ७ वटा सिँचाइकाे लागी धारा निर्माण गरीएकाे छ ।
उक्त आयोजनामार्फत टोेलमा पानी पुगेपछि टोलबासीको जीवन शैलीमा परीवर्तन आएको छ । स्वच्छ खानेपानी, वारीमा सिँचाई सुविधाका साथै सरसफाइ क्षेत्रमा समेत यहाँका बासीन्दाको ध्यान गएको छ ।
सरोकारवालाको अनुगमन
सेरावाङमा निर्माण गरिएको बहुउद्देश्य पानी प्रणालीको अनुगमन गरिएको छ । बैशाख १३ गते जिल्ला समन्वय समिति रुकुम पूर्वका समन्वय प्रमुख गजेन्द्र ओली, भुमे गाउँपालिकाका अध्यक्ष रामसुर वुढा, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, भुमे गाउँपालिकाका उपप्रमुख मनकुमारी वुढा, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली लगायत विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधीले खानेपानी तथा सिँचाई धाराको अनुगमन गरेका थिए । अनुगमनका क्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका समन्वय प्रमुख गजेन्द्र ओलीले खानेपानी तथा सिँचाई धाराको दिगोपनको लागि अग्रसर हुन स्थानीयलाई आग्रह गरेका थिए ।

