गाउँभरीको आम्दानी मौरीपालन

प्रविर ददेल
बैशाख १२, रुकुम ।सिस्ने गाउँपालिका वडा नं.–३ पोखराका ओमप्रकाश खड्कालाई पैसा कमाउन नत विदेश जानु प¥यो, नत शहर नै । उनले घरमै बसी बसी बार्षिक साढे ९ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनले एकै (कात्तिेक मह) सिजनमा २ सय ५० धार्नी मह बिक्री गरेर रु ५ लाख ५० हजार रुपैयाँ कमाएको बताए । रुकुमको बजारमा प्रतिधार्नी २ हजार रुपैयाँमा मह विक्री वितरण हुने गरेको छ ।
सिस्ने ३ पोखराकै कमलाल खड्का मौरीपालन व्यवसायमा १० वर्षदेखी आवद्ध छन् । उनले मह बेचरै बार्षिक ७ लाख रुपैयाँ सम्म कमाउने गरेका छन् । उनले एकै सिजनमा २ सय धार्नी मह बिक्री गरेर ४ लाख रुपैयाँ कमाएको बताए ।
त्यस्तै पोखरा गाउँकै डिलबहादुर खड्काले मह बेचर बार्षिक रु. ६ लाख रुपैयाँ कमाने गरेका छन् । यसै गाउँका भागीदल खड्का र लालबहादुर खड्का पनि व्यवसायी रुपमा मौरी पालन व्यवसायमा आवद्ध छन् । उनीहरुले मौरी पालन व्यवसायबाट बार्षिक २ लाख ५० हजार रुपैयाँ देखी साढे ४ लाख रुपैयाँ सम्म आम्दानी गरेको बताएका छन् ।
ओप्रकाशसँग १ सय ११ घार मौरी छन् । त्यस्तै कमलाल सँग ८० घार, भागिदल खड्कासँग ४० घार र डिलवबहादुर खड्कासँग ३५ घार मौरी रहेको बताएका छन् ।
पोखरा गाउँका धेरै किसानले मह बेचेरै राम्रो कमाइ गरिरहेका छन् । साबिकको पोखरा गाविसका १ र ४ वडा १ सय ३७ घरमा मौरीका घार रहेका छन् ।
यस गाउँमा सबैका घरमा मौरी रहेको र यसबाट राम्रो आम्दानी गरेको ओमप्रकाश खड्काले बताएका छन् । उनले भने, ‘पोखराका सबै घरमा मौरी छन, पछिल्लो समय यस गाउँलाई मौरीपाल्ने गाउँले चिनीन थालेको छ ।’
यस सिजनमा मौरीले राम्रो मह बनाएको व्यवसायहरुले बताएका छन् । कात्तिके सिजनमा मात्रै गाउँबाट मात्रै झण्डै ४५ लाख रुपैयाँ बराबरको मह बिक्री भएको कमलाल खड्काले बताए ।
उनका अनुसार कात्तिके सिजनमा झण्डै ६ हजार ५ सय २५ किलोग्राम) २ हजार २ सय ५० धार्नि मह बिक्री गरेको अनुमान व्यवसायीहरुले गरेका छन् । रुकुमको बजारमा प्रति किलोग्राम रु. ८ सय रुपैयाँ मह खरिद विक्री भैईरहेको छ ।
एक घार मात्रै मौरी भएकाले पनि यस सिजनमा ५ देखि ८ धार्नी सम्म मह बिक्री गरेको भागिदल खड्काले बताए ।
किसानसँग अझै पनि बिक्रीका लागि मह बाँकी छ । असोज पहिलो सातादेखि पुसको अन्तिमसम्म निकालिएको कात्तिके सिजनको मह बढी खोजिन्छ । पोखरामा हरेक वर्ष व्यावसायिक मौरी पालन गर्नेहरु बढिरहेका छन् । मौरीका पुराना र व्यावसायिक किसान ओमप्रकाश खड्का हुन् । उनीले सुरु गरेको व्यवसाय अहिले गाउँभरी फैलीएको छ । मह बिक्री गरेर राम्रो आम्दानी गर्ने पनि ओमप्रकाश नै अग्रस्थानमा छन् । यहाँका किसानहरुले मुढे, खोपे र आधुनिक घारमा मौरी पालिरहेका छन् । यस क्षेत्रमा सेरना जातको मौरी पाल्ने गरिन्छ ।
यो मौरीले एउटा घारबाट एक सिजनमै ७ धार्नी मह उत्पादन गर्ने गर्दछ । घारबाट ५० प्रतिशत मात्र मह काढ्ने गरिन्छ । चरन अभावका बेला मौरीले त्यही मह आहाराको रुपमा प्रयोग गर्ने गरेको छ ।
मौरीका लागि उपयुक्त मानिएको पोखरा मौरी पकेट क्षेत्रसमेत हो । गत सिजनमा सिस्ने गाउँपालिकाले किसानलाई मौरीसमेत वितरण गरेको थियो । गाउँपालिकाले मौरी वितरण गरेपछि व्यावसायिक मौरी पाल्नेको संख्या बढेको उनीहरुको भनाई रहेको छ ।
गाउँमै पुग्छन व्यापारी
यहाँ उत्पादित महलाई बजारको समस्या छैन । उपभोक्ताले असार महिना देखिनै गाउँमै पुगेर महको लागि अग्रिम भुक्तानी गर्ने गरेको स्थानीय किसानले बताएका छन् । धेरै उत्पादन हुने ठाउँमा उपभोक्ता पनि धेरै आउने हुनाले मह बिक्रीको खासै समस्या नभएको किसानहरूले बताए ।
विषादी मुक्त गाउँ
पोखरा मौरी पकेट क्षेत्र हो । यस गाउँमा विषादी प्रयोग गर्न पाईदैन् जिल्ला कृषि विकास कार्यालयले २०६५ सालमा विषादी मुक्त गाउँनै घोषणा गरेको हो । फलफूल तथा तरकारीमा रोग किरा देखिएमा जैविक प्रविधी मार्फत घरेलु उपचार गर्ने गरिन्छ । त्यसैले पनि मह गुणस्तरिय रहेको जिल्ला कृषि ज्ञान केन्द्र रुकुमका प्रमुख अमरराज शर्मा घिमिरेले जानकारी दिएका छन् ।
महका फाईदा
मह केटा केटी देखी बृद्धासम्मको लागि उपुयुक्त मानिन्छ । यसबाट प्रयाप्त मात्रमा प्रोटिन, भिटानमीनयुक्त भएकाले यसको सेवन निकै लाभदायी हुने कृषि ज्ञान केन्द्रका प्रमुख अमरराज शर्मा घिमिरेले बताए । उनले भने, ‘महको सेवबाट हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुनुका साथै दिर्घरोगीहरु, ब्लड प्रेशर, सुगुर, छालाका रोगी, ग्यास्टिक तथा पाचन प्रणाली यसले ठुलो सहयोग गर्ने गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *