विद्रोही नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को हुन ?

हेमन्तप्रकाश ओली दशवर्षे जनयुद्धको क्रममा प्रचण्डको नेतृत्वमा रुकुमबाट युद्धमा होमिएका थिए । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका घर भएका ओली जनयुद्धकालमा प्रचण्डपथको वकालत गर्ने मध्ये किरणपछिका नेता मानिन्थे । दार्शनिक वैचारिक नेताको छवि बनाएका ओली पछिल्लो समय नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिती सदस्य तथा मध्य केन्द्रिय कमाण्ड इन्चार्जको जिम्मेवारी सम्हालेका छन् ।

दशवर्षे जनयुद्धको क्रममा पहिलो राजनीतिक कमिसार भएर रुकुमको आठविसकोट चौकी आक्रमणको नेतृत्व गरेका ओली भुमिगत राजनीति गर्दै यहाँसम्म आइपुगेका हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछी पार्टीमा असन्तुष्टि जनाउदै छुट्टै पार्टी नेकपा न्यूक्लियस गठन गरेर राजनीतिमा सक्रिय थिए ।

त्यसपछी विप्लव नेतृत्वको नेकपामा पुगेका ओली सो पार्टीमा तेश्रो वरियतामा छन् । विप्लव, प्रकाण्डपछी ओलीको वरियता तोकिएको छ । उनी साहित्य तथा दर्शनको क्षेत्रमा एचपी हिमालीको नामबाट चिनिन्छन । अध्यनशिल नेताको रुपमा छवि बनाएका ओली लामो समय जेल जीवन विताउने नेतामध्ये एक हुन् । जनयुद्धको क्रममा उनी बाजुराबाट २०५५ माघ २८ गते पक्राउ परेर २०५८ साल असार २१ गते रिहा भएका थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा चासो राख्न थालेका उनी २०३७ सालमा अनेरास्ववियूको सदस्य, २०३९ सालमा रुकुम जिल्ला सदस्य, २०४० मा तत्कालीन प्रतिबन्धित नेकपा मशालको सदस्य, २०४४–०४८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य, विद्यार्थी नेता र पार्टी एरिया सदस्यको हैसियतामा जनआन्दोलनमा सहभागीहुँदै २०४८ सालमा नेकपा एकताकेन्द्रको जिल्ला सदस्य, २०५१ सालमा रुकुम जिल्ला सेक्रेटरी भएका थिए । २०५४ सालमा भारतको हरियानामा भएको बैठककबाट नेकपा माओवादीको केन्द्रीय सदस्यमा चयन भएका थिए । एक बर्षपछि बझाङ र बाजुराम कार्यक्षेत्र भएको बेला जेल परेका ओली रिहा भएपछि पुनः २०५५ को गोवा बैठकबाट केन्द्रीय समितिमा सामेल भएर जनयुद्धकालमा कमिसार र राज्यको इञ्चार्जको रुपमा सक्रिय भएका थिए ।

शान्ति प्रक्रियापछि तत्कालीन राप्ती ब्यूरो इञ्चार्ज हुँदा जनएकता तथा रुपान्तरण अभियानको अगुवाइ गरेका ओली लामो समय मगराज राज्य समिति इञ्चार्जको रुपमा क्रियाशील थिए । राजनीतिमा आदर्श र सिद्धान्तबाट च्युत हुनेका विरुद्ध सधै लड्ने प्रण गरेको भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्द हुन पुगेका थिए । विप्लवले नेतृत्व गरेको नेकपाका मध्य केन्द्रिय कमाण्ड इन्चार्ज तथा स्थायी समिती सदस्य ओली जेल जीवन र लामो संघर्षका कारण सुगरबाट ग्रसित छन् ।

नेपालमा राज्यले वैधानिक लुट मच्चाएको भन्दै दलाल, भ्रष्टाचारी, घुसखोरी तथा फटहालाई निशाना बनाएर कारबाही गर्ने भन्दै सुरु भएका विप्लवका गतिविधिलाई सरकारले प्रतिवन्ध लगाएपछी भुमिगत हुन पुगेका थिए । यहि क्रममा २०७५ चैत ९ गते प्रहरीले उनलाई काभ्रेबाट फेरि गिरफ्तार गरेको छ। https://www.lumbinivoice.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *