घरछेउमै प्राविधिक शिक्षा
प्रवीर ददेल
फागुन १३ रुकुम ।
कुनै बेला प्राविधीक शिक्षा पढन नेपालगञ्ज, काठमाण्डौ र पोखरा पुग्न रुकुमेली विद्यार्थीहरुले घरछेउमै प्राविधिक शिक्षा पढन पाएका छन् । रुकुमका सामुदायिक विद्यालयहरुले घर गाउँकै प्राविधिक शिक्षा पढाउन थालेपछि विद्यार्थीहरु सहज भएको छ ।
मुसिकोट नगरपालिका १, की करुणा पाण्डेले त्रिभुवन जनता माध्यमिक विद्यालयमा सिभिल ओभरसियरको पठनपाठन थालेकी छन् । विद्यालयले यसै वर्षदेखि सुरु गरेको सिभिलतर्फको तीनवर्षे कोर्स अध्ययन गर्न पाण्डे घरबाटै आउने जाने गरेकी छिन् ।
त्यस्तै सानीभेरी गाउँपालिका–९, की पार्वती खडका पनि घर नजिकैको राप्ती ज्ञानोदय माध्यमिक विद्यालयले यसै बर्षदेखि सुरु गरेको बाली विज्ञान अन्तर्गत १८ महिने कोर्स अध्ययनका लागि भर्ना भएकी छन् । सिम्लीका वीरभान भण्डारीले पनि राप्ती ज्ञानोदयमै बाली विज्ञानको पढाइ सुरु गरेका छन् । उनीहरु मात्रै होईन यो वर्ष जिल्लाका २ सय ४८ विद्यार्थीले विभिन्न सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गदै छन् ।
प्राविधिक शिक्षालाई सबैको पहुँचमा पु¥याउने गरी गाउँ गाउँका सामुदायिक विद्यालयले विभिन्न विषयका पठनपाठन थालेका छन् । यसै वर्षदेखि जिल्लाका पाँच सामुदायिक विद्यालयले प्राविधिक शिक्षा सुरु गरेका हुन् । मुसिकोट नगरपालिकाको त्रिभुवन जनता मावि, बाँफिकोट गाउँपालिकाको वीरेन्द्र मावि, सानीभेरी गाउँपालिकाको राप्ती ज्ञानोदय माविले प्राविधिक शिक्षा सुरु गरेको जनाएका छन् ।
त्यस्तै त्रिवेणी गाउँपालिकाको त्रिवेणी मावि र जनप्रिय माविले पनि प्राविधी शिक्षामा भर्ना सुरु गरेका छन् । सामुदायिक विद्यालयले सिभिल ओभरसियर, कम्प्युटर इन्जिनियर, बाली तथा पशु विज्ञानको पठनपाठन सुरु गरेका हुन् । केही विद्यालयमा भर्ना चलिरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अनुमतिपत्र लिएर अध्यापनको व्यवस्था मिलाइएको हो । त्रिभुवन जनता माविले सिभिल ओभरसियरको पठनपाठन सुरु गरिसकेको छ । उक्त कोर्षमा ४८ विद्यार्थीले अध्ययन थालेका छन् । विरेन्द्र माविले कम्प्युटर इन्जिनियरका लागि ४० जना भर्ना लिइरहेको छ ।
त्रिवेणीमा तीनवर्षे बालीविज्ञान, जनप्रिय माविले १८ महिने बालीविज्ञान, राप्ती ज्ञानोदय माविले पशु र बाली विज्ञानतर्फका १८÷१८ महिनाको कोर्स अध्यापनका लागि भर्ना लिइरहेका जनाएका छन् । सबै कोर्षमा ४० जनाको कोटा कायम गरिएको छ । केही विद्यालयले प्राविधिक शिक्षा तर्फ यसअघि नै पठनपाठन सुरु गरिसकेका छन् । जसमा मेहन्द्र मा.वि. छिवाङ र प्रभात मा.वि. छिवाङले कृषि जेटिए पढाई रहेका छन् । पछिल्लो समय रुकुम पश्चिममा मात्रै झण्डै चार सय हाराहारीमा प्राविधिक जनशक्ति उत्पादन हुने गरेको जिल्ला शिक्षा समन्वय विकास समन्य एकाइ प्रमुख लालबहादुर घर्तिका अनुसार वर्षमा झण्डै ४ सय विद्यार्थी प्राविधिक शिक्षा पढ्ने गरेको बताए । उनले भने, घर गाउँमै प्राविधिक शिक्षा पठन पाठन हुनेभएपछि विद्यार्थीलाई सहज भएको हो । पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण समेत वढेको छ ।

