प्रयोग नहुँदै विद्यालय भवन जीर्ण
रेखदेख सल्यान । सल्यानको एक विद्यालयको भवन प्रयोगमा नआउँदै जीर्ण बनेको छ । जिल्लाको घाँजरीपिपलमा रहेको कृष्ण माध्यमिक विद्यालय, लेखसग्रहीको नयाँ भवन प्रयोग नहुँदै भत्कन थालेको हो । आव २०६३÷६४ मा साविक घाँजरीपिपल गाविसको ९ लाख २५ हजार लागतमा विद्यालयको ६ कोठे भवन बनाइएको थियो ।
स्थानान्तरण विवादका कारण प्रयोग नभएपछि विद्यालयको भवन भत्किँदै गएको हो । विद्यालय साविक घाँजरीपिपल गाविस–७ बाट वडा नं ५ मैदुपोखरीमा सार्ने निर्णय भएको थियो । विद्यालय सार्ने विषयमा नीतिगत समस्या भएपछि निमार्णाधीन भवनको केही काम अधुरै थियो ।
उक्त भवनका पाँच कोठाका जस्तापाता र काठ हावाले उडाएको छ । भवन मर्मत सम्भार गरी प्रयोगमा ल्याउनुपर्ने स्थानीयको माग छ । विद्यालयका लागि हाल नगर तथा वडाबाट बजेट नआउँदा काम अघि बढाउन नसकिएको स्थानीय जितबहादुर खड्काले वताए । मर्मत सम्भार भएमा विद्यालय स्थानान्तरण नभए पनि अन्य प्रयोजनमा काम लाग्ने स्थानीयको भनाइ छ ।

