उप निर्वाचनः सानीभेरी ५ को वडाध्यक्षको लागि ४ जनाको उम्मेद्वारी दर्ता
रेखदेख संवाददाता
मंसिर २, रुकुम पश्चिम । सानीभेरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षको लागि ४ जनाको उम्मेद्वारी परेको छ । मंसिर १६ गते हुने वडाध्यक्षको उप निर्वाचनको लागि ४ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत गोविन्द कोइरालाले जानकारी दिएका छन् ।
उनका अनुसार नेपाली काँग्रेसको तर्फबाट मोतिराम खत्री, नेकपा माओवादी केन्द्रको तर्फबाट जसीराम बस्नेत, एकीकृत समाजवादीबाट हंसराज पुरी र स्वतन्त्र उम्मेद्वार विरबहादर बस्नेतको उम्मेदवारी परेको हो ।
नेपाली काँग्रेसका उम्मेदवारलाई नेकपा एमाले, नेपाल समाजवादी पार्टीको समेत समर्थन जनाएको छ ।
उता माओवादी केन्द्रको उम्मेद्वारलाई नेपाल कम्युनिष्ट पार्टी विप्लवको साथ रहेको छ । भने माओवादीकै तर्फबाट स्वतन्त्र उम्मेदवारी पनि परेको जनाएको छ । यसअघि एकीकृत समाजबादी पार्टीले माओबादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने भनिएपनि अन्तत उम्मेदवारी दर्ता गराएको छ । २०७९ मा भएकाे स्थानीय तहकाे निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार अलबहादुर खनालले चुनाव जितेका थिए । कलेजाे, मृगाैला र फाेक्साेमा समस्या देखिएपछि उपचारकाे शिलशिलामा २०८० साल माघ २२ गते उनकाे निधन भएपछि उप निर्वाचन हुन थालेको हो ।
यस्तो थियाे२०७९ सालकाे निर्वाचन परिणाम
२०७९ मा भएको निर्वाचनमा गठबन्धन र माओवादीका उम्मेदवार बिचको मतान्तर २८ थियो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अलबहादुर खत्री ४ सय ६२ मत पाएर निर्वाचित भएका हुन ।उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४ सय ३४ मत पाएका थिए । उक्त चुनावका लागि वडामा मतदाता सङ्ख्या १२ सय ५७ रहेको थिए । तर उप निर्वाचनकाे लागि भने मतदाता सङ्ख्या बढेको छ । आगामी मङ्सिर १६ गते हुन लागेको उप निर्वाचनकाे लागि वडामा १४ सय ४६ जना मतदाता रहेका छन् ।