रुकुमेली समाज विकास केन्द्रको अध्यक्षमा क्षेत्रीयाल
रेखदेख संवाददाता
असोज ७, रुकुम ।
रुकुमेली समाज बिकास केन्द्र रुकुमको १९ औं बार्षिक साधारण सभा तथा ८ औं अधिबेशन सम्पन्न भएको छ । सोमबार मुसिकोट खलंगामा भएको ८ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनबाट संस्थाको अध्यक्षमा केशनकुमार क्षेत्रीयाललाई निर्विरोध चयन गरेको छ । उनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
जसको उपाध्यक्षमा शुशिला शर्मा दाहाल, सचिवमा प्रबिर ददेल कोषाध्यक्षमा खिमसरा पुनलाई चयन गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिएका छन् । त्यस्तै सदस्यहरुमा कमल कुमार शाह, टेक बहादुर विक, दशरथ नेपाली, रन्जना विक र राम बहादुर पुनलाई चयन गरिएको छ ।
साधारण सभा रुकुमेली समाज विकास केन्द्रका निवर्तमान अध्यक्ष नरबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त्को विशेष आतिथ्यता रहेको थियो । भने जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, संस्थाका आजिवन सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थियो । २०६१ सालमा स्थापना भएको संस्थाले विभिन्न साझेदार निकायहरूको सहयोगमा काम गर्दै आएको छ ।
रुकुमेली समाज विकास केन्द्रले गत आर्थिक वर्ष २०८०र०८१ मा विभिन्न साझेदारी निकायहरुको सहयोगमा विभिन्न परियोजना मार्फत ८६ हजार ५ सय ६३ जनालाई सेवा प्रवाह गरेको छ । रुकुम पश्चिमका छवटा पालिका, रुकुम पूर्वका ३ वटा पालिका र जाजरकोट जिल्लाका २ वटा पालिका गरेर ३ जिल्लाका ८६ हजार ५ सय ६३ जनालाई सेवा प्रवाह गरेको जनाएको छ ।