दुर्गम गाउँमा सुबिधायुक्त प्रसूति भवन निर्माण

रेखदेख संवाददाता
साउन २४, रुकुम ।

रुकुम पश्चिमको दुर्गम गाउँमा सुबिधायुक्त प्रसूति भवन निर्माण गरिएको छ । त्रिबेणी गाउँपालिका वडा नं. ७ मुरूडाँडामा सुविधा युक्त प्रसूति भवन निर्माण गरिएको हो । त्रिबेणी गाउँपालिका, वान हार्ट वल्डवाईडको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्रको सहजीकरणमा त्रिवेणी गाउँपालिका वडा नं. ७ मुरूडाँडामा प्रसूति भवन निर्माण गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्सालले जानकारी दिएका छन् । उनले भने, त्रिवेणी गाउँपालिका वडा नं. ७ को मुरुडाँडामा सुविधा सम्पन्न प्रसूति भवन निर्माणकार्य सम्पन्न गरिएको छ ।
त्रिवेणी गाउँपालिकाको रु. २० लाख रुपैया र वान हार्ट वल्डवाईड तथा रुकुमेली समाज बिकास केन्द्र १७ लाख ४२ हजार ६ सय २ रुपैया गरी जम्मा ३७ लाख ४२ हजार ६ सय २ रुपैयाँ लागतमा सुबिधायुक्त प्रसूति भवन निर्माण गरिएको अध्यक्ष लम्सालले जानकारी दिएका छन् ।

सुबिधायुक्त प्रसूति भवनका जम्मा ८ वटा कोठा रहेका छन् । जसमा सुरक्षित प्रसूति कोठा, सुत्केरी आमा बस्ने कोठा, स्टेरीलाईजेसन कोठा, नर्स बस्ने कोठा, शौचालय,किचेन र सरफाई कोठाको व्यवस्था गरिएको स्वास्थ्य चौकीका जनस्वास्थ्य प्रमुख सुशिल विष्टले जानकारी दिएका छन् ।
यसअघि यहाँ प्रसूति भवन नहुँदा सामान्य कोठामा र खुल्ला चौरमा प्रसूति गराउनु पर्ने बाध्यता रहेको थियो । दुर्गम गाउँमा सुविधा सम्पन्न प्रसूति भवन निर्माण भएपछि स्थानीय खुसी भएका छन् । स्थानीय स्वयसेविका मञ्जु विकले भनिन, ‘प्रसूति भवन नहुँदा धेरै आमाहरु स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनु अनकनाउनु हुन्थ्यो, अव भवन निर्माण भएपछि सहज भएको छ ।’

प्रसूति उपकरण पनि सहयोग
त्रिबेणी गाउँपालिका वडा नं. ७ मुरूडाँडामा सुविधायुक्त प्रसूति भवन निर्माणसँगै प्रसूतिको लागि उपकरण समेत प्रदान गरिएको छ । वान हार्ट वल्डवाईडको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्रको सहजीकरणमा त्रिवेणी गाउँपालिका वडा नं. ७ मुरूडाँडामा प्रसूति भवन निर्माणसँगै प्रसूतिको लागि आवश्यक पर्ने उपकरण दिईएको वान हार्ट वल्डवाईड जिल्ला संयोजक लोकमणी गिरीले जानकारी दिएका छन् । उनले भने, वान हार्ट वल्डवाईडको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्रको सहजीकरणमा उक्त सामग्री प्रदान गरिएको हो ।
प्रसूति भवनको लागि डेलिभरी बेट,पोष्ट डेलिभरी बेट, टर्ली, अक्सिजन सिलिण्डर लगायत डेलिभरी सेट गरी जम्मा २ लाख बराबरको त्रिबेणी गाउँपालिका वडा नं. ७ मुरूडाँडामाको प्रसूति भवनमा उपकरण उपलब्ध बनाएको छ । उक्त सामग्रीहरुले प्रसूतिको लागि धेरै सहज हुने जनाएको छ ।

प्रसूति भवनको उद्घाटन
रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नं. ७ मुरूडाँडामा निर्माण गरिएको सुविधा सम्पन्न प्रसूति भवनको उद्घाटन गरिएको छ । बुधबार उक्त भवनको औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रम स्वास्थ्य चौकी व्यवस्था पनि समितिका अध्यक्ष तथा त्रिवेणी गाउँपालिका वडा नं. ७ का अध्यक्ष रणबहादुर खड्को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसी र विशेष अतिथिमा रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्सालको रहेको थियो ।


कार्यक्रममा वान हर्ट वल्र्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरी, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी अधिकृत नरेन्द्र ओली, जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मुरु स्वास्थ्य चौकी इन्चार्ज सुशील विष्टले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गणेश कुमार ओलीले भने, सुविधा सम्पन्न भवन निर्माण भएपछि गर्भवति, सुत्केरी आमाका साथै नवजात शिशुहरुलाई सेवा प्राप्तिको लागि सहज हुने विश्वास गरेका छन् ।
भवन निर्माणका लागि २०८० जेठ २५ गते सम्झौता भएको थियो । सम्झौता अनुसार भवन निर्माणको काम २०८१ को वैशाख ३० गते सम्पन्न हुनुपर्ने थियो । तर समयमा काम सम्पन्न नभएपछि समय थप भएको थियो । निर्माणको जिम्मा मुरु कन्स्ट्रक्सन एन्ड सर्भिसेज प्रालिले लिएको थियो । यो स्वास्थ्य संस्थाबाट रुकुम पश्चिम सहित सल्यानसम्मका बिरामी तथा गर्भवती महिलाहरूले सेवा लिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *