स्थानीय योजना सफल बनाउन पहल गर्छुः सांसद तामाङ
रेखदेख संवाददाता
माघ १,धादिङ ।
सासंद एवं पूर्वमन्त्री हितबहादुर तामाङले विकासका धेरै काम संघीय सरकारभन्दा स्थानीय र प्रदेश सरकारले गर्ने भएपनि केन्द्र सरकारबाटै योजना सफल बनाउन सघाउने प्रतिबद्धता जनाएका छन् । आईतबार निलकण्ठ नगरपालिका फ्याक्से धादिङमा भएको गोरु जुँधाइ कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै सांसद तामाङले स्थानीय योजनालाई सफल बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘हिजो संघीय सरकारले गर्ने गरेका ठुला ठुला योजना पनि प्रदेश र स्थानीय तहमा पठाइने गरेको छ’ उहाँले भन्नुभयो, ‘एक अर्ब १५ करोड बराबरको फक्सेटार धादिङबेसी सडक बनाउन संघीय सरकारले सम्बोधन गर्नुपर्छ भन्ने स्थानीयको मागलाई सम्बन्धित मन्त्री र सरकारसमक्ष लैजान पहल गर्ने प्रतिबद्धता जनाउछु’ ।

सांसद तामाङले चुनावका बेला भएको काँग्रेससँगको गठबन्धन काँग्रेसकै कारण तोड्नुपरेको बताएका छन् । चुनावअघि भएको सहमतीअनुसार काँग्रेसले सरकार गठन गर्न नमानेपछि एमालेसँग मिलेर सरकार बनाउनु परेको प्रष्ट पारे । ‘हिजो काँग्रेससँग गठबन्धन गरेर चुनावमा भोट माग्न र जिताएर पठाउनुस् भन्यौँ तर जितेर गइसकेपछि सरकार बनाउनेक्रममा काँग्रेसले चुनावअघिको सम्झौता नमान्ने खेल खेलेपछि एमालेसँग गठबन्धन गरेर सरकार बनायौँ’ तामाङले भने । उनले संसदमा सबै दलले विश्वासको मत दिएर सरकार गठन भएकाले केन्द्रअनुसारको सहकार्य स्थानीय स्तरसम्म कायम राखेर विकासका योजनालाई सरकारसमक्ष ल्याउन स्थानीयलाई आग्रह समेत गरेका छन् ।
धादिङको फ्याक्सेमा ८ वर्षदेखि हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुँधाइ महोत्सव हुँदै आएको छ । यसवर्ष भएको महोत्सवमा ९ हल गोरु जुधाइएको थियो । कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्साल, मनराज भण्डारी, निलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा लगायतले कार्यक्रममा मन्तव्य राखेको बताएको छ ।

