हवाई इन्धनसँगै घट्यो आन्तरिक हवाई भाडा, कहाँको कति ?

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै वायुसेवा संचालक संघ, नेपाल हवाई भाडा घटाएको छ । निगमले सोमवार विज्ञप्ति जारी गर्दै यही पुस २७ गतेबाट लागू हुने गरी हवाई भाडा १०० देखि ९०० रुपैयाँसम्म घटाएको हो ।
कहाँकाे कति ?
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं-धनगढीको भाडा ८८५ रुपैयाँ घटेको छ । अब यो रुटको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुपैयाँ भाडा घटेको छ । अब यो रुटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँमा झरेको छ ।
यस्तै, काठमाडौं-भद्रपुरको ६००, काठमाडौं-विराटनगरको ४८५, काठमाडौं-जनकपुरको २६०, काठमाडौं-भरतपुरको २१५, काठमाडौं-पोखराको ३२० रुपैयाँ घटेको छ । यसैगरी, काठमाडौं-भैरहवाको ४१०, काठमाडौं-नेपालगन्जको ६५५, काठमाडौं-तुम्लिङटारको ३७०, काठमाडौं-सिमराको १८०, काठमाडौं-सुर्खेतको ६९० र काठमाडौं-राजविराजको ४११ रुपैयाँ कम भएको छ ।
नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । निगमले आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो । यससँगै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँमा झरेको छ ।

